© २०२३
बुटवल, १४ फागुन।
बुटवल चन्द्रौटा सडकको स्तरोन्नति कार्यमा निगरानी गर्न नागरिक समाजको तर्फबाट एक समिति गठन गरिएको छ। ई. छविलाल पाठकको नेतृत्वमा नागरिक समूह गठन भएको हो।
चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रूपैयाँमा काम पूरा गर्ने सम्झौता गरेका थिए। सम्झौताअनुसार, तीन वर्ष भित्र सडक निर्माण पूरा गर्ने सम्झौता गरिएको छ।
आयोजनाका अनुसार, सडक विस्तारपछि सहरी क्षेत्रको चौडाई ५० मिटर, सहरोन्मुख क्षेत्रको ३७ दशमलव ४ मिटर र जंगल क्षेत्रको २४ मिटर कायम हुनेछ। बुटवल–चन्द्रौटा ६९ कि.मी. सडकको पहिलो चरणको विस्तारको काम सुरु भएको छ। त्यसका लागि निर्माण व्यवसायीहरूले आवश्यक तयारीका काम सुरु गरिसकेका छन्। यस सडकलाई बुटवल नारायणघाट सडकजस्तै अलपत्र र अस्तव्यस्त नहोस् भन्नका लागि नागरिक समाजबाट आवश्यक सहयोग, समन्वय र निगरानी गर्न नागरिक निगरानी समूह गठन गरिएको हो।
समितिको गठन कार्यक्रममा ५ वटै नगरपालिकाका प्रतिनिधिहरू सामेल भएका छन्। निगरानी समूहको सहसंयोजकमा महेन्द्र श्रेष्ठ, सचिवमा टेकराज पौडेल, र सदस्यहरूमा रुद्रलाल उपाध्याय, गङ्गा पोखरेल, दुर्गा गौतम, मुक्तिनाथ ज्ञवाली, कमलराज घिमिरे, टिकाराम उप्रेती, प्रताप गिरी, दोलकराम घिमिरे, नारायणप्रसाद भुसाल, देवीराम घिमिरे, उत्तममणि पौडेल, बालकृष्ण बेल्वासे, विष्णुप्रसाद पौडेल, नेत्रराज अधिकारी, राजेन्द्र सुवेदी र हेमराज सुवेदी रहेका छन्।
समितिलाई आचारसंहिता निर्माण, कार्यविधि निर्माण, सम्झौतापत्र र विस्तृत परियोजना पत्रको अध्ययन, विवाद समाधान, समन्वय र सहयोगमा ध्यान दिने कार्यहरूको सुझाव दिइएको छ। यसका अतिरिक्त, पर्यावरण–मैत्री सडक निर्माण, धूलोरहित वातावरण निर्माण, खानेपानी, विद्युत जस्ता संरचनाहरूको फेरबदल गर्दा ध्यान दिनुपर्ने शर्त, सडकको पिचभाग भत्काउन नहुने, शुरुमा दुबै साइडको काम पूरा गर्नुपर्ने, झगडा परेमा सरोकारवालाबीच सहजीकरण गरी मिलाउन सहयोग गर्ने र क्षतिपूर्ति प्रदानका विषयमा ध्यान दिने म्यान्डेट दिइएको छ।कार्यक्रममा वाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्यालको समेत उपस्थिति रहेको थियो।