© २०२३
दाङ, ८ फागुन ।
दाङको घोराही उपमहानगरपालिका ५ धर्ना स्थित पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा महाशिवरात्रीपर्वको अवसरमा मेला लाग्ने भएको छ । महाशिवरात्रीपर्वको अवसरमा लाग्ने मेलाको अवसरमा यही फागुन १२ गते मन्दिर परिषरमा निमार्ण गरिएका १०८ गौमूखीधाराको औपचारिक उद्घाटन गरिने छ ।
बिभिन्न दाताहरुको सहयोगमा निर्माण भएको गौमूखीधाराहरु निर्माणकर्ताहरुले सामुहिक उद्घाटनगर्ने पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिए । गौमूखीधारा निर्माणभएको लामो समय भएपनि धाराबाट नियमित पानी खस्ने व्यवस्थापन हुन नसकेका कारण उद्घाटनमा ढिलाई भएको अध्यक्ष अधिकारीले जानकारी दिए ।
हाल पानीको व्यवस्थापन गरिएपछि गौमूखीधारा निर्माणको कामले पूर्णतापाएको हो । धाराहरुमा नियमित पानी आउनका लागि बवईको पानी लिफ्टिङ गरेर पोखरीमा जम्मागर्ने र पाइपमार्फत गौमूखी धाराहरुमा खस्ने व्यवस्था मिलाइएको छ । गौमूखीधारा उद्घाटनपछि प्रत्येक दिन बिहान २ घण्टा १०८ वटै धाराहरुमा भत्तजनहरुलाई स्नानका लागि पानीको व्यवस्थागरिने अध्यक्ष अधिकारीेले जानकारी दिए ।
महाशिवरात्री पर्वकै अवसरमा फागुन १३ गते बेलुका एक हजार आठवटा दिप प्रज्वलनगर्ने र १४ गते बिधिपूर्वक भगवान शिवको पुजा आरधना गरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितीमा नेपाली सेनालगायतका सुरक्षाकर्मी,मन्दिर व्यवस्थापन समिति, भत्तजनलगायतको सहभागितामा शिव सलामी समेत दिइने अध्यक्ष अधिकारीले जानकारी दिए ।
मन्दिरको सौन्दर्य बढाउन मन्दिर परिसरमा रहेका मठमन्दि, सिँडी, प्रतिक्षालय लगायतका स्थानमा रंगरोगन गरेर चिटिक्क पारिएको छ । मेलालाई व्यवस्थित र प्रभावकारी बनाउन बिभिन्न समिति तथा उपसमिति गठन समेत गरिएको छ ।