© 2026
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा १४४ बर्षपछिको महाकुम्भ मेला, सयौं किमि.लामो सडक यात्रा, रेल यात्रा, हवाई यात्रा र कयौं किमि पैदल यात्रा गरेर आउने दैनिक करोड भन्दा बढि मानिसहरुको अदभुत ओईरो, गंगा जमुना सरस्वतीको त्रिबेणी संगममा अमृत स्नान, यस्ता कयौं धार्मिक साँस्कृतिक योग, संयोग र प्रयोगको समेत समागम, उत्साह र उमंगका साथ शान्तिपुर्ण रुपमा श्रद्धालुहरुको उपस्थिती, चुस्त दुरुस्त ब्यबस्थापन, प्रभावकारी सुरक्षा प्रशासनका कारण प्रत्यक्ष रुपमा सरकारको उपस्थिती महसुस, यस्ता कयौं बिशेषता र ब्यबहारबाट सु—सज्जित सनातन महापर्व हो महाकुम्भ मेला ।
महाकुम्भ मेलाको धार्मिक यात्रा, मेरो लागि जिवनको अविष्मरणिय क्षण, लाग्छ जिवनमा सायदै यस्तो अवसर विरलै पाइएला । बुटवलका केहि साथीहरुसँग महाकुम्भ मेला जाने भनेर योजना बनाइयो तर जाने नजाने केहि निर्णय हुन सकिरहेको थिएन । युवा व्यवसायी रोशन कंडेलसँग कुरा भो, ठिक छ जाँउ भन्ने निर्णय भो । रोशनले कुम्भ यात्रा हरहर महादेव भन्ने एक मेसेन्जर ग्रुप बनाउनु भयो । पहिले हामी ९ जना सहभागी हुने भन्ने कुरा थियो । म समेत श्रीमान हरिश ढकाल, छोरा अभ्यूदय ढकाल, रोशन कंडेल र सिता पाण्डे कंडेल, सम्राटचन्द बजाज र उहाँको श्रीमती सुमी, मुक्त प्रसाद श्रेष्ठको परिवार ३ जना, लक्ष्मी पन्त, प्रतिक्षा पन्त, पुजा पन्त, सानो बाबु परिक्षित पन्त लगाएत १५ जनाको एक टोली निर्माण भो ।
माघ २९ गते दिउसो १ बजे बुटवल १२ तामनगरबाट हिडेका हामी सबै जम्मा हुदै सिमापारी सुनौली पुग्दा करिब ३ बजेको थियो । भारतिय रुपैयाँ साटेर प्रत्येकलाई खल्तीमा पैसा राख्न लगाई यदि भिडभाडमा हराइयो भनेपनि आफ्नो ब्यबस्थापन गर्न सहज होस भन्ने हेतुले सबैलाई जानकारी गराउँदै रकम बितरण गरियो । केहि खानेकुरा तथा पानी लिएर हामी सुनौली बसपार्क डिपोमा पुगियो । ए.सी. बसमा आनन्दले साँझको ६ बजे यात्रा शुरु भयो । बस भरि सबै नेपाली दाजुभाई दिदीबैनी निकै रमाइलोसँग हामी भजन किर्तन गदै बसमा नाच्दै हाम्रो गन्तव्यमा पुगियो ।

उक्त दिन माघे पुर्णिमा, श्री स्वस्थानी ब्रतको साङ्गेता परेको कारण समग्र प्रयागराज भरि मानिसहरुको भिडभाड अचाक्ली थियो । प्रयागराज त कुरै छोडौं, झुँसी बजार भन्दा ६ किलोमिटर अघि नै हाम्रो बस रोकियो । अन्दवास्थित अस्थायी बसपार्कबाट झुँसी शहरतर्फ पैदलयात्रा गर्दै गंगा जमुना सरस्वती तिनवटा नदि मिसिएको त्रिवेणी सँगमका लागि हाम्रो धार्मिक यात्रा शुरुभयो महाकुम्भ मेलातर्फ । झुँसी बजारबाट भित्रिबाटो हिडेर स्नान गर्ने स्थानमा पुगियो । मान्छे कति भन्ने नत संख्यामा हिसाव नै गर्न सकिन्छ । हराउने डरले हामीले एक निर्णय गरियो ४ वटा पछेउरा बाँधेरा डोरी बनाइयो, टोलीको अगुवाई रोशन कंडेलले गर्नुभो । बोकेको झोलामा डोरी बाँधेर पछिपछि सबै डोरी समातेर भिड जताजता जान्छ उतैउतै लागियो, नेपाली ढाका टोपीमा हरिश ढकाल र सम्राट चन्द बजाजले टोलीको अगाडी र पछाडीबाट निगरानी गर्दै अघि बढियो ।
नत दिन, नत रात केहि भन्नु छैन मान्छेको हुलका हुल छन् । खाने बस्ने अत्तोपत्तो छैन, टोली आघे बढो, फटाफट चलो, रुको मत भन्ने आवाज सुनिन्छ हामी पनि त्यहि भन्यो हिड्यो । सडकै भरि लस्करका लस्कर मानिसको भिडभाड छ । यस्तो लाग्छ कि सडक ढाकेर मानिसहरुको बाढी आईराछ । उक्त रमाइलो धार्मिक यात्रामा मेरो फुुपुका छोराहरु स्थानिय (इलाहावाद)का २ युवा कृष्ण घिमिरे र उनको साथीले हामीलाई निकै सहयोग गरे । उनिहरुको सल्लाह सुझाव अनुसार भिडभाड छिचोल्दै गएर हामीले त्रिबेणी संगममा गंगास्नान गरियो । अत्यधिक भिडभाड भएका कारण सुरक्षा प्रशासनको आदेश अनुसार फर्किने बेलामा भने अर्को घुमाउरो बाटो भएर बाहिर निस्कनेतर्फ टोली अघि बढ्यो ।
त्यो दिन अन्यत्र घुम्न पाइएन । सोहि दिन भिआईपी भनिने ठुला व्यक्तिहरुको गंगा स्नान कार्य तथा उच्च पदका अधिकारी लगाएतको बाक्लो उपस्थितीले गर्दा हामीले सोंचे अनुरुप अवलोकन गर्न पाइएन । ठाँउ ठाँउमा खोया पाया केन्द्रको स्थापना गरिएको थियो । कथंकदाचित भिडभाडमा हराएमा खोया पाया केन्द्रमा जानु पर्छ है भन्दै हंसिमजाक समेत गर्दै हाम्रो टिम नागाबाबाहरुको भिड र उनिहरुका अचम्मका गतिबिधीहरु समेत हेर्दै अघि बढ्ने क्रममा निकै थकान महसुस गरियो । थकानका साथै सबैलाई भोक पनि उत्तिकै लागेको थियो एक ठाँउ बगरमै बसेर हामीसँग भएका खानेकुराहरु खायौं । एउटा अस्थायी आश्रममा केहिबेर आराम गरियो साथै एउटा निःशुल्क खाना बितरण गरिरहेको भण्डारामा केही साथिहरुले खाना खानुभयो मिठो छ भन्दै । हामीले भोक मिठो कि भोजन भन्दै गफगाफ गर्यौं ।
घुम्ने क्रममा एक पन्जावी साधुबाबाको कुटी फेला पर्यो जुन खाली जस्तै थियो साधुबाबा र केहि उनका सहयोगी मात्रै थिए, भिडभाड थिएन, खाली देखेपछि यसैमा बसेर केहि समय विश्राम गरियो । हाम्रो यात्रामा सहभागि लक्ष्मी पन्तले केही रकम, वस्त्र, खाद्यान्न आदी एक साधुलाई दान गर्ने ईच्छा राख्नु भएको थियो । यहिं दान गर्दा ठिक हुन्छ भन्ने निष्कर्षका साथ उहाँले ति कुराहरु साधुबाबालाई प्रदान गर्नुभयो । हामी भने यति थकित थियौं कि जहाँ बसेपनि त्यहींं निदाउने अवस्था थियो । त्यहाँ पनि हाम्रो समुहका यात्रीहरु केहिबेर निदाउन सफल भएका थिए ।

पुनः केहि बेरको भिडभाड युक्त यात्रापछि झुँसी बजारस्थित मुख्य राजमार्गमा पुग्न सफल भयौं । त्यहाँ पुगेपछि एउटा समुह काशी, गया, बनारसतर्फ जाने, अर्को समुह नेपाल फर्कने र एउटा समुह ईलाहबादतर्फ लाग्ने निधो गरि आआफ्नो गन्तब्य तर्फ मोडियौं । हामी ५ जना ईलाहावादतर्फ लाग्ने टोलीमा परेकोले ४ किमि.लामो गंगा नदि माथिको पुल पार गरेर राजापुरतर्फको यात्रा तय गरियो । रोशन कंडेल नेतृत्वको समुह बनारसतर्फ हान्नियो भने सम्राट चन्दको समुह नेपालर्फ लाग्ने निधो यसअघि नै भएको थियो । पुलमा पुग्न ४ किमि. पुलको लम्बाई ४ किमि. पुल पार गरेपछि पनि ४ किमी. हिडेपछि बल्लतल्ल अटो रिक्सामा चढ्ने अवसर बहुत मुस्किलले मिल्यो । केही सरकारी गाडीमा सुरक्षा अधिकारी, भिआईपी, मान्यता प्राप्त प्रेस रिपोर्टर लेखिएका सवारी साधन र फाटफुट मोटरसाईकल चलेको देखिएपनि दिनभर सार्वजनिक सवारीका साधन देख्नै पाईएन भनेपनि हुन्छ ।
दिनभरमा हामी २४ किलोमिटर भन्दा बढी पैदलयात्रा गरि सकेका थियौं । उता फेरी घरमा भिडवाड मेरोबुवा आमा तथा भदैनी बैनी पहिले नै घरमा हुनुन्थ्यो फेरी हामी ३ जना घरमा १० जना भैयो रमाइलो भो । भोली पल्ट विहानै हामी लेटेहुवे हनुमान जीको मन्दिर जाने निर्णय गरि यात्रा तय भो तर त्यो भिडभाडमा केको सवारी पाउनु बल्ल तल्ल एक टेम्फु पाइयो त्यो पनि थोरै बाटोका लागि फेरी पैदल यात्रा शुरु ४ किलो मिटर लामो शास्त्री व्रिज हुँदै हेर्दै रमाउदै हामी त्रिबेणी संगम तर्फ हिडियो ।
सिविल लैइन, राजापुर, कम्पनी बाघ, हात्ती पार्क, इलाहावाद संग्राहलय अवलोकन, मेहौल चौराइ हुदै, हिरन हवलैयी चौराहा घुम्दै सुप्रसिद्ध कलाकार अमिताभ बच्चनको जन्म घर पनि हेर्ने अवसर पाईयो । स्थानियहरुसँग भलाकुसारी गर्दा थाहा भयो कि भारतको प्रयागराज स्थित गंगा जमुना सरस्वती नदि एक आपसमा समाहित भएको त्रिबेणी संगममा हरेक १२ बर्षमा लाग्ने कुम्भ मेला हिन्दू धर्मावलम्बीहरूको लागि एक अत्यन्तै महत्वपूर्ण धार्मिक महापर्वका रुपमै लिने गरिएको छ ।प्रयागराजको उत्पत्ति द्वापर युगमा भएको समुद्र मन्थन घटनासँग सम्बन्धित छ, जसमा अमृत कलशबाट अमृतका थोपा भारतका चार स्थानहरूमा खसेको किम्वदन्ती रहेको छ । भारतको हरिद्वार, नासिक, उज्जैन, र प्रयागराजमा अमृत खसेको धार्मिक बिद्धानहरु बताउछन् । यी ४ स्थानहरूमा प्रत्येक बर्ष क्रमशः अर्धकुम्भ र १२ वर्षमा कुम्भ मेलाको आयोजना गरिन्छ, जसमा लाखौं श्रद्धालुहरू पवित्र स्नान गर्न र आध्यात्मिक लाभ प्राप्त गर्न सहभागी हुने गर्दछन् । प्रयागराजमा पछिल्लो कुम्भ मेला सन् २०१३ मा सम्पन्न भएको थियो र त्यसपछि सन् २०१९ मा अर्धकुम्भ मेला आयोजना गरिएको थियो । सन् २०१३ को कुम्भ मेलामा करिब ७ करोड श्रद्धालुहरूले सहभागिता जनाएका थिए, जसमा २४ जनवरीको एकै दिनमा ३ करोड मानिसहरूले पवित्र स्नान गरेको पाइन्छ ।
सन् २०२५ को महाकुम्भ मेला जनवरी १३ देखि फेब्रुअरी २६ सम्म प्रयागराजमा आयोजना भैरहेको छ । यस पटकको महाकुम्भ विशेष छ, किनभने यो १४४ वर्षमा एक पटक मात्र देखिने ग्रह–नक्षत्रहरूको विशेष संयोगमा आधारित छ । यस महाकुम्भमा ५० करोडभन्दा बढी तीर्थयात्रीहरूको सहभागिता अपेक्षा गरिएको भारत सरकारले जनाएको छ । महाकुम्भ मेलाको समयमा, विभिन्न धार्मिक अनुष्ठानहरू, जस्तै अखाडाहरूको परम्परागत शोभायात्रा, नागाबाबा साधुहरूको, शाही स्नान, र अन्य सांस्कृतिक गतिविधिहरू सम्पन्न भैरहेका छन् । यस महाकुम्भ मेलामा सहभागी हुन चाहनेहरूले प्रयागराजको आधिकारिक वेबसाइटहरु बनाएर पनि थप जानकारी दिदै आएका छन् ।
भारतको उत्तर प्रदेश सरकारले महाकुम्भ मेलालाई व्यवस्थित गर्न भरमग्दुर प्रयास गरेको छ तरपनि छिटफुट घटनाहरु भने नभएका हैनन् । गत १२ फेव्रुवरीमा राती करिब १ बजे भागदौड हुँदा केहि मानिसहरुको ज्यान समेत गएको थियो भने सयौं जना घाईते भएको सरकारी पक्षले जनाएको छ । कुल ४० किमि. लामो क्षेत्रफलमा फैलिएको महाकुम्भमा जताततै बिद्युतको ब्यबस्था २४ सै घण्टा उज्यालो, १ लाख ५० हजार अस्थायी शौचालय र ठाँउ ठाँउमा खानेपानीको धाराको प्रबन्ध, सयौंको संख्यामा निशुल्कः भोजन भण्डारा, सरसफाईमा उत्तिकै तत्परता र सजगता, सयौं टेलिफोनका टावरहरु उत्तिकै, यस्ता सयौ. बिशेषताहरुका कारण महाकुम्भ मेला ब्यबस्थित र सुरक्षित भएको छ ।
एकै ठाँउमा स्नान गर्न कठिनाई हुने भएकोले १३ वटा सेक्टरमा छुटाछुटै स्नान क्षेत्रको व्यवस्था गरिएको थियो । बेलाबेलामा हवाइ जहाजबाट पुष्पवृष्टी गरेको दृष्य अत्यन्तै रोमान्चक लाग्थ्यो । धेरै मानिसहरु भिडभाडमा हराइरहेको खबर सुनिरहेका थियौ तर हामी आपसमा कुरागर्दै सम्हालिदै रमणिय यात्रा तय गरिरहेका थियौं । रुको मत आगे बढो, फटाफट चलो, हरहर गंगे, जय गंगे मैया भन्दै ।