Butwal Today

माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा

१३ फाल्गुन २०८१, मंगलवार
अ+
अ-

मोरङ, १३ फागुन ।

नेकपा माओवादी केन्द्रले हिजोदेखि सुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियान को केन्द्रीय टोली आज दोस्रो दिन मोरङ पुगेको छ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरूले मोरङको कानेपोखरी गाउँपालिका ६, नर्सरीडाँडास्थित सहिद लक्ष्मी फुयालको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गरी आजको कार्यक्रम सुरु गरेका छन्।

त्यस अवसरमा, अध्यक्ष प्रचण्डले जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको उल्लेख गर्दै सत्यनिरूपण तथा मेलमिलाप आयोगले पीडित परिवारलाई न्याय र परिपूरणको व्यवस्था गर्ने बताएका छन्।सहिद परिवारका सदस्यहरूले आफ्ना परिवारका सदस्यको रगत खेर जान नदिन माओवादी पार्टीलाई बलियो बनाउनुपर्ने, उनीहरूको सपना पूरा गर्नुपर्ने, हरेक वर्ष स्मृति दिवस मनाउन पार्टीले क्यालेन्डर बनाउनुपर्ने, र सहिदको गाउँमा सहिद पार्क बनाउनुपर्ने सुझाव दिएका थिए।

अभियानअन्तर्गत केन्द्रीय टोलीले एक दिन, एक जिल्ला, एक जिल्ला तीन मुख्य कार्यक्रम गर्दैछ। आज मोरङको कानेपोखरीको रमाइलो बजार, आमबारी रतुवामाई र कर्सिया धनपालथानमा सभा आयोजना गरिएको छ भने सहिद परिवार र अन्य समुदायसँग भेटघाट गरिएको छ।यो अभियान माओवादी केन्द्रको राजनीतिक समृद्धि र जनता सँगको सञ्जाललाई बलियो बनाउने उद्देश्य राखेर सञ्चालन भइरहेको छ।