Butwal Today

प्रधानमन्त्री कप क्रिकेटः लमहीमा तयार भयो पिच

७ फाल्गुन २०८१, बुधबार
अ+
अ-

लमही, ०७ फागुन ।
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन २५ देखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सिद्धार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा सञ्चालन गर्न लागेको हो ।प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहनेछ । राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोगमा क्यानले प्रतियोगिता आयोजना गर्दैछ । यसअघि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङको लमहीमा सम्पन्न भइसकेको छ ।

प्रतिष्ठित मानिएको यो प्रतियोगिताका लागि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तयारी तीव्र पारिएको छ । मैदान सम्याउने, पिच निर्माण, दर्शकदीर्घा व्यवस्थापन, सुरक्षा संरचना मजबुत बनाउने तथा अन्य भौतिक पूर्वाधार मर्मत कार्य तीव्र गतिमा भइरहेको नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव तथा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानका संयोजक कैलाश रोकाले जानकारी दिए ।नेपाल क्रिकेट संघ (क्यान) को टोली मैदानको तयारीलाई तीव्रता दिइरहेको छ भने लुम्बिनी प्रदेश क्रिकेट संघका पदाधिकारीहरू स्थलगत निरीक्षणमा व्यस्त छन् । लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङका अनुसार प्रतियोगिता भव्य र व्यवस्थित बनाउन अन्तिम तयारीहरू पूरा गरिँदै छन् ।

प्रतियोगितामा नेपालका विभिन्न प्रदेश तथा विभागीय टिमका उत्कृष्ट खेलाडीहरूको प्रतिस्पर्धा हुनेछ । प्रधानमन्त्री कपलाई नेपाली क्रिकेटमा नयाँ खेलाडी उत्पादनको उत्कृष्ट मञ्चका रूपमा हेरिन्छ । राष्ट्रिय टिमका धेरै खेलाडीहरू यस्तै घरेलु प्रतियोगिताबाट उदाएका छन् ।नेपाल क्रिकेट संघ दाङका अध्यक्ष प्रदीप मजगैंयाका अनुसार प्रतियोगितामा दर्शकको उपस्थिति उत्साहजनक बनाउन टिकट व्यवस्थापन, सुरक्षा योजना, र स्वास्थ्य सहायता सेवाहरूको तयारी भइरहेको छ ।लमही, भैरहवा, बुटवललगायत स्थानबाट दर्शकको उल्लेखनीय उपस्थिति रहने अनुमान गरिएको छ । स्थानीय खेलप्रेमी प्रेम पुलामी भन्छन्, ‘हाम्रो मैदानमा यति ठूलो प्रतियोगिता हुन लाग्दा हामी निकै उत्साहित छौं ।’

स्थानीय होटल तथा यातायात व्यवसायीहरूले समेत प्रतियोगिताका कारण व्यवसायमा चहलपहल बढ्ने अपेक्षा गरेका छन् । नेपाल क्रिकेट संघले प्रतियोगिताले नेपाली क्रिकेटलाई थप उचाइमा पु¥याउने विश्वास लिएको छ । लमही नगर बिकास समितिले आफ्नो झन्डै १० करोडको लगानीमा लमहीमा क्रिकेट मैदान निर्माण गरेको लामो समय गौचरनमा परिणत भएको थियो । पछिल्लो चरणमा राष्ट्रियस्तरका प्रतियोगिता हुन थालेका छन ।