© २०२३
बुटवल, ६ फागुन ।
जिल्ला कमिटीमा मनोनीत गर्ने सदस्यको विषयलाई लिएर एमाले रुपन्देहीमा भाँडभैलो मच्चिएको छ । सदस्य मनोनयनप्रति असन्तुष्टि जनाउँदै जिल्ला कमिटीमा रहेका तिलोत्तमाका करिव एक दर्जन सदस्यले बैठक नै बहिस्कार गरेका छन् भने पार्टी जिल्ला नेतृत्वलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
एमाले जिल्ला अध्यक्ष र इन्चार्जले सदस्य मनोनयमा मनोमानी गरेको असन्तुष्टहरुको आरोप छ । एमाले जिल्ला कमिटी रुपन्देहीको दोस्रो पूर्ण बैठक मंगलबार रुपन्देही व्यापार संघको हलमा बसेको थियो ।
बैठकमा जिल्ला अध्यक्षले सदस्य मनोनयनको प्रस्ताव गर्नासाथ तिलोत्तमा नगरबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गरेका सदस्यहरुले आपत्ति जनाउँदै विरोध गरेका थिए । उनीहरुले नगर अधिवेशनमा भएको भ्रद्र सहमति जिल्ला नेतृत्वले उल्लंघन गरेको भन्दै बैठक बहिस्कार गर्दै हलबाट बाहिरिएका थिए । यसरी बाहिरिनेमा जिल्ला कमिटी सदस्यहरु झविन्द्र भण्डारी, लक्ष्मी गजमेर, मीना भण्डारी, गणेश न्यौपाने, तुलसी रानी, तेजबहादुर गुरुङलगायत १० जना छन् ।
उनीहरुले बैठक बहिस्कार गरी तिलोत्तमा नगरबाट तामनाथ पाण्डे र नेत्रलाल वनलाई जिल्ला कमिटीमा मनोनीत गर्ने भद्र सहमति उल्लंघन भएको भन्दै बैठक बहिस्कार गरिएको हस्ताक्षरसहितको पत्र जिल्ला उपसचिव बाबुराम पन्थीलाई बुझाएका छन् ।
तिलोत्तमा नगर अधिवेशनमा पाण्डे, वन र मिनप्रसाद पोखरेल अध्यक्षका आकांक्षी थिए । तर त्यसबेला नेताहरु लिला गिरी, वासुदेव घिमिरे, यज्ञ गैरेले जिल्ला कमिटीमा लैजाने समझदारी गर्दै तामनाथ पाण्डे र नेत्रलाल वनलाई उम्मेदवारी फिर्ता लिन लगाएका थिए । “त्यतिबेलाको भद्र सहमति पालना नभएकाले हाम्रो विरोध हो, सहमति अनुसार सदस्य मनोनयन गर्नुपर्ने हाम्रो माग छ”–एमाले तिलोत्तमाका निवर्तमान नगर अध्यक्ष तामनाथ पाण्डेले भने ।
तिलोत्तमाका कतिपय असन्तुष्ट नेताले पार्टी जिल्ला इन्चार्ज लिला गिरी र जिल्ला अध्यक्ष यज्ञ गैरेले आफ्नै गृहनगरको व्यवस्थापन गर्न नसकेको भन्दै चर्को असन्तुष्टी जनाएका छन् । “जिल्ला इन्चार्ज र जिल्ला अध्यक्षको गहनगर भएपनि आफ्नै नगरका कार्यकर्ताको व्यवस्थापन गर्न सकेको देखिएन”–नाम उल्लेख नगर्ने शर्तमा एक जिल्ला कमिटी सदस्यले भने ।

निवर्तमान नगर उपाध्यक्ष वनले भद्र सहमति पालना नहुँदा समस्या निम्तिएको भन्दै सहमति विपरित अघि बढ्दा कसैको हित नहुने बताए ।
मंगलबारको बैठकले तिलोत्तमा नगरबाट सुरेन्द्र श्री, केशव चौधरी र खेमा न्यौपानेलाई जिल्ला सदस्यमा मनोनीत गरेको छ । कुल २३ जना मनोनीत गरिएकोमा तिलोत्तमाबाट तीनजना परेका हुन् । शंकरनगरमा भएको खानेपानीको निर्वाचनको रिसिइवी साँध्न पार्टी जिल्ला अध्यक्षले सदस्य मनोनयमा मनोमानी गरेको असन्तुष्ट पक्षको आरोप छ ।
यस विषयमा प्रतिक्रिया लिन एमाले जिल्ला अध्यक्ष यज्ञ गैरेलाई पटक पटक फोन सम्पर्कको प्रयास गरिए पनि सम्पर्क हुन सकेन ।