फुङ्लिङ, ८ फागुन।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा बिहीबार फुङ्लिङ नगरपालिकाबाट पाथीभारा मन्दिरसम्म विरोधी पदयात्रा सम्पन्न भएको छ।

पदयात्रामा करिब ३०० जना सहभागी भएका थिए, जसमा पार्टीका नेता रमन पाण्डय, अनुप सुब्बा, सी एम थारु, सन्तोष मेहता, चन्द्र प्रसाद राजवंशी, बेबी राज भण्डारी, स्थानीय नेता, मुकुम्लुङ केवलकार संघर्ष समिति, विद्यार्थी, समाजसेवी तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको नेता केशव झाले जानकारी दिए।
पदयात्राको मुख्य उद्देश्य मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोध गर्नु रहेको थियो। सहभागीहरूले परियोजनाले स्थानीय सभ्यता, संस्कार, परम्परा तथा धार्मिक आस्थामा असर पार्ने भएकाले यसको विरोध जनाएका थिए। उनीहरूले स्थानीय संस्कृति र इतिहासको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष महतोले भने, “मुकुम्लुङको संस्कृति तथा चोत्लुङ सभ्यता नष्ट गर्ने कार्य कुनै पनि हालतमा सह्य हुने छैन। जबसम्म केवलकार निर्माण कार्य बन्द हुँदैन, तबसम्म हाम्रो संघर्ष जारी रहनेछ।”
नेताहरूले नेपाल सरकारलाई सचेत गराउँदै केवलकार परियोजना रोक्न र स्थानीय सभ्यता जोगाउन आवश्यक कदम चाल्न आग्रह गरेका छन्। उनीहरूले राज्यले नागरिकका आवाजलाई नसुनिएको खण्डमा आन्दोलन थप सशक्त बनाइने चेतावनी दिएका छन्। स्थानीयबासीले पनि परियोजनाको विरोध जनाएका छन्।



