© २०२३
बुटवल।
लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औं स्थापना दिवसको अवसरमा आयोजित दौड प्रतियोगिताको उपाधि राजकुमार बुढा मगर र ममता थापाले जितेका छन्। अस्पतालको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मङ्गलबार बिहान बुटवलको गोगीकुटीदेखि अस्पताल परिसरसम्म भएको दौड प्रतियोगितामा पुरुषतर्फ म्यारामेडिक्स विभागमा कार्यरत बुढा मगर र महिलातर्फ स्टाफ नर्स थापाले जित दर्ता गरेकी छन्।
यसैगरी पुरुषतर्फको दौड प्रतियोगितामा हिमाल कार्की दोस्रो, दानबादुर बस्नेत तृतीय, तथा दुर्गा सार्की चौथो स्थानमा सफल भए। महिलातर्फ लक्ष्मी रातो बोहोरा दोस्रो, मञ्जु चौधरी तेस्रो, तथा लक्ष्मी तामाङ चौथो स्थानमा पर्न सफल भइन्।
दौड प्रतियोगिताको उद्घाटन अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, सदस्य लक्ष्मी भट्टराई, मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाल, प्रशासकीय प्रमुख राज केसी, र लेखा शाखा प्रमुख खगेश्वर घिमिरेको उपस्थितिमा गरिएको थियो।
अध्यक्ष श्रेष्ठले सधैं बिरामीको उपचार र सेवामा समर्पित रहने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई विभिन्न रचनात्मक खेलकुद गतिविधिहरूले शारीरिक र मानसिक स्फूर्ति प्रदान गर्ने बताए। उनले भने, “सधैं अरूको स्वास्थ्यको बारेमा चिन्ता गर्ने स्वास्थ्यकर्मीहरूलाई आफूले पनि आफ्नो स्वास्थ्यमा सचेत रहनु पर्दछ।”
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढकालले खेलको माध्यमबाट सामूहिक सहकार्यको भावना पनि विकास हुने विश्वास व्यक्त गरे।अस्पतालको स्थापना दिवसको अवसरमा सोमबार सरसफाई र बिरामीलाई फलफूल वितरण गरिएको थियो। आगामी फागुन १५ गते मूल समारोहको आयोजना गरी स्थापना दिवस मनाइने छ, जसमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले उद्घाटन गर्नेछन्। उक्त कार्यक्रममा अस्पतालका गतिविधिहरूसँग सम्बन्धित स्मारिका विमोचन र अवकाश प्राप्त गरेका तथा सेवारत स्वास्थ्यकर्मी र कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम पनि हुनेछ।