© २०२३
काठमाडौँ ।
नेपाली चलचित्र ‘कल्ली’को छायांकन आधिकारिक रूपमा सुरु भएको छ। आइतबार, काठमाडौंको बौद्धस्थित एक घरमा फिल्मको छायांकन प्रक्रिया प्रारम्भ गरिएको हो।
यो फिल्ममा अभिनेता नाजिर हुसेन र अभिनेत्री वर्षा राउत श्रीमान-श्रीमतीको भूमिकामा देखिनेछन्। पहिलो शटको लागि उत्तम प्रधानसँगै नाजिर र वर्षाले उपस्थित भई छायांकनको शुरुआत गरेका थिए। फिल्मको छायांकन काठमाडौँमा सम्पन्न गरेपछि ३५ दिनको सेड्युल अनुसार जुम्लामा पनि छायांकन हुनेछ।
लक्ष्मण सुनारले निर्देशन गरिरहेको यस फिल्ममा सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी र बेगम नेपाली जस्ता कलाकारहरूको पनि अभिनय रहेको छ।
फिल्मको घोषणा गर्दा मुख्य भूमिकामा अभिनेता पल शाहलाई लिइएको थियो, तर अहिले उनको स्थानमा सौगात मल्ललाई मुख्य भूमिका दिइएको छ र छायांकन थालिएको छ।
‘कल्ली’ लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको ब्यानरमा निर्माण हुँदैछ, र यसमा हिमाल कडरिया र अमलादेवी राईको लगानी रहेको छ। फिल्मको प्रस्तुतकर्ता किरण नेपाली हुन्। महेश दवाडीले लेखेको यस फिल्ममा कार्यकारी निर्माता सरोज नेपाली र छायांकन निसाल पौडेलले गरेका छन्।