© २०२३
नेपालका ट्रक व्यवसायीहरूले भारतीय मालवाहक ट्रकका कारण पेशा व्यवसाय नै विस्थापित हुने अवस्थामा पुगेको भन्दै धेरैपटक सरकारको ध्यानाकर्षण गराएका छन । जिल्ला प्रशासन कार्यालयामार्फत दर्जनौंपटक भारतीय मालबाहक ट्रक रोक्न माग गरेका छन तर समस्या समाधानमा नेपाल सरकारले कुनै सुनुवाई गरेको छैन । नेपालको सडकको भार क्षमता भन्दा बढी भार बोकेर आउने भारतीय ट्रकका कारण नेपालका सडक र पुल त्यसैपनि ध्वस्त भैरहेका छन् । सरकारले भारतीय ट्रकलाई बन्देज लगाउन सकिरहेको छैन भने स्थानीउ प्रशासनले पनि क्षमता बढी भारबहन गर्ने ट्रकमाथि कारवाही गर्न सकेको अवस्था छैन । यस्तो लाग्छ– नेपालको सडकमाथि भारतको एकाधिकार छ । नेपाली ट्रक व्यवसायी पीडामा छन । त्यसैपनि कोरोनाका कारण सुस्ताएको आर्थिक गतिविधिले व्यवसायी मारमा परेको अवस्थामा भारतीय ट्रकले ढुवानी गरिदिँदा चुनौति थपिएको छ । अर्कोतर्फ नेपालका सडक र पुल कामै नलाग्ने गरी भासिदै गएका छन । यसले नेपाललाई कालान्तरमा ठूलो नोक्सानी बेहोर्नुपर्ने अवस्था आउन सक्छ । यो गंभीर बिषयमा अहिलेदेखि नै नसोच्ने हो भने समस्या बल्झिने छ । केही महिना अघि बुटवल नारायणगढ सडक खण्डको लोकाहामा भारतीय ट्रककै कारण पुल दबियो । अहिले डाईभर्सन गरेर सवारी आवागमन भैरहेको छ । बुटवलदेखि नारायढागढसम्मका धेरै स्थानमा बनेका नयाँ पुलले भारतीय ट्रकले बोक्ने ओभरलोड धान्न सक्दैनन् । तत्काल धानीहालेपनि पछि ती जोखिममा पर्ने निश्चित छन् । त्यसैगरी अरू दर्जनौं पुलहरू जोखिममा पर्दै गएका छन । वुटवलदेखि कपिलवस्तुसम्मको क्षेत्रमा रहेका करिव दुई दर्जन बढी पुलहरूको अवस्था उस्तै छ । त्यसैपनि राष्ट्रिय राजमार्गका पुल आजभन्दा करिव ६० बर्षअघि निर्माण भएका हुन । हरेक बर्ष नदी गहिरिने क्रम बढेकाले अहिले भइरहेको मर्मत र संरक्षणको कामले पुलको आयुबारेमा नै सडक विभागका अधिकारीहरू नै ढुक्क हुने अवस्था छैन । ढुंगागिट्टी निकासीले नदीको बहावको स्वरूप नै परिवर्तन भएकाले प्राविधिकहरूले पुलको जोखिम अझै बढ्दै जाने बताउने गरेका छन् ।
बर्षायाममा नदी बेगले बग्छ भने पहिले भन्दा साँघुरो बहाव क्षेत्र भएकाले गहिरिने क्रम झन बढेकाले पुल जोखिममा पर्दै गएको प्राविधिकहरूको विश्लेषण छ । अहिले पुलहरू त्यसै कमजोर बनेका छन् । यस्ता धेरै खालका समस्या सतहमा देखिएका छन् । कमजोर पुल मर्मतका लागि भन्दै सरकारले करोडांै लगानी गरिसकेको छ । तर, सरकारले लगानी गर्दै जाने र भारतीय ट्रकले पुल र सडक कमजोर बनाउँदै जाने अवस्थाले नेपाललाई दूरगामी असर र प्रभाव पर्ने निश्चित छ । यही अवस्था हो भने आगामी दिनमा अहिले भन्दा धेरै गुणा पैसा जोखिम व्यवस्थापनमा खर्च गर्नुपर्ने बाध्यता छ । बुटवल नारायणगढ सडक खण्डमा धेरै नयाँ पुल वनेका छन तर ती पुलको अवस्था पनि त्यस्तै हुने निश्चित जस्तै छ । किनभने भारतीय ट्रकले क्षमता भन्दा धेरै बढी भार बोक्ने काम रोकिएको छैन । बरु झनै ठूला लरी र ट्रक निर्वाध चलिरहेका छन । यसले आगामी दिनमा ठूलो चुनौति निम्त्याउने अवस्था छ । नेपाली ट्रक तथा यातायात व्यवसायीको माग पूरा गर्नेतर्फ सरकारले ध्यान दिने हो भने तत्काल भारतीय ट्रकले बोक्ने अधिक भार नियन्त्रण गरियोस् । नेपालका सडकमा भारतीय मालबाहक ट्रकले ढुवानी गर्दा नेपालका ट्रक तथा यातायात व्यवसायी ठूलो मारमा परेकोले सरकारको ध्यान जाओस् । अहिलेपनि समय छ– सम्वन्धित निकाय अर्थात स्थानीय जिल्ला प्रशासन कार्यालयको यस विषयमा गंभीर ध्यान जानु जरुरी छ । खासगरी भैरहवा भन्सारको बाटो हुँदै नेपाल प्रवेश गर्ने ट्रक तथा लरीलाई सिमा क्षेत्रमै भारबहन क्षमता जाँच गरि बढी भार बोक्ने साधन सञ्चालनमा बन्देज लगाउनेतर्फ तत्काल ध्यान जाओस् ।