© २०२३
नवलपरासी, ४ फागुन ।
नवौं संस्करणको सूर्यनगर गोल्डकप फागुन ७ गतेदेखि सुरु हुने भएको छ । यसका लागि सम्पूर्ण तयारीहरु पूरा भएको आयोजक संस्था नवयुवा क्लबले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १६ –सूर्यनगरमा हुने बहुप्रतिक्षित फुटवल प्रतियोगितामा राष्ट्रिय स्तरका ए डिभिजन लिगका खेलाडीहरु सहभागी हुनेछन् । मोरङ, चितवन, बिरगंज, बासबारी चित्लाङ, काठमाडौ देखि नवलपुर सम्मका १० टिम सहित स्थानीय टिमको समेत सहभागिता रहने नव युवा क्लबका अध्यक्ष धन सिंह चितौरेले जानकारी दिए ।
लुम्बिनी प्रदेशकै तेस्रो ठूलो पुरस्कार राशी बोकेको सूर्यनगर गोल्डकपको संरक्षक बर्दघाट नगरपालिका रहेको छ । नगरपालिकाले उक्त फुटवल प्रतियोगिताका लागि १० लाख रुपैयाँ बिनियोजन गरेको छ । खेलको करिब २५ हजार दर्शकले अवलोकन गर्ने र त्यसका लागि ३५ लाख रकम खर्च हुने अनुमान गरिएको छ ।
पहिलो चरणमा रु १ सय र सेमिफाइनल देखि दोस्रो चरणमा २ सय रुपैयाँ टिकट दर राखिएको छ भने स्थानीयका लागि फेमिली प्याकेज सहित गेम अवधिभरिका लागि ५ सय रुपैयाँ तोकिएको आर्थिक संयोजक प्रदिप अधिकारीले जानकारी दिए ।
यसपटकको प्रथम पुरस्कार राशी ६ लाख ६६ हजार ६ सय ६६ रुपैया हुनेछ भने द्वितीय पुरस्कार राशी ३ लाख ३३ हजार तीन सय ३३ रुपैयाँ रहने बर्दघाट नगरपालिका वडा नम्बर १६ का अध्यक्ष भिमकाजी गुरुङले बताए । सूर्य नगर गोल्डकपले यस क्षेत्रकै चिनारीलाई बोकेको छ । फागुन १६ गते खेलको समापन हुने छ