© २०२३
रौतहट ।
रौतहटको मौलापुर नगरपालिका पतौरामा उत्खननको क्रममा कर्नाटकाल मन्दिरपछि अर्को महत्वपूर्ण गुप्तकालीन ऐतिहासिक मन्दिर फेला परेको छ।
पतौरामा डेढ दसकअघि कर्नाटककालको शिवमन्दिरको अवशेष फेला परेको थिय। सोही मन्दिरमा प्रत्येक वर्ष महाशिवरात्रीको अवसरमा मेला लाग्ने गर्दछ।
कर्नाटकालीन मन्दिरको छेउमा उत्खननको क्रममा गुप्तकालीन मन्दिर फेला परेको मेयर रिनाकुमारी साहले बताएकी छिन्।
पुरातात्विक विभागसमेतको संलग्नतामा उत्खननपश्चात् गुप्तकालीन मन्दिर फेला परेको साहले बताइन्। पुरातात्विक विभागले नियमित उत्खनन् नगरी कहिले गर्ने र छोड्ने कामले कतिपय वस्तुहरु नष्ट भइरहेको मेयर साहले गुनासो गरेकी छिन्।
पतौरामा मन्दिर छेउमा पुरातात्विक विभागले उत्खनन् जारी नै राखेको छ। त्यसलाई निरन्तरता दिनुपर्ने माग मेयर साहको रहेको छ।
मौलापुर नगरपालिका पतौरास्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवम् ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने संकल्पसहित नगरपालिकाले २०७६ सालदेखि प्रत्येक वर्ष मधानी महायज्ञको आयोजना गर्दै आएको छ। यस वर्ष पनि नगरपालिकाको आयोजनामा मधानी महायज्ञ आउँदो फागुन ११ गतेदेखि सुरू हुँदैछ।
मधानी महायज्ञ प्राचीन यज्ञ हो, यो यज्ञमा बिनाब्राह्मण नै मन्त्रको जप हुने गर्छ। मधानी महायज्ञको फागुन ११ उदघाटन समारोह, १२ फागुनमा शिव वारात यात्रा, १३ गते मधानी विशेष पूजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको आयोजक मौलापुर नगरपालिकाले जनाएको छ।
उनले पर्यटन प्रवर्द्धनका साथै संरक्षणको क्षेत्रमा पहल गर्दै पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि सरकारसँग माग गरेकी छिन्।