Butwal Today

माओवादी कार्यकर्ताले सामाजिक सञ्जालमा असन्तुष्टि पोख्न नपाउने

५ फाल्गुन २०८१, सोमबार
अ+
अ-

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रले कार्यकर्तालाई सामाजिक सञ्जालमा पार्टीभित्रको असन्तुष्टि व्यक्त गर्न रोक लगाएको छ।

माओवादी प्रदेश परिषद्को विराटनगरमा बसेको बैठकले राजनीतिक, वैचारिक वा अन्य कुनै पनि प्रकारका असन्तुष्टिहरूलाई सामाजिक सञ्जालमा अभिव्यक्त गरेमा पार्टी अनुशासनको कारबाही गर्ने निर्णय गरेको हो।

पार्टीलाई अनुशासित र विधिसम्मत सञ्चालन गर्न यस्तो निर्णय गर्नुपरेको प्रदेश पदाधिकारीहरूको भनाइ छ।

प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्बाङले आफ्ना असन्तुष्टि पार्टी नेतृत्वप्रति पार्टीका बैठकहरूमा खुलेर बहस, विवाद, टिप्पणी र आलोचना गर्ने परिपाटी विकसित गर्न लागिएको तर्क गरे।

अध्यक्ष नेम्बाङले बैठकमा भने, ‘पार्टीका साथीहरूले आफ्ना असन्तुष्टि, पार्टी नेतृत्वको आलोचना र पार्टीसँग सम्बन्धित अन्य विरोधलाई सामाजिक सञ्जालमा राख्ने कामलाई नियन्त्रण गर्न जरुरी छ।’

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव देव गुरुङलगायत नेताहरूलाई साक्षी राखेर गरिएको प्रस्तावलाई नेताहरूले पारित गरेका थिए।

माओवादी प्रदेश बैठकमा जथाभावी गरिने पार्टी प्रवेशका कार्यक्रम र पार्टीमा आएकाहरूलाई व्यवस्थापन गर्न गाह्रो परेको विषय पनि उठेको थियो।

बैठकले प्रदेश समितिसँग समन्वय र छलफल गरेर मात्र पार्टी प्रवेश गराउन मातहतलाई निर्देश गरेको छ।

यसबारे थप जानकारी सोमबार पत्रकार सम्मेलनमा दिने नेम्बाङले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?