© २०२३
बुटवल, ४ फागुन
बुटवल उपमहानगरपालिका वडा नं. ९ अन्तर्गत २३ वर्षअघि स्थापना भएको मिलन टोल विकास संस्थाको १० औं अधिवेशन तथा २३ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कमला कुँवर बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको वडा नं. ९ का वडा अध्यक्ष प्रदीप कुमार श्रेष्ठले उदघाटन गरेका थिए ।
कार्यक्रम वडाध्यक्ष श्रेष्ठले वडा भित्र रहेका १३ वटा टोल विकास संस्थाहरूमध्ये मिलन टोल विकास समितिले सर्वोत्कृष्ट कार्य गरेको बताउँदै उपमहानगरपालिकाभित्रकै उत्कृष्ट टोलको रूपमा पहिचान बनाएको उल्लेख गरे । यस उपलब्धिको कारण उपमहानगरपालिकाको स्थापना दिवसको अवसरमा टोललाई सम्मान गरिएको जानकारी दिँदै उनले बधाई ज्ञापन गरे । साथै, बुटवल उपमहानगरपालिकाभित्रकै सबैभन्दा पुरानो टोल विकास संस्था भएकाले अन्य टोलहरूले यसबाट प्रेरणा लिनुपर्ने सुझाव दिए ।
उक्त अवसरमा मिलन टोल विकास संस्थाले स्वास्थ्य, शिक्षा, सरसफाइ, सुरक्षालगायतका विषयमा निरन्तर सेवा प्रदान गर्दै आइरहेको, स्थानीय स्तरमा पूर्वाधार विकास, बाटो, बिजुली, खानेपानी तथा ढल व्यवस्थापनमा सुधार, स्वास्थ्य तथा सरसफाइ कार्यक्रम सञ्चालन, फोहोर व्यवस्थापन, सरसफाइ जनचेतना फैलाउने कार्य, टोलमा शान्ति सुरक्षाको प्रत्याभूति गर्ने, अवाञ्छित गतिविधिहरू नियन्त्रण गर्ने, शिक्षा तथा सामाजिक सेवा बालबालिकाको शिक्षा प्रवद्र्धन गर्ने, आर्थिक रूपमा कमजोर टोलबासी तथा विद्यार्थीलाई सहयोग गर्ने, चाडपर्व, सांस्कृतिक कार्यक्रमहरुमा आपसी सद्भाव बढाउने गतिविधि सञ्चालन गर्दै आएको अध्यक्ष कमला बस्नेत कुँवरले बताइन् ।
साधारण सभामा टोलबासीहरूलाई विभिन्न विद्यामा सफलता हासिल गरेबापत सम्मान गरिएको थियो । साथै, ज्येष्ठ नागरिकहरूलाई समेत सम्मान गरी टोल विकास संस्थाले उनीहरूप्रति सम्मान व्यक्त गरेको थियो ।
अधिवेशनले रुपा बस्यालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । नयाँ कार्यसमिति उपाध्यक्षमा लाड्ली श्रेष्ठ, सचिवमा विष्णु बन्जाडे, कोषाध्यक्षमा जमुना भुषाल, सहसचिवमा शोभा खड्का र सदस्यहरूमा शकुन्तला भण्डारी, एलिना खड्का, तारा बेल्बासे, मिना सावत, विष्णु रामजाली, गीता गुरुङ, एशोदा थैव, सरिता चापागाईं रहेका छन् ।
कार्यक्रममा सल्लाहकार कृष्ण श्रेष्ठ, नवराज कुँवर, प्रिया गुरुङ, चिरञ्जीवी देवकोटा, इन्द्र खड्का, प्रगतिटोलका अध्यक्ष तारा बिष्ट, वडा नं. ९ की सदस्य माया परियार, सामुदायिक विकास तथा वातावरण समितिका अध्यक्ष भरतराम भट्टराई, शंकर भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
नवगठित कार्यसमितिका अध्यक्ष रुपा बस्यालले आगामी दिनमा टोल विकासका क्षेत्रमा अझ प्रभावकारी योजना लागू गर्ने प्रतिबद्धता जनाएकी छन् । मिलन टोल विकास संस्थाले उदाहरणीय काम गर्दै आएको हुँदा भविष्यमा पनि यो संस्थाले सामाजिक सेवामा अग्रणी भूमिका खेल्ने उनले बताइन् ।