Butwal Today

वडा अध्यक्षले माफी मागेपछि सहमति भयो

८ फाल्गुन २०८१, बिहीबार
अ+
अ-

भैरहवा, ८ फागुन ।

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष करम हुसेन खानले माफी मागेपछि सहमति जुटेको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा जनप्रतिनिधि र कर्मचारीबीचको छलफलमा वडाध्यक्ष खानले माफी मागेपछि सहमति जुटेको हो ।
वडाध्यक्ष खानले २०८१ फागुन ५ गते गाउँ कार्यपालिका बैठकमा रोहिणी गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मधु प्रसाद घिमिरेले आफ्नो विचार राख्दै गर्दा घिमिरेमाथि आक्रमण गरेका थिए ।

उक्त घटनामा वडाध्यक्ष खानले घिमिरेमाथि हातपात, कुटपिट तथा गालीगलौज गरेकोमा मनैदेखि आत्मालोचना गर्दै आगामी दिनमा यसप्रकारका कुनै पनि गैरकानूनी कार्य गर्नेछैन भन्दै माफी मागेका छन् । साथै रोहिणी गाउँपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुलाई यसप्रकारका कुनै गैरकानूनी कार्य गर्नेछैन, गरेमा कानूनअनुसार कारवाही सहन मन्जुर छु भनेर कागज (सहमति) पत्रमा उनले सहीछाप गरेपछि सहमति भएको हो।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अयोध्या प्रसाद भण्डारी, रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरी, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन रुपन्देहीका अध्यक्ष रमेश प्रसाद पाण्डेय, नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष कमल पराजुली, नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डेय र राष्ट्रिय कर्मचारी संगठन (निजामती) रुपन्देहीका अध्यक्ष उत्सव न्यौपानेको रोहबरमा दुवै पक्ष (जनप्रतिनिधि र कर्मचारी) बीच सहमति भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?