काठमाडौं।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सुर्खेत सिम्ता गाउँपालिका-४ घर भई ललितपुर, ललितपुर महानगरपालिका-२९ बस्ने ३७ वर्षीय ईन्द्र बहादुर केसी र बारा करैयामाई गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१६ ढुङ्गेधारा बस्ने ४६ वर्षीय बिशुनदयाल चौधरी रहेका छन्।
पक्राउमध्ये ईन्द्र बहादुरले ग्रिस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २४ लाख रूपैयाँ र बिशुनदयालले स्विडेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको जनाइएको छ।



