© २०२३
बुटवल, ०९ फागुन ।
लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटनमैत्री नीति निर्माणको तयारीलाई तीव्रता दिएको छ । यसै सन्दर्भमा बिहीबार बुटवलमा पर्यटन नीति निर्माणसम्बन्धी अन्तरक्रिया गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री प्रचण्ड विक्रम न्यौपानेले पर्यटन नीतिलाई पर्यटनमुखी बनाउने, युवासँग रोजगारी जोड्ने र आर्थिक समृद्धि ल्याउने खालको नीतिको मस्यौदा तयार भइरहेको जानकारी दिए । उनले भने, “पर्यटन क्षेत्रको दीर्घकालीन विकासका लागि स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवाला निकायको सहकार्य अपरिहार्य छ । यस नीतिले प्रदेशभर पर्यटनको समृद्धिको ढोका खोल्नेछ।” मन्त्री न्यौपानेले लुम्बिनी प्रदेशलाई देशकै नमुना पर्यटकीय हब बनाउने लक्ष्यसहित १२ वटै जिल्लाबाट एक वा दुई ठूला परियोजना छनोट गरी प्राथमिकताका साथ अघि बढाइने बताए ।
मन्त्री न्यौपानेका अनुसार, पर्यटन नीति निर्माणका लागि विभिन्न जिल्लाबाट सुझाव संकलन भइरहेको छ। उनले भने, “पर्यटन नीतिलाई कसरी पर्यटनमुखी बनाउन सकिन्छ र कस्तो खालको नीति बन्यो भने प्रदेशको पर्यटन विकासमा फड्को मार्न सहज हुन्छ भन्ने उद्देश्यले सुझाव लिने काम भइरहेको छ ।” मन्त्री पदभार ग्रहण गर्दा पर्यटन नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका उनले अहिले लुम्बिनी प्रदेशलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन पर्यटन नीति निर्माणमा जुटेको बताए । मन्त्री न्यौपानेले भने, “लुम्बिनी प्रदेश सातै प्रदेशमध्ये देशकै उत्कृष्ट पर्यटन गन्तव्यका रूपमा परिचित छ, यसको प्रचारप्रसार गर्न आवश्यक छ ।”
पर्यटन नीति निर्माणका सहजकर्ता पूर्वसहसचिव तथा पर्यटन विज्ञ रमेशकुमार अधिकारीले लुम्बिनीमा पर्यटनको सम्भावना, आवश्यकता र चुनौती विषयमा कार्यपत्र प्रस्तुत गरे । अधिकारीले पर्यटन क्षेत्रको पहिचान र विकासका लागि सबै सरोकारवालाको समान सहभागिता सुनिश्चित गर्ने नीति निर्माणको तयारी भइरहेको जानकारी दिए । उनले भने, “पर्यटन क्षेत्रको दीर्घकालीन विकासका लागि स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवाला निकायको सहकार्य अपरिहार्य छ ।”लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. सुदन वलीले पर्यटन नीति निर्माणले आर्थिक गतिविधिमा वृद्धि गर्ने विश्वास व्यक्त गर्दै यस क्षेत्रमा व्यापक बहस आवश्यक रहेको बताए । उनले भने, “पर्यटन विकास भौगोलिक अवस्था अनुसारको र रोजगार सृजना गर्ने तथा आर्थिक समृद्धि गर्ने खालको हुनुपर्छ ।”कार्यक्रममा रुकुम पूर्वको सिस्ने हिमशृंखला, रूपन्देहीको मर्चवार क्षेत्र, शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, राष्ट्रिय निकुञ्ज (बाँके–बर्दिया), गुल्मीको रेसुङ्गा, प्युठानको स्वर्गद्वारी, पाल्पाको रानीमहल जस्ता प्रचलित एवं सम्भावित पर्यटकीय स्थलहरूको दीर्घकालीन विकासका सम्भावनाबारे छलफल भएको थियो ।
गुल्मी, रूपन्देही, पाल्पा, नवलपरासी, कपिलवस्तु जिल्ला समन्वय समितिका प्रमुख, जनप्रतिनिधि, उद्योगी–व्यवसायी, पत्रकार तथा पर्यटन व्यवसायीहरू सहभागी उक्त अन्तक्र्रियामा पर्यटन नीतिमा समावेश गर्न सकिने विषयहरू, पर्यटन प्रवद्र्धनका लागि आवश्यक कदमहरू र पर्यटनमैत्री नीति ल्याउन आवश्यक उपायहरूबारे सुझाव संकलन गरिएको थियो ।उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका मन्त्री प्रचण्ड विक्रम न्यौपानेको अध्यक्षतामा सम्पन्न अन्तक्र्रियामा प्रदेशका १२ वटै जिल्लाका प्रमुख पर्यटकीय स्थल, तिनको महत्व र प्रवद्र्धनका सम्भावनाबारे छलफलसँगै सुझाव संकलन गरिएको थियो ।यसरी, लुम्बिनी प्रदेश सरकार पर्यटन नीति निर्माणमा सक्रिय रूपमा जुटेको छ । विभिन्न जिल्लाबाट सुझाव संकलन गर्दै प्रदेशको पर्यटन क्षेत्रको दिगो विकासका लागि प्रयासरत छ। गाउँपालिका राष्ट्रिय महासंघ नेपालको सहकार्यमा लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको आयोजनामा बुटवलमा सम्पन्न यस अन्तरक्रियाले पर्यटन नीति ल्याउन महत्वपूर्ण योगदान पु¥याउने छ ।