© २०२३
हरेक दिनको विहान नेपालीको दिनचर्या राम्रो भन्दा पनि नराम्रो समाचारबाट सुरु हुने गरेको छ । यो नियती नेपालीले धेरै पहिलेदेखि भोग्दै आएका छन् । त्यसैको निरन्तरतामाझ काठमाडौं विश्वकै प्रदुषित सहरको सूचीको दोस्रो स्थानमा पुगेको समाचार यो बर्ष पनि सुन्न बाध्य हुनुपरेको छ । विश्वको वायुको गुणस्तरको अवस्था उल्लेख गर्ने पोर्टल आइक्यु एयरका अनुसार बिहीबार बिहान साढे ११ बजे काठमाडौंको एक्युआइ (वायुको स्वच्छता सूचकांक) १८३ पुगेको थियो । जसले काठमाडौंको वायुको अवस्था विश्वकै खराब दर्शाउँछ । काठमाण्डौंमात्रै होइन नेपालका ठूला शहरको अवस्था पनि त्यस्तै छ । विपद् पोर्टलले नेपालको विभिन्न सहरहरूको वायुको गुणस्तर अत्यन्त चिन्ताजनक देखाएको छ । त्यसैपनि यो हिउँद याममा पानी नपर्दा पनि वायु प्रदूषण बढेको छ । यसका अतिरिक्त गर्मी नसकिँदै वन डढेलोका घटना बढेका छन् । त्यसले चिन्ता उत्पन्न गरेको छ । देशको संघीय राजधानी काठमाडौं अहिलेमात्रै होइन गत बर्षपनि विश्वकै प्रदुषित सहरकै सूचीमा दर्ज भएको थियो । विडम्वना के छ भने सरकारले वातावरण प्रदुषण नियन्त्रणमा खासै चासो देखाएको छैन् । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने राजधानीको विशेषता नै बन्दै आएको छ । लाखौं नागरिकको स्वास्थ्यसँग सरकारले खेलवाड गर्दै आएको छ । राजधानीभित्र निर्माण हुने भौतिक पूर्वाधारमा सरकारी निकायबीच नै समन्वय नहुँदा सडक निर्माण नहुँदै भत्काउने परम्परा अहिले पनि कायमै रहेको छ । बिहान घरबाट निस्किएका बटुवा साँझ घर फर्किदा सुकिलो अवस्थामा घर फर्किने वातावरण छैन् । उपत्यकामा सरकारले तोकेको मापदण्डभन्दा कैयौं गुणा बढी प्रदुषण हुँदा पनि नियन्त्रणको प्रयास नहुनु चिन्ताको कुरा हो । संघीय राजधानीको अवस्था यस्तो छ भने अरू सहरको प्रदुषण नियन्त्रणमा ध्यान जाने कुरा एकादेशको कथा वन्नु स्वाभाविक छ । राजधानी बाहिरका सहरहरू समेत बायु प्रदुषणको मारमा परेको सुन्दा चिन्ता लाग्नु स्वाभाविक छ । बुटवल, भैरहवा, विराटनगर, बीरगञ्ज, तौलिहवा, नेपालगञ्ज, धनगढी लगायतका सिमावर्ती क्षेत्रका सहरमा बायु प्रदुषण बढेको देखिएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआईसम्मलाई सामान्य मानिन्छ ।
त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर हुने चिकित्सकको भनाइ छ । निर्माणको क्रम चलिरहँदा अदृश्यरूपमा फैलिने धूलो स्वास्थ्यका दृष्टिकोणले पनि हानिकारक मानिन्छ । अत्यधिकरूपमा फैलिएको मसिनो धुलोका कणले सिधै मानिसको फोक्सो र रक्तनलीलाई प्रभावित बनाउन सक्ने भएकाले सरकार नागरिकको स्वास्थ्यका लागि गम्भीर बन्नु अत्यावश्वक छ । धूलोको मसिनो कणले सोझै मानिसको मुख, घाँटी, फोक्सो र रक्तनलीलाई समेत असर पु¥याउने हुँदा यसको जोखिमलाई रोक्न सरकारले बायु प्रदुषण नियन्त्रणतर्फ ध्यान दिनु जरुरी छ । त्यसैपनि यो बर्ष लामो समयदेखि हिउँदे बर्षा नभएका कारण मौसम धुम्म हुने र बायु प्रदुषण बढेको छ । जसका अनुसार पछिल्ला केही महिनायता संघीय राजधानीमा बाताबरण प्रदूषणको समस्या विकराल बनेको छ । बायु प्रदुषण बढाउने मूख्य कारकमध्ये २० बर्ष पुराना सवारीका साधन समेत हुन । मेलम्चीका लागि पाईप राख्ने काममा समेत धुलो उडेका कारण समस्या भएको छ । सडक कहिले मर्मत गर्ने र कहिले भत्काउने भन्ने कुरामा सरकारी निकायबीच तालमेल हुन नसक्दा गम्भीर हेलचेक्राई दोहोरिन थालेको छ । वायुमण्डलमा रहने धूलोको कणका कारण निमोनिया, खोकी, मुटु र दमको रोग संक्रमणसंगै फोक्सोको क्यान्सर बढ्ने गरेको पटकपटक विज्ञहरूले चेतावनी दिदै आएका छन् । चिकित्सकहरूका अनुसार नेपालमा वार्षिक १० हजार व्यक्तिको अकाल निधन वायु प्रदूषणका कारण हुँदै आएको छ । स्वच्छ वातावरणमा बाँच्न पाउनु मानिसको मौलिक हक हो । तसर्थ सरकारले अवको दिनमा बायु प्रदुषण नियन्त्रणमा ध्यान देओस् ।