Butwal Today

केआइआइटीले प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने

८ फाल्गुन २०८१, बिहीबार
अ+
अ-

काठमाडौं, ८ फागुन ।

भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) ले नेपाली विद्यार्थी प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा गरेको छ। उनी आइतबार कलेजको होस्टेलमा मृत भेटिएकी थिइन्, र बुधबार राति उनका शवलाई नेपाल ल्याई दाहसंस्कार गरिएको छ।

केआइआइटीका संस्थापक अच्युता सामन्ताले प्रकृतिका नाममा छात्रवृत्ति कोष स्थापना गर्ने निर्णय गरेका छन्। केआइआइटी नेतृत्वले प्रकृतिका बुबा सुनिल लम्साल र काकासँग भेट गरेपछि यो घोषणा गरिएको हो।

प्रकृतिको न्यायको लागि नेपाली र भारतीय विद्यार्थीहरूले आन्दोलन गरेपछि कलेज प्रशासन झुक्न बाध्य भएको हो। प्रकृतिको शव फेला परेपछि न्यायिक छानबिनको माग गर्दै नेपाली विद्यार्थीहरूले आंदोलन गर्दा कलेज प्रशासनले दमन गरेको थियो।

केआइआइटी संस्थापक अच्युता सामन्ताले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपाली विद्यार्थीहरूको सुरक्षित फिर्तीको बारेमा कुरा गरेका छन्।

बुधबार, कलेज प्रशासनले नेपाली विद्यार्थीका आफन्तहरूसँग जुम मिटिङ गरेको थियो। त्यसपछि नेपाल आइपुगेका र भारतका विभिन्न सहरमा रहेका नेपाली विद्यार्थी कलेज फर्किन थालेका छन्। बुधबार साँझसम्म एक सय नेपाली विद्यार्थी मात्र होस्टलमा थिए, जबकि कलेजको होस्टलमा ११ सय ८० जना नेपाली विद्यार्थी बस्दै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?