© २०२३
काठमाडौं, ८ फागुन।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ। उत्तर प्रदेश सरकारको आयोजनामा प्रयागराजमा हुने ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेइनबिलिटी’ कार्यक्रममा देउवालाई प्रमुख वक्ताको रूपमा आमन्त्रण गरिएको थियो। उक्त कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुने तयारीमा थिए।
पूर्वप्रधानमन्त्री देउवाले बिहीबार भारत जाने योजना बनाएका थिए, र आयोजकले कार्यक्रमको ब्यानरसमेत तयार गरेर सार्वजनिक गरिसकेको थियो। यद्यपि, बिहीबार बिहान देउवाले आफ्नो भारत भ्रमण अचानक स्थगित गर्ने निर्णय गरेका छन्। उनी एअर इण्डियाको उडानमा दिउँसो ३ बजे नयाँ दिल्ली जाने तय थिए।
देउवाको भ्रमण स्थगित हुने निर्णयसँगै, परराष्ट्रमन्त्रीसमेत रहेकी उनकी पत्नी डा. आरजु राणा देउवा बिहीबार ओमनबाट स्वदेश फर्केपछि यो निर्णय भएको बुझिएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पनि देउवाले भारत भ्रमण स्थगित गरेको जानकारी दिएका छन्।
स्रोतका अनुसार, दिल्लीमा उच्चस्तरीय भेटवार्ता नहुने भएपछि देउवाले भ्रमण स्थगित गरेको भनिएको छ। यसै दिन दिल्लीमा नयाँ मुख्यमन्त्री रेखा गुप्ताको शपथ ग्रहण कार्यक्रम तय भएको छ। देउवा दिल्लीसँगको सम्बन्धलाई सुधार्ने चाहना राख्दै थिए।