© २०२३
बुटवल ।
नेपाल मगर संघ बुटवल उपमहानगर समितिले ४३औं मगर दिवस फागुन ११ देखि १५ सम्म पाँच दिनसम्म विविध कार्यक्रमसहित मनाउने घोषणा गरेको छ।
आइतबार आयोजित पत्रकार भेटघाटमा संघका अध्यक्ष बसन्ती साठिघरे मगरले मगर दिवसलाई यस पटक पनि जागरण र अधिकार प्राप्तिको लडाइँको रूपमा मनाइने जानकारी दिइन्। यस वर्ष मगर दिवसलाई थप रचनात्मक बनाउँदै विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधि समावेश गरिएको छ।
कार्यक्रमअन्तर्गत पत्रकारहरूसँग अन्तरक्रिया, समसामयिक विषयमा छलफल, अस्पतालमा फलफूल वितरण, बाजेबजै थानमा सरसफाइ तथा फागुन १५ गते बुटवलमा मुख्य समारोहको आयोजना गरिने आयोजकले बताए । नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष थर्क बहादुर बारघरे मगरले मगर दिवसको अवसरमा स्थानीय तहलाई सार्वजनिक विदा दिन आग्रह गरेका थिए ।
उनका अनुसार, रुपन्देहीमा करिब दुई लाख मगर समुदायको बसोबास रहेको हुँदा यस दिनलाई सार्वजनिक विदाका रूपमा मान्यता दिनुपर्ने माग गरिएको छ। साथै, यदि मागको सुनुवाइ नभए आगामी वर्ष ‘रुपन्देही बन्द’ जस्ता सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए। मगर समुदायले लामो समयदेखि आफ्नो भाषा, संस्कृति र पहिचानको संरक्षण तथा अधिकार स्थापित गर्न संघर्ष गर्दै आएको छ।
यसै सन्दर्भमा, संघले लुम्बिनी प्रदेशमा मगर भाषालाई सरकारी कामकाजी भाषाको रूपमा मान्यता दिनुपर्ने, विद्यालयहरूमा मगर भाषामा शिक्षाको व्यवस्था गर्नुपर्ने, राज्यका सबै संरचनामा पूर्ण समानुपातिक समावेशी सिद्धान्त लागू गर्नुपर्ने र नेपालका प्रथम शहीद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग राखेको छ। नेपाल मगर संघ बुटवल उपमहानगर समितिका उपाध्यक्ष लुम बहादुर सारु मगर, सचिव हेमन्त बुढाथोकी मगरलगायतले मगर समुदायको हकअधिकारका लागि निरन्तर संघर्ष गरिने बताएका छन्।