भैरहवा, १२ फागुन।
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्र प्रमुख गोष्ठी र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। सिद्धार्थनगर नगरपालिका वडा नं ८ का कार्यबाहक वडा अध्यक्ष हरि प्रसाद आचार्यले कार्यक्रमलाई सम्बोधन गर्दै केहि संस्थाले नै संस्थाहरुको बदनामी गरेको बताएका छन्। उनले भने, “जे प्रयोजनका लागि हो त्यही प्रयोजनका लागि ऋण लगानी गर्नु पर्छ र प्रयोग गर्नुपर्छ।” साथै, उनले संस्थाको आर्थिक प्रगतिको शुभकामना व्यक्त गर्दै आर्थिक व्यवस्थापनमा चनाखो हुनुपर्ने पनि बताए।

कार्यक्रममा सिटिजन बैंक भैरहवा शाखाका प्रमुख बासुदेव मल्लले ऋणको सहि प्रयोग गर्नको लागि सुझाव दिएका छन्। उनले भने, “सर्वसाधारणको पैसा सदुपयोग गरेमा धेरै लाभ हुने तर दुरुपयोग गरेमा हामीलाई र हाम्रो भविष्यलाई बर्बाद पार्न सक्छ।” मल्लले कर्जा लिनु भन्दा पहिले, “यो पैसा के काममा प्रयोग गरिने हो? यसको बजार छ कि छैन? तिर्न सक्छु कि सक्दिन?” भनेर सोच्नुपर्ने बताएका छन्।
कालिका लघुबित्तका सहायक प्रबन्धक खेमनारायण रेग्मीले संस्थाको १ सय ६ शाखामध्ये भैरहवा शाखा ३५ औं शाखा भएको जानकारी दिएका छन्। उनले संस्थाको २ करोड २ लाखभन्दा बढी बचत रकम, रहस्यमय मृत्यु बीमा भुक्तानी १५ लाख, ३ लाख सुत्केरी रकम हस्तान्तरण र ५ लाख सदस्य मृत्यु क्रिया खर्चको विवरण प्रस्तुत गरे।
कार्यक्रममा केन्द्र नं १ सय ६ का केन्द्र प्रमुख रन्जना शुक्ला यादव, भैरहवा शाखा प्रमुख विष्णु कुमारी लुइँटेल लगायतका व्यक्तिहरूले शुभकामना मन्तव्य राखेका थिए।





