© २०२३
आज राष्ट्रिय प्रजातन्त्र दिवस । यो दिवस नेपालमा हरेक बर्ष फागुन ७ गते मनाउने गरिएको छ । यो बर्षपनि प्रजातन्त्र दिवसको अवसरमा सरकार तथा नागरिकस्तरबाट विभिन्न कार्यक्रम गरि दिवस मनाउने औपचारिकता पूरा गरिदैछ । वास्तवमा फागुन ७ गते मनाउने प्रजातन्त्र दिवस नै शहिदहरूको सम्मानमा मनाउने गरिएको सवैभन्दा महत्वपूर्ण दिवस हो । विक्रमसम्बत १९९७ सालमा निरंकुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय राणा शासन अन्त्य गर्न दशरथ चन्द, गंगालाल, धर्मभक्त र शुक्रराजले सुरू गरेको राणाविरोधी आन्दोलनकै फलस्वरूप २००७ सालमा प्रजातन्त्र आएको थियो । त्यो आधार तयार गर्ने ती चारैजना शहिद नै नेपालका सच्चा शहिद हुन । ती चारजना शहिदको सम्मान र स्मरण तथा वि.सं. २००७ साल फागुन ७ गते आजकै दिन नेपालमा १०३ बर्षे जहाँनीया राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको स्मरणमा यो दिवस मनाउने गरिएको छ । नेपालमा पहिलोपटक निरंकुश राणाशासन अन्त्य गर्न चार बीर सपुतको शहादत र बलिदान स्वरूप प्रजातन्त्र प्राप्ति भएको दिन हो । तसर्थ ती चार शहिद नै आजको संघीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भ हुन् । चार शहिदले देशमा प्रजातन्त्र ल्याउन शहादत नगरेको भए देशले अझैपनि राणा र पञ्चायती शासन व्यवस्थाको आबरणबाट मुक्ति पाउन कठिन हुनेथियो । खासगरि आजको दिन नेपालमा यिनै चार शहिदको स्मरण र सम्मान गर्ने गरिन्छ । यद्यपि २००७ सालयताको करिव ७४ वर्षको अवधीमा प्रजातन्त्रका खातिर धेरै शहिदले बलिदानी दिएको भुल्न सकिदैन । २००७ सालकै जगमा उभिएर आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आईपुगेका छौं । र, यसवीचमा देशका खातिर धेरै नेपालीले योगदान दिए, आफ्नो ज्यान समर्पण गरे । प्रजातन्त्रका खातिर शहिद हुने थोरै मात्र त्यो पनि औंलामा गन्न सकिनेमात्र छन ।
निश्चित रूपमा नेपाली जनताको लामो संघर्ष र बलिदानले नै निरकुंश, जहाँनिया र तानाशाही शासन व्यवस्थाको अन्त्य भई लोकतन्त्रको स्थापना भएको हो । चिन्ताको कुरा के छ भने शहिदहरूले गरेको त्याग र बलिदानको अहिले स्मरणभन्दा पनि विस्मय हुने अवस्था देखिएको छ । जुन उद्देश्य र त्यागले प्रजातन्त्रको सुन्दरता यहाँसम्म आईपुगेको छ, त्यो अहिले विर्सने प्रयास राजनैतिक दलहरूले गर्दै आएका छन् । शहिदहरूले जुन सपनाको साथ बलिदानी दिए शहिदको त्यो सपना पूरा गर्नेतर्फ वेवास्ता भैरहेको छ । नेपालमा केवल दिवस मनाउनकै लागि मात्रै दिवसको औपचारिकता पूरा गर्ने गरिएको गुनासो सुन्ने गरिएको छ । अवको दिनमा प्रजातन्त्र र त्यसका खातिर बलिदानी गर्ने शहिदको स्मरण दिवसको अवसरमा मात्रै होइन, अरू बेलापनि गर्नेतर्फ सरकारले पहल गर्नु जरुरी छ । अव संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रूपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रूपमा स्थापित गर्नु आवश्यक छ । २००७ सालको स्मरण गर्ने हो भने त्यो राणा शासनको जगजगी भएको बेला थियो । राणा शासनको बिरुद्धमा बोल्ने हिम्मत गर्नु भनेको ज्यानको बाजी लगाउनु सरह थियो । त्यो बेला प्रजातन्त्र प्राप्तिका लागि आन्दोलन गर्नु चुनौतिकै कुरा थियो । ज्यानको बाजी थापेर चुनौतिको सामना गर्ने बीर शहिदप्रति देश नतमस्तक छ । प्रजातन्त्र दिवसको दिन ती चार शहिदप्रति हार्दिक श्रद्धाञ्जली । शहिदको बलिदान र योगदान अहिले बिर्सने प्रयास भैरहेकोप्रति सर्वत्र चिन्ता छ । शहिदले देखाएको बाटो अनुसरण गर्ने काममा नेताहरू चुकिरहेका छन् । नेपाली जनता समेत खबरदारीमा धेरै पछि छन् । कम्तिमा शहिदले देखाएको बाटो र पदचाप पछ्याउनेतर्फ ध्यान दिनु जरुरी छ । खासगरी राजनीतिक दलहरूले शहिदले देखाएको बाटो र योगदान विर्सने काम नगरुन् । शहिदहरूप्रति श्रद्धाञ्जली ।