© २०२३
दाङ, १३ फागुन ।
दाङको घोराही उपमहानगरपालिका ५ धर्ना स्थित पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा महाशिवरात्रि पर्वको अवसरमा लाग्ने मेलाको तयारी पूरा भएको छ। मेला व्यवस्थापनका लागि विभिन्न उपसमिति बनाईको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
महाशिवरात्रि पर्वकै अवसरमा फागुन १३ गते (आज) बेलुका एक हजार आठ दीप प्रज्वलन गर्ने र १४ गते विधिपूर्वक भगवान शिवको पूजा आराधना गर्ने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिए। सो मन्दिरमा विश्वको ठूलो त्रिशूल स्थापना भएदेखि प्रत्येक वर्ष नेपाली सेनाले शिव सलामी दिने गर्दै आएको छ, सोही अनुरूप यसपलि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा नेपाली सेनालगायतका सुरक्षाकर्मी, मन्दिर व्यवस्थापन समिति, भक्तजनलगायतको सहभागितामा शिव सलामी समेत दिइने अध्यक्ष अधिकारीले जानकारी दिए। मन्दिरको सौन्दर्य बढाउन मन्दिर परिसरमा ध्वजा-पताका टांगेर, रंगरोगन गरेर चिटिक्क पारिएको छ।
गौमुखी धारा उद्घाटन
दाङको घोराही उपमहानगरपालिका ५ धर्ना स्थित पाण्डवेश्वर महादेव मन्दिर परिसरमा निर्माण गरिएको १ सय ८ गौमुखी धाराको सोमबार उद्घाटन गरिएको छ। सोही अवसरमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले दाङको पाण्डवेश्वर मन्दिर धारापानीको विकासका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताएका छन्। मन्दिर परिसरमा निर्माण गरिएको १ सय ८ गौमुखी धाराको सोमबार उद्घाटन गर्दै नगर प्रमुख चौधरी मन्दिरको विकासका लागि स्थानीय सरकार घोराही उपमहानगरपालिकाले सक्दो लगानी गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि आवश्यकता अनुसार लगानी गर्ने बताए। घोराही बजारदेखि धारापानी मन्दिरसम्मको सडकलाई पर्यटन मार्ग घोषणा गरेको उनले जानकारी दिए। सडकको स्तर उन्नती गर्दै लगिएको र अबको दुई वर्ष भित्र कालोपत्रे सडकलाई मन्दिरसम्मै स्तर उन्नती गर्ने सोच रहेको उल्लेख गरे। घोराही उपमहानगरपालिका–१५ भरतपुरदेखि मन्दिरसम्मको सडक छेउमा विभिन्न प्रजातिका बिरुवा र फूलहरू रोप्न स्थानीयहरुलाई अपिल गरे। सडक सौन्दर्यले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने भएकाले सडक सौन्दर्यलाई प्राथमिकता दिन आग्रह गरे। ‘स्थानीय स्तरबाटै मन्दिरको विकासमा भएको प्रगतिले यस क्षेत्रको पर्यटन र आर्थिक विकासमा ठूलो टेवा पुर्याएको छ,’ उनले भने। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले गौमुखी धाराले मन्दिरमा थप सुन्दरता र आकर्षण गरेको बताए। उनले गौमुखी धारा निर्माण भएपछि प्रसिद्ध धार्मिक स्थल मुक्ति नाथको झल्को दिएको भक्तजनको प्रतिक्रिया आएको बताए। धाराहरू विभिन्न व्यक्तिहरुले आफ्ना परिवारका सदस्यहरूको सम्झनामा निर्माण गरेको जानकारी दिए।
