© २०२३
बुटवल, ८ फागुन । मानव जन्मपछि मृत्यु अनिवार्य कर्म हो । जन्मदेखि मृत्युसम्म विभिन्न जातजातीहरुमा संस्कार कर्महरु गरिन्छ । यसैमध्ये अन्त्येष्टी कर्म महत्वपूर्ण मानिन्छ । हिन्दु धर्मावलम्बीहरु नदी किनारलाई पवित्र स्थल मानेर अन्त्येष्टी कर्मलाई उत्तम स्थलका रुपमा वर्णन गरिन्छ । पछिल्लो समय मृत्यु संस्कार कर्म गर्दा पर्यावरण दुषित हुने, रसायनहरु प्रयोग हुँदा यसले समस्या उत्पन्न गरेको छ । नदीमा त्यसै फालिने मृत्यु संस्कारका सामानहरुको कारण जलचर संकटमा परेको अध्ययनबाट देखिएको छ । यसैलाई मध्यनजर गरी रोटरी डिष्ट्रिकको सहयोगमा समाजसेवी ज्ञानेन्द्र लाल प्रधानले पर्यावरणमैत्री शवदाह गृह अवधारणा अघि बढाएका छन् ।

रोटरी डिष्ट्रिक इन्टरनेशनल ३२९२ संग सम्झौता गरी देशका मुख्य शहरहरुमा स्थानीय रोटरी क्लबको सहकार्यमा १० वटा शवदाह मेशिन दिने गरी प्रधानले सम्झौता गरेका छन् । यसै अन्तर्गतको पहिलो मेशिन तिलोत्तमा–३ स्थित मगरघाट विकास तथा ब्यवस्थापन परिषद परिसरमा हस्तान्तरण गरिएको छ । पर्यावरणमैत्री रोटरी शवदाह गृह निर्माण पूरा गरी विहीबार एक कार्यक्रमका बिच क्लबका अध्यक्ष प्रज्वल थान्जु र मगरघाट विकास तथा ब्यवस्थापन परिषदका अध्यक्ष तेजमान थापा बिचमा एमओयुमा हस्ताक्षरसहित हस्तान्तरण गरिएको हो । मेशिनका दाता ज्ञानेन्द्र लाल प्रधानले रोटरी डिष्ट्रिकसंग सम्झौता अनुसार १० वटा शवदाह मेशिनमा सम्झौता गरेको बताए । पर्यावरण जोगाउने अभियानमा हामी सबै जुट्ने बेला आएको भन्दै उनले अब यसमा सबैको साथ जरुरी रहेको बताए । ‘नदी क्षेत्र अझ जहा दाह संस्कार गर्ने थलो फोहोर भयो’–उनले भने । लामो समय हाईड्रो पावरमा काम गरेका उनी सामाजिक क्षेत्रमा रोटरीमार्फत अघि बढेको उनले बताए । जल क्षेत्रमा काम गरेका उनी यसलाई शुद्घ गराउने र जलचल, मानव बचाउने अभियानलाई जोगाउन सानो अभियान रोटरीमार्फत जोडिएको बताउँछन् ।
प्रदुषणमुक्त दाहसंस्कार गर्ने मेशिन बनाउन डा. महाविर पुनसंग थप मद्दत लिएर नया मोडिफाईको काम अघि बढेको उनले बताए । अत्याधुनिक विजुली मेशिन ९ करोड खर्च हुने भएपनि यो हाम्रो समुदायमा कतिपय संस्कारका कारण उपयोगमा आउन नसक्ने भएपनि त्यसलाई मोडिफाई गरिएको उनले बताए । अहिलेको मेशिन दाउराबाट जल्ने भएको र यसमा लागत कम भएको उनले बताए । रोटरीमार्फत ललितपुर महानगरपालिकाको पाटनमा जडान हुने मेशिन भने ग्यास र दाउराको संयुक्त जलाउने मेशिन हुने उनले बताए । यसले आधा घण्टा जल्ने समय कम हुने उनले बताए । मेशिन संचालनका लागि घाटमा अक्षयकोष स्थापना गर्ने र प्रत्येक मृत्यु हुने ब्यक्तिको परिवारबाट न्यूनतम शुल्क लिएर त्यसबाट वृक्षारोपण गर्ने अवधारण अघि बढाउन उनले सुझाव दिए । यसबाट पर्यावरणमा हुने प्रदुषणलाई ब्यवस्थापन गर्न मद्दत मिल्ने उनको सुझाव छ ।
कार्यक्रममा परियोजना संयोजक तथा क्लबका पुर्वअध्यक्ष बिन्ध्याकेशर जोशीले १६ औ डिष्ट्रिक कन्फ्रेन्समा सम्झौता भएर काम अघि बढेको बताए । जसमा तिलोत्तमा नगरपालिकाबाट १० लाख रुपैयाँ सहित रोटरीको यो अभियानमा ८७ जना दाताहरुबाट ३७ लाख रुपैयाँ आर्थिक सहयोग भएको उनले बताए । मेशिन सहयोग आउने तर बाँकी सिभिल कामको लागत रोटरीबाट नै संयोजन गर्न आफूहरु सफल भएको उनले बताए । कार्यक्रममा मगरघाट विकास तथा ब्यवस्थापन परिषदका अध्यक्ष तेजमान थापाले समुदायको अपनत्व हुने गरी विभिन्न दाताहरुको सहयोग निरन्तर हँुदै आएको बताए । रोटरी बुटवलको सहयोगमा नया मेशिनबाट अन्त्येष्टी कर्ममा थप सहजता आउने उनले बताए । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, रोटरी इन्टरनेशनल ३२९२ का राजेन्द्रमान शेरचन, पुर्व डिजी राजेन्द्र ध्वजु, आरसी काष्ठमण्डपका सोफिया उपाध्याय, समाजसेवी डा. विमला प्रधान, क्लबका प्रेसिडेन्ट इलेक्ट कृष्ण पराजुलीले समयको माग अनुसार समुदायको उत्थानमा सरकार र संघसंस्थाहरुको पहल जरुरी रहेको भन्दै आगामी दिनहरुमा समेत थप परियोजनाहरु गर्ने बताए ।