© २०२३
बुटवल, ०८ फागुन
प्रविधिको विकाससँगै यसको दुरुपयोग पनि बढेको पाइन्छ। मानिसहरूले सहजरूपमा सेवा दिने, लिने नाममा अनलाइन सेवामार्फत विभिन्न अपराधिक गतिविधि र ठगी गर्ने साधनको रूपमा प्रयोग गर्दै आएका छन्। इलाका प्रहरी कार्यालय बुटवलले सार्वजनिक गरेको रिपोर्ट अनुसार गत एक वर्षमा अनलाइन सेवाबाट ५ सय ६२ जना ठगिएका छन्। यो संख्या दैनिक रूपमा बढ्दै गएको प्रहरीको भनाइ छ।
अनलाइनबाट सामान किन्दा देखाएअनुसारको सामान नआउने, अरू पैसा पठाएपछि सम्पर्क बिहीन हुने घटना बढ्दो रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक बिजय राज पण्डित बताउँछन्। प्रहरी कार्यालयमा ठगिएको उजुरी परेपछि छानबिन गरी ६९ लाख ४८ हजार ४ सय ५३ रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता गराउन सफल भएको उनले बताए। अनलाइन ठगी गर्दै हिँड्ने ३ जना व्यक्तिलाई मुद्दा दर्ता गरेर कारवाही गरिएको उनले बताए।
इलाका प्रहरी कार्यालय बुटवलमा एक वर्षमा विभिन्न किसिमका ६ सय ५५ वटा मुद्दा दर्ता भएका छन् भने ५ सय ४० जना मानिसलाई पक्राउ गरेर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। प्रहरीले एक वर्षमा भन्सार चोरी तस्करी गरेर बुटवल ल्याएका ३ करोड ६ लाख मूल्य बराबरको सामान बेलहिया भन्सार कार्यालय बुझाएको जनाएको छ। त्यस्तै, विभिन्न समयमा बुटवल आसपासमा मोटरसाइकल चोरी गर्ने समूहलाई नियन्त्रणमा लिएर कारवाही सुरु गरिएको छ।
चोरीमा संलग्न १७ जना, चोरी भएका एक दर्जन बढी मोटरसाइकल पनि फेला पारेको र चोरी गर्ने समूहलाई कारवाही भइरहेको प्रहरीको भनाइ छ। त्यस्तै, लागूऔषधमा ७३ जना बिरुद्ध मुद्दा चलाएको प्रहरीले साइबर अपराधका ७ सय ५९ उजुरी परेकोमा २ वटा मुद्दा दर्ता गरेको र १ जना कारागार चलान गरिएको जानकारी दिएको छ। मापसे गरेर सवारी चलाएका ४ सय २१ जनालाई जरीवाना गरिएको र २ लाख ६१ हजार ५ सय राजस्व जम्मा गरिएको छ।
सवारी साधनको स्वरूप परिवर्तन गरेर चलाउने १ सय ३७ सवारी चालकलाई कारवाही स्वरूप १३ लाख ७० हजार जरीवाना गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। पछिल्लो समय साइबर अपराध, लागूऔषध चोरी र अनलाइन ठगीका घटनाहरू बढ्दै गएको प्रहरीको भनाइ छ। यसलाई रोकथाम गर्न सबै पक्षको सहयोग जरुरी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख बिजय राज पण्डितले बताए।