© २०२३
जितपुर, ०९ फागुन ।
पूर्वपश्चिम राजमार्ग जोड्ने बनगाई, मोतिपुर, डोहोटे सडकखण्ड अन्तर्गत वाणगंगा नगरपालिका वडा ९ कपिलधाम कजवे नजिक रहेको कोइली खोला (ख) मा पक्कि पुलको निर्मांण कार्य तिब्ररूपमा काम भइरहेको छ । कपिलवस्तु र अर्घाखाँची जोड्ने बनगाई डोहोटे सडक जिल्लाको वाणगंगा नगरपालिका ७ घेरवा—बनगाई र अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १२ डोहोटे जोड्ने पक्कि पुल कोइली खोला (ख) को वाणगंगा नगरका मेयर चक्रपाणि अर्यालले शिलान्यास गरेका थिए ।
१३ कि.मि. दुरी रहेको बनगाई,मोतीपुर डोहोटे सडक खण्ड नेपाल सरकारको ९ करोड ३ लाख ७८ हजारको लागतमा पुल निर्माण हुन लागेको हो । ७० मिटर लम्बाई रहेको पुल आगामी २ वर्षमा सम्पन्न हुने भनिएता पनि ठेकेदार कम्पनीले १ वर्षमा नै पुलको निर्माण कार्य पुरा गर्ने जनाएको छ । श्री श्रेष्ठ-एन बि.जे.बि.कन्सट्रक्सन बुटवल रूपन्देहीले उक्त कोइली खोला (ख) मा पुलको निर्माण गर्ने जिम्मा पाएपछि काम अगाडि बढेको हो । ठेकेदारले पुलको काम समयमै सम्पन्न गर्न स्थानीयवासी, राजनीतिक दल सवैलाई आवश्यक सहयोगका लागि आग्रह गरेको थियो । त्यसै अनुरूप ठेकेदार कम्पनीले समय अगावै काम सम्पन्न गर्न लागेकामा सबैे तर्फबाट प्रसंसा पाइरहेको छ । पुलको निरिक्षण तथा अनुगमनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्य, भूमि व्यवस्था सहकारी तथा गरीबी निबारण मंत्री बलराम अधिकारीले पनी ठेकेदार कम्पनीका नारायण भुसालसँग पुलको निर्माणका विषयमा जानकारी लिएका थिए । मन्त्री अधिकारीले ठेकेदार कम्पनीलाई समय अगावै पुल निर्माणको काम पुरा गर्न लागेकोमा धन्यवाद दिँदै कामको सराहना गरेका थिए ।
यस ठाउँमा पुल नबन्दा विद्यालय पढ्न जाने विद्यार्थी, कार्यालय जाने कर्मचारीले वर्षातको समयमा कोठा भाडामा लिएर बस्नुपर्ने बाध्यता थियो । वर्षातको समयमा खोला तर्दा यस कोइली खोलाले दर्जनौको ज्यान लिइसकेको छ । गत साल कोइली खोला (क) मा पुल बनेको थियो भने हाल कोइली खोला (ख) को पुलको निर्माण कार्य धमाधम भइरहेको छ । विशेष गरी वाणगंगा ९ भलवाडका जनताको शास्ति र दुःख देखेर लुम्बिनी प्रदेशका माननिय साँसद तथा पूर्व स्वास्थ्य मन्त्री बिष्णु पन्थीको पहलमा सो पुलको काम भएको स्थानिय बुद्धिजिवि वताउँछन् । लामो समयदेखि नाम चलेको बनगाई डोहोटे सडक खण्डमा पुल निर्माणको कार्य पुरा भएपछि कपिलवस्तु र अर्घाखाँची जिल्ला आवतजावतमा निकै छोटो दुरीमा पुग्न सकिन्छ । साथै भारतीय बजार देखि अर्घाखाँची लगायतका जिल्लामा व्यापारिक कारोवार गर्नेहरूको लागि पनि सस्तो र सुलभ हुनेछ । भारतको खुनुवा नाका हुदै तौलिहवा सदरमुकाम तिलौराकोट, जगदिशपुर, लक्ष्मणघाट बोलबमधाम, मोतीपुर, वाणगंगा ९को कपिलधाम, भलवाड हुदै अर्घाखाँचीको सुपादेउराली मन्दिर दर्शन र रमणिय मनमोहक ठाउँ नरपानी आउने जाने पर्यटकलाई राम्रो पर्यटकीय गन्तब्य बन्ने बाणगंगा ९का स्थानिय शम्भु प्रसाद चौधरीले बताए ।