© २०२३
गुल्मी, ३ फागुन ।
गुल्मीको मालीका गाउँपालिकामा नयाँ प्रशासनीक भवन निर्माण भएको छ । संघीय सरकार र स्थानीय सरकारको सात करोड ६७ लाख १८ हजार लागतमा उक्त प्रशासनीक भवन निर्माण सम्पन्न भएको हो ।
मालिका गाउँपालिका –४ अन्तरगत अर्खावाङ्गमा उक्त प्रशासकीय भवन निर्माण गरिएको छ । विकोइ श्रेष्ठ तथा सुनिल समिर जेभीद्वारा २०७८ भदौमा सम्झौता भएको भवन निर्माणको काम तीन वर्षमा सम्पन्न भएको गाउँपालिका अध्यक्ष देवीराम अर्यालले जानकारी दिएका छन ।
जिल्ला सदरमुकामबाट टाढा दुर्गम क्षेत्रमा रहेको पालिकाको रूपमा चिनिले उक्त मालिका गाउँपालिकामा सुबिधा सम्पन्न भवनबाट सेवा प्रबाह गरिने भएको छ । भवनको संरचना अपाङ्मैत्री रहेको छ । अपाङ्गता भएका कुनै पनि व्यक्तिहरू सहजै कार्यालयको कोठा कोठामा पुगेर सेवा लिन सक्ने बताईएको छ । २२ हजार स्क्वायर फिटमा बनेको सो भवन साढे तीन तलाको रहेको छ । भवनमा बैठक कक्ष र सभाहल सहित १६ वटा कोठाहरू रहेका छन् । गाउँपालिकाको मुख्य केन्द्रमा निर्माण गरिएको उक्त भवन आकर्षक डिजाईनमा निर्माण गरिएको छ ।
भवनको अभावमा गाउँपालिकाले सम्पूर्ण प्रशासनीक कामहरू एउटा सानो ट्रसबाट गर्दैै आएको थियो । सानो ठाउँ र साघुँरा कोठाहरू भएका कारण सेवा लिन आएका नागरिकहरू पनि अलमलमा पर्ने गरेका थिए । अब नयाँ भवन बनेपछि आफुहरूलाई पनि सेवा लिन आउँदा सजिलो हुने स्थानीय राधिका अर्यालले बताईन । पालिकाले यति ठूलो भवन बनाएको भन्दै उनले आफुहरू निकै खुसी बनेको बताईन । नयाँ भवन नर्माण भएसँगै अबदेखि नागरिकहरूलाई सेवा प्रवाह गर्न थप सहज पुग्ने मालिका गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले बताए । उनले भवन निर्माण सम्पन्न भएपनि फर्निसिङ्का कामहहरू गर्न केही बाँकी रहेको कारण नयाँ भवनबाट सेवा प्रवाह गर्न अझै केही समय लाग्ने बताएका छन ।
जिल्लामा एकै दिन बोलपत्र आव्हान गरेका धुर्कोट र मदाने गाउँपालिका प्रशासकीय भवनहरू भने अझै सम्पन्न हुन सकेका छैनन् । एक पटक म्याद थप गरेपछि तोकिएको समयमा काम सम्पन्न गरेर पालिकालाई भवन हस्तान्तरण गरिएको निर्माण व्यावसायी हरिकुमार श्रेष्ठले बताए । उक्त भवनको हालै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा उद्घाटन गरेका हुन ।