© २०२३
सल्यान, १३ फागुन ।
जिल्लामा पेट्रोलियम पदार्थको अवैध कारोबार बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानले कडा निर्देशन जारी गरेको छ । पेट्रोलियम पदार्थहरूको खरिद, बिक्री र वितरण गर्ने कार्य कानुन बमोजिम इजाजत प्राप्त व्यवसायीहरूले मात्र गर्न पाउने व्यवस्था रहेको भएता पनि पछिल्लो समय जिल्लाका विभिन्न स्थानहरूमा गैरपेट्रोलियम व्यवसायी तथा सर्वसाधारणहरूले अवैध रूपमा पेट्रोल, डिजेल लगायतका अति प्रज्वलनशील पदार्थहरू बिक्री वितरण गर्दै आएको प्रशासनले जनाएको छ ।
प्रशासनले अवैध कारोबार रोक्नका लागि फागुन ८ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सरोकारवालाहरूको बैठक बसी, पेट्रोलियम पदार्थहरूको गैर–कानुनी कारोबार नियन्त्रण गर्न आवश्यक निर्णयहरू गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले मंगलबार एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थको वितरण कानुनी प्रक्रियाअनुसार इजाजत प्राप्त व्यवसायीहरूले मात्र गर्नुपर्ने हुँदा गैरव्यवसायी तथा सर्वसाधारणहरूबाट हुने अवैध विक्री वितरण पूर्ण रूपमा निषेध गरिएको जनाएको छ । अवको १५ दिनभित्र सबै गैरकानुनी रूपमा सञ्चालित पेट्रोलियम कारोबार बन्द गर्नुपर्ने निर्देशन पनि प्रशासनले दिएको छ ।
जिल्ला प्रशासनले विभिन्न क्षेत्रबाट गुनासो बढ्दै गएपछि जिल्लामा पेट्रोलियम पदार्थको अवैध कारोबारलाई निरुत्साहित गर्न तथा सम्भावित दुर्घटना रोक्न र कानुनी प्रक्रियालाई सुदृढ बनाउन यस्तो निर्देशन जारी गरेको हो ।