© २०२३
काठमाण्डौं ।
नेकपा माओवादी केन्द्रले आजदेखि तराई/मधेश जागरण अभियान थालनी गर्दैछ। झापाको कचनकवल गाउँपालिका स्थित बनियानीमा आज उक्त अभियानको उद्घाटन हुनेछ। अभियान आगामी चैत ७ गते कञ्चनपुर पुगेर समापन हुने माओवादी केन्द्रले जनाएको छ।
अभियानको शुरुवातका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता तथा कार्यकर्ता झापामा पुगिसकेका छन्। यो अभियान हुलाकी मार्गको वरिपरी केन्द्रित हुने माओवादी केन्द्रका महासचिव देव गुरुङले बताएका छन्।
अभियानको क्रममा शहीद, बेपत्ता, घाइते र अपाङ्ग परिवारका सदस्यहरू र पार्टीका कार्यकर्तासँग भेटघाट, अन्तरक्रिया र जनसभा गरिने जनाइएको छ। यस अभियानको उद्देश्य नागरिक र माओवादी केन्द्रबीचको सम्बन्ध सुधार गर्नु र सरकारका गलत कार्यहरूको विरोधमा एकजुट हुनु हो।
प्रवासी नेपालीलाई संगठित गर्न एशियाका विभिन्न देशहरूमा अभियान चलाउने तयारी पनि गरिएको छ। समाजवादी गणतन्त्र निर्माणका लागि प्रवासी मजदूरहरूको ऐक्यबद्धता र सामाजिक सुरक्षासँगै उनीहरूको हकहितका लागि जनप्रगतिशील मञ्चको प्रतिबद्धता भन्ने नारासहित अभियान सुरु गरिएको माओवादी केन्द्रले जनाएको छ।