© २०२३
भैरहवा, १० फागुन ।
रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकलाई प्राङ्गारिक मल बितरण सुरु गरेको छ ।खेतीबालीमा रासायनिक मलको प्रयोग बढ्दा जमिनमा अम्लियपन बढ्दै गएपछि त्यसलाई कम गर्न कृषकलाई अनुदानमा प्राङ्गारिक मल बितरण सुरु गरेको हो । खासगरी रसायनिक मलको प्रयोगले उब्जाउ कम हुने, कतिपय स्थानमा खेती नै नहुने समस्या कम गरी उर्वराशक्ति ह्रास हुन नदिन तथा माटोलाई मर्न नदिन, अम्लीयपन बढ्न बाट रोक्न र उत्पादन बढाउन प्राङ्गारिक मलको प्रयोग बढाउने उद्देश्यले अनुदानमा प्राङ्गारिक मल बितरण सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए ।
उनले किसानले रासायनिक मल र विषादीको जथाभावी प्रयोग गर्दा पिएच मानसँगै नाईट्रोजन, फस्फोरस र पोटास पनि अति न्यून हुने हुदा नगरपालिकाले प्राङ्गारिक मललाई प्रोत्साहन गरेको बताए ।नगरपालिकाले बितरण गर्न लागेको यो मल खासगरी कौसी खेती, करेसावारी, फलफूलका बिरुमाहरूमा बढी लाभदायी हुने नगरपालिकाका कृर्षी शाखा प्रमुख योगेन्द्र प्रशाद यादवले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा नगरपालिकाले सातसय ७२ बोरा प्राङ्गारिक मल बितरण गर्ने छ ।
२५ किलोग्रामको एक बोरालाई बजारमा प्रतीकेजी ३२ रूपैयाँ पर्दछ । नगरपालिकाले कृषकलाई १६ रूपैयाँमा बितरण गरिरहेको हो । यो मल झारपात, कुखुराको सुलि जस्ता फालिएका फोहोर बाट बन्ने हँुदा अर्गानीक खेतीको लागि बढी उपयोगी रहेको उनले बताए । कम जग्गा भएका र कौसी खेती गर्नेलाई लक्षित गरी मल बितरण गरीएको हो ।