Butwal Today

राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समूह, माओवादीले जनताको विश्वास गुमायो

१२ फाल्गुन २०८१, सोमबार
अ+
अ-

काठमाडौं।

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेकपा एमालेलाई नवपुँजीवादी र मध्यम वर्गीय स्वार्थमा फसेको र माओवादी केन्द्रलाई जनताको विश्वास गुमाएको टिप्पणी गरेका छन्।

आजदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा अध्यक्ष महतोले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा एमालेले प्रारम्भमा उत्पीडित जाति वर्गको प्रतिनिधित्व गर्ने दाबी गरे पनि अहिले पूँजीवाद र अवसरवादको मिश्रणमा फसिसकेको बताएका छन्। उनले एमाले सैद्धान्तिक रुपमा विचलनको अवस्थामा रहेको र स्पष्ट नीति निर्माण गर्न असफल भइसकेको दाबी गरेका छन्।

महतोका अनुसार, विश्वभरि कम्युनिष्ट विचारधारा असफल सिद्ध भइसकेको छ। उनले भने, “असफल विचारधाराबाट अलग भइसकेर, एमाले सबैभन्दा बढी अवसरवादी बनिसकेको छ।” उनले आरोप लगाएका छन् कि एमालेले आफ्नो अस्तित्व जोगाउन जुनसुकै सम्झौता गर्न पछि नपर्नेछ।

महतोले भने, “एमालेले प्रारम्भमा उत्पीडित जाति वर्गको प्रतिनिधित्व गर्ने दाबी गरे पनि हाल यो नवपूँजीवादी र मध्यम वर्गीय स्वार्थमा फसेको पार्टी बनेको छ। सैद्धान्तिक विचलन: कम्युनिस्ट वैचारिकताबाट टाढा रहेर पूँजीवाद र अवसरवादको मिश्रण भएको यो पार्टीले स्पष्ट नीति निर्माण गर्न असफल भएको छ। यद्दपी कम्युनिष्ट विचारधारा नै विश्वव्यापी रूपमा असफल सिद्ध भैसकेको छ। एक त असफल विचारधारा अर्को उक्त विचारधाराबाट पनि अलग भएको हुँदा यो गुट सबैभन्दा बढी अवसरवादी भएको छ।”

महतोले राजनीति अस्थिरताका बारेमा पनि टिप्पणी गर्दै, “अवसरवादी चरित्र प्रदर्शन गर्दै, आफ्नो अस्तित्व जोगाउन जुनसुकै सम्झौता गर्न पछि पर्दैन।”

उनले उत्पीडित राष्ट्रियताप्रतिको दृष्टिकोणमा पनि आलोचना गरे। “संविधान सभा र राज्यविहीन राष्ट्रका मुद्दामा नकारात्मक भूमिका खेलेपछि, यस पार्टीभित्र रहेका उत्पीडित राष्ट्रियताका नेता-कार्यकर्ताले सम्बन्ध बिच्छेद गरेका छन्। त्यो सम्भावना अझै व्यापक छ।”

उनका अनुसार, अहिले यो पार्टी स्वदेशी जनताको अधिकारलाई दबाउने र राष्ट्रिय मुक्तिको आन्दोलनलाई समाप्त पार्ने दिशामा अग्रसर छ। उनले निष्कर्ष निकाले कि, “एमाले, आफ्नो अस्थिर र अवसरवादी नीतिका कारण, राष्ट्रिय मुक्तिको लागि सबैभन्दा खतरनाक शक्ति हो। यसलाई प्रमुख प्रतिस्पर्धी शक्तिको रूपमा चिन्हित गर्दै, यसको प्रतिरोधमा विशेष ध्यान दिन आवश्यक छ।”

त्यस्तै महतोले माओवादी केन्द्रलाई पनि आलोचना गरे। उनले माओवादीले जनयुद्धबाट आएको सन्देशलाई कमजोर बनाएको र अहिले यो पार्टी जनताको विश्वास गुमाएको बताएका छन्। महतोका अनुसार, माओवादीले वर्ग संघर्ष र राष्ट्रिय मुक्तिलाई समाहित गर्ने प्रयास गरेको थियो, तर हेटौंडा महाधिवेशनपछि यो पार्टी निम्नपूंजीवादी संशोधनवादमा फस्दै गएको छ।

महतोले भने, “२०५२ सालबाट जनयुद्ध सुरु गर्दै तत्कालीन नेकपा (माओवादी) ले वर्ग संघर्ष र राष्ट्रिय मुक्तिलाई समाहित गर्ने प्रयास गरेको थियो। यो दलले प्रचण्डपथको माध्यमबाट २१औं शताब्दीको जनवादलाई नेपाली सन्दर्भमा संश्लेषण गर्दै जनयुद्धलाई उच्चतम स्तरसम्म पुर्यायो। तर, हेटौंडा महाधिवेशनपछि यो पार्टी निम्नपूंजीवादी संशोधनवादमा फस्दै गयो।”

महतोका अनुसार, जनयुद्धको ऐतिहासिक भूमिका ठूलो थियो, तर २०५९ सालसम्म जनयुद्धले देशभित्र र बाहिर जनसमर्थन बटुल्दै ठूलो प्रभाव पारेको थियो। यद्यपि, २०७२ को संविधान निर्माणका क्रममा माओवादीले त्यस्ता मुद्दाहरूलाई बिसर्जन गरिदियो र पार्टी नेतृत्वले जनयुद्धका बलिदानहरूलाई केवल प्रयोगको औजारका रूपमा मात्र हेर्न थाल्यो।

महतोले भने, “प्रचण्ड र बाबुरामको नेतृत्वले १७,००० युवाहरूको बलिदानलाई प्रयोगको रूपमा हेर्न थालेपछि पार्टीप्रति उत्पीडित जाति-वर्गका जनताहरूको विश्वास गुमेको छ। यो पार्टी अहिले वर्ग संघर्ष र राष्ट्रिय मुक्तिको कुनै पनि पक्षलाई निष्कर्षमा पुर्याउने इच्छाशक्ति वा क्षमता राख्दैन।”

महतोका अनुसार, माओवादी केन्द्रले सत्तास्वार्थको लागि अवसरवाद अपनाउँदै आफ्ना आदर्शहरूलाई त्यागेको छ। यसले उत्पीडित जनताको विश्वास गुमाउँदै गएको छ र राष्ट्रिय मुक्तिको आन्दोलनलाई झन् कमजोर बनाएको छ।

महतोले निष्कर्षमा भने, “यो पार्टीमा राष्ट्रिय मुक्ति हुनेछ कि छैन भनेर लागेका मानिसहरूले यसलाई छोड्दै गएका छन् र यो भविष्यमा अझै बढ्ने सम्भावना छ।”