© २०२३
नेपालगञ्ज, ५ फागुन ।
बाँकेमा सोेमबारदेखि हात्तीपाइले रोगविरुद्धको आमऔषधी सेवन कार्यक्रम फेरि सुरु गरिएको छ । १३ पटकसम्म औषधी खुवाउने कार्यक्रम चलाउँदा पनि सफल हुन नसकेपछि बाँकेका तीन पालिका र एउटा पालिकाको एक वडामा हात्तीपाइलेका बिरामी भेटिएकोले ती पालिकामा १४औं पटक औषधी खुवाउने अभियान सुरु गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका ११ स्थित महेन्द्र पार्कमा एक कार्यक्रमको आयोजना गरी हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गरेर जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रबहादुर चौधरीले शुभारम्भ गरे ।
सो अवसरमा नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्ट, उपमेयर कमरुद्दीन राई, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, नेपालका लागि विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा. राजेश सम्बाजी राव पान्डव, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरी र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.यदुचन्द्र घिमिरेलगायतले औषधी सेवन गरेका थिए ।
शुभारम्भ कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रबहादुर चौधरीले बाँके जिल्लाकै कारण सिङ्गो देश नै हात्तीपाइले रोगमुक्त नहुने आशङ्का बढेकोले यस पटक सबैले औषधी सेवन गर्नुपर्नेमा जोड दिए । उनले भने ‘हामी बाँकेबासीको ईज्जतसँग पनि जोडिएको विषय हो, अब कसैले नछुटाईकन औषधी सेवन गरौं र देशलाई हात्तीपाइले रोग मुक्त गरौं ।’
विश्व सास्थ्य सङ्गठनका प्रतिनिधि डा. राजेश सम्बाजी राव पान्डवले यो औषधी निकै सुरक्षित र लाभदायक रहेको जनाउँदै बाँकेमा मात्र बिरामी भेटिएकोले सबैले मिलेर अभियान सफल पार्नुपर्नेमा जोड दिए । भेरी अस्पतालका मेडिकल विभागका प्रमुख डा. राजन पाण्डेले यो औषधी हरेक दृष्टिकोणले सुरक्षित रहेको र यसले कुनै पनि साइड इफेक्ट नगर्ने हुँदा ढुक्क भएर खान सबैलाई आग्रह गरे । सो अवसरमा बोल्ने अधिकांश वक्ताले यस पटक यो अभियान सफल पार्नुको विकल्प नरहेको बताएका थिए ।
नेपालगन्ज उपमहानगरपालिकामा सोमवारदेखि सुरु गरिएको सो अभियान डुडुवा र नरैनापुर गाउँपालिकामा फागुन ७ गतेदेखि सुरु गरिने स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गदबहादुर शाहीले बताए । शाहीले एउटा व्यक्तिले औषधी खाने र अर्कोले नखाइदिने गरेका कारण समुदायस्तरमा हात्तीपाइलेको जोखिम कायमै रहेको जनाए । सो अभियान अन्तर्गत बाँकेमा २ लाख ५७ हजार जनालाई औषधी खुवाइनेछ । नेपालगन्जमा १ लाख ६४ हजार ९६ जना, डुडुवामा ४२ हजार १७४ जना र नरैनापुरमा ४२ हजार ३६९ जनातथा बैजनाथको ४ नम्बर वडामा ८ हजार ९६२ जना गरी जम्मा २ लाख ५७ हजार ६०१ जनालाई औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत दुर्गा गौतमले बताइन् । उनले यसपटक हरेक वडामा वडाअध्यक्षको नेतृत्वमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र समाजका अगुवाहरुले घरघरमा पुगेर सो औषधी खुवाउने कार्यक्रम रहेको जानकारी दिईन् ।