© २०२३
रियाद, १३ फागुन ।
इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान अबको केही दिनमा सुरु हुँदैछ। विश्वभरका मुस्लिम समुदाय रमजानको तयारीमा व्यस्त छन्। यस महिनामा विशेष गरी खजूरको महत्व बढी रहेको छ र यो महिना व्यवसायिक दृष्टिले पनि नाफाको महिना मानिन्छ।
साउदी अरेबिया, तेलको ठूलो उत्पादक राष्ट्र मात्र होइन, खजूरको सबैभन्दा ठूलो उत्पादक देश पनि हो। रमजानको महिना सुरु भएपछि खजूरको माग अत्यधिक बढ्दछ र यसका कारण साउदी अरेबियाले ठूलो व्यापारिक लाभ कमाउँछ।
साउदी अरेबिया संसारभर खजूर निर्यात गर्छ र रमजानमा यसको बिक्री ७० प्रतिशत बढी बढ्ने गर्दछ। सन् २०२४ मा, साउदी अरेबियाले खजूर निर्यातमा ५.४ प्रतिशत वृद्धि गर्दै १ अर्ब २८ करोड साउदी रियाल (३४ करोड अमेरिकी डलर) को व्यापार गरेको छ।
साउदी अरेबिया ३०० भन्दा बढी प्रकारका खजूर निर्यात गर्दछ र १२० देशमा यसको निर्यात हुँदै आएको छ। अन्तर्राष्ट्रिय ट्रेड सेन्टरका अनुसार साउदी अरेबिया खजूर निर्यातमा मूल्यको हिसाबले पहिलो स्थानमा छ।
यसका अतिरिक्त, साउदी अरेबिया रमजानको अवसरमा उपहार स्वरूप खजूर पठाउने परम्परा पनि गर्दै आएको छ। यस वर्ष, साउदी अरेबिया सरकारले १०२ देशमा ७०० टन खजूर उपहार स्वरूप पठाइसकेको छ। यो उपहार साउदीका राजा सलमानले पठाएका हुन् र यो परम्परा हरेक वर्ष जारी राखिन्छ। यस वर्ष २०२३ को तुलनामा २०० टन बढी खजूर उपहार स्वरूप पठाइएको छ।
यो कार्यक्रम साउदी अरेबियाको इस्लामिक मामिला मन्त्रालयको पर्यवेक्षणमा सञ्चालन भइरहेको छ।