© २०२३
कपिलबस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. ३ महेन्द्र राजमार्गको बुड्डी चोकदेखि करिब ११ किलोमिटर उत्तर पश्चिममा रहेको बोक्टापुर शिवालय मन्दिर अहिले भने लट्टेश्वर शिवपुरी धामको नामबाट प्रख्यात भएको छ । निकै पुरानो मन्दिर प्रचार प्रसारको अभाव र भौगोलिक विकटता समेतका कारण ओझेलमा परेको भएतापनि अहिले भने शिवजीका भक्तजनहरुको सक्रियतामा केही गति र चलायमान हुने अपेक्षा बढेको छ । यो मन्दिर धेरै नै पुरानो शिवालय मन्दिर हो । यसलाई प्रचार प्रसार गर्न सके एउटा महिमाशाली धार्मिक पर्यटकीय गन्तव्य बन्ने पक्का छ ।
महिमाशाली यो मन्दिरमा रहेको शिवलिङ्ग निकै पुरानो मानिन्छ । यस शिवलिङ्गको बारेमा यहाँका अग्रजहरुसँगको अनुभव लिंदा निकै रोचक रहेको छ । उक्त शिव लिङ्ग कोही साधु सन्त वा शिवजीका अनुन्यायीहरुले बाहिरबाट ल्याएर स्थापना गरेको होइन । सो शिवलिङ्ग पहिला उक्त स्थानमा समेत थिएन त्यसको केही उत्तर पट्टी बिच बाटोमा रहेको थियो । उक्त बाटोमा तत्कालीन अवस्थामा बढी मात्रामा गाई गोरु, लडिया (गाडा) हरु हिंड्ने हुँदा बाटोमा हिंड्न समेत अप्ठ्यारो भएपछि खनेर निकाल्ने निकै ठूलो प्रयत्न भएको थियो तर त्यो शिवलिङ्गको फेदी नै पत्ता लगाउन नसकेको अग्रजहरुको भनाइ छ । उक्त शिवलिङ्ग आकारको ढुङ्गा देखेपछि दक्षिण भेल्टका शिवजीका भक्त एक धार्मिक व्यक्तिले लोभिएर लैजानका लागि निकै नै प्रयत्न समेत गरेको तर लैजान नसकेको अग्रजहरुको अनुभव छ । यसरी हेर्दा यो ढुंगा आकारको शिवलिङ्गमा निकै शक्ति र महिमा रहेको जानकारहरु बताउँछन् । झट्ट हेर्दा विरुवा उम्रे जसरी उम्रेको ढुङ्गा आकारको यो शिवलिङ्ग अहिले आएर यसको महिमा अझ बढेको छ । १०० औं बर्ष पहिले आफै पर्कट भएका शिला छन् थुप्रै तपस्सी, साधु सन्त, बुद्धिजिवी, पण्डितहरु साथै गाउँका पुराना भद्र भलाद्मी लगायत सम्पूर्ण गाउँलेहरुको गहिरो अनुसन्धानपछि यस क्षेत्रमा परापुर्व कालमा सतिदेवीको कपाल (रौं) पतन भएको ठाउं भन्ने तपस्सी साधु सन्तहरुको दिब्य वाणीबाट आएको छ । सोही कारण सतिदेवीको रौ पतन भएको क्षेत्र मानिएको छ र सोही रौ बाट यस लिङ्गको उत्पत्ति भएको हुँदा यो लट्टेश्वर महादेव भएको धामिक गुरुहरुको भनाइ रहेको छ ।
यो क्षेत्र शिवजीका अनुयायीहरुका लागि निकै नै महत्वपूर्ण क्षेत्र हो । यस क्षेत्रमा सतिदेवीको रौ पतन भएको क्षेत्र भएको हुँदा यस क्षेत्रलाई लट्टेश्वर शिवपुरी गौ धाम भन्नु पर्ने र किनारमा बगिरहेकी गंगालाई भहराई गंगा शिवपुरी धाम बनाउनु पर्ने धार्मिक गुरुहरु बताउनुहुन्छ । यहाँ भगवान महादेवको अदभुत शक्ति रहेको र त्यो शक्तिकै कारण यो शिवलिङ्गको उत्पत्ति भएको धार्मिक गुरुहरुको दावी रहेको छ । गुरुका अनुसार पनि यो मन्दिर निकै शक्तिशाली र महिमाशाली भएको बताउनु हुन्छ । उक्त शिवलिङ्गका विषयमा आफूलाई पहिले केही थाहा जानकारी नभएको तर आफ्नो ध्यानमा यस क्षेत्रको महिमाबाट आफू ध्यानकेन्द्रित भएपनि सो ठाउँको खोजीमा हिंड्दा आफू आफ्सेआफ यस क्षेत्रमा आइ पुगेको बताउनु हुन्छ । यसरी हेर्दा समेत यो क्षेत्र निकै ठूलो धार्मिक क्षेत्र रहेको भएको कुरा भन्न सकिन्छ ।

मलाई के थाहा छ भने म सानो छँदा उक्त शिवलिङ्ग समेत सानो नमुना आकारमा रहेको थियो गाउँका मानिसहरुले प्रायः गरी शिवरात्रीमा मात्र सामान्य भजन कृतन गर्ने फूलमाला चढाउने गर्थे । सानो खपटाको छाप्रा मुनि राखिएको थियो । तर अहिले बढेर झण्डै एक मान्छे अर्थात ४.५ फिट भन्दा अग्लो भएको छ भने भौतिक रुपमा पनि केही हदसम्म भएपनि मन्दिर निर्माण गरिएको छ । सनातन धर्म संस्कृतिसँग सम्बन्धित शिवालय वा ज्योतिर्लिङ्ग भएकाले यसको इतिहास अपरमपार छ । यो महिमाशाली शिवालय रहेको तथ्य निर्विवाद छ ।
आज भने यो मन्दिरको महिमा अलि फरक छ । सबै भक्तजनहरु संरक्षणमा जुटेका छन् । धार्मिक गुरुहरु दैनिक पुजापाठमा लाग्नु भएको छ । बोक्टापुर शिवालय मन्दिरबाट लट्टेश्वर शिवपुरी गौ धाम नामाकरण गरी जिल्ला प्रशासन कार्यालयमा समेत आधिकारिक रुपमा दर्ता भएको छ । मन्दिरलाई भौतिक संरचना एवं जग्गाको कमी छ सोही व्यवस्थापनको लागि यही मिति २०८१ साल फाल्गुण ३ गतेदेखि १४ गते सम्म महापुराण महायज्ञको आयोजना गरिएको छ ।
आजभोलि मन्दिरको चहलपहल फरक छ, हरेक दिन मन्दिरमा पुजापाठ हुन्छ, हरेक सोमबार भक्तजनहरुको घुइँचो लाग्छ, एकादशीमा भजन कृतन हुने गर्छ, मन्दिर व्यवस्थापन समिति प्रचार प्रसारमा जुटेको छ, धार्मिक कृयाकलापमा सक्रिय भएको छ उक्त क्षेत्रलाई पवित्र बनाउन मन्दिर हाताभित्रै सामूहिक पितृ मोक्ष श्राद्ध सम्पन्न गरिएको छ । शिवरात्रीलाई केन्द्रित गरी शिवपुराणको आयोजना गरिएको छ । शिवालयमा साउन महिना (गुरु पुर्णिमादेखि जनै पुर्णिमा सम्मको अवधि) मा विशेष श्रावणी मेला तथा जलार्पण कार्यक्रम आयोजना गर्नु पर्ने देखिन्छ । प्रचार प्रसारको कमी हुनाले नै यस मन्दिरको महिमा बढ्न नसकेको हो । आज धार्मिक पर्यटकीय क्षेत्रको रुपमा अरबौ अरब खर्च गरेर मन्दिरहरु निर्माण भइरहेका छन् तर हामीले भएको मन्दिरको संरक्षण सम्बद्र्धन गर्न सकेका छैनौ । म त के भन्छु भने यो शिवालयको महिमा तथा महत्व उत्खनन् गर्दै समयानुकूल विकास र प्रवद्र्धन गरी शिवलिङ्ग धार्मिक पर्यटन सर्किटको रुपमा विकास गरिनु पर्छ ।
गाउँ तथा वडास्तरबाट श्रावणी मेला तथा जलार्पण कार्यक्रम सञ्चालन गरी यसको महिमा अझ फैलाउनुपर्छ यसलाई भक्तजन बिच लोकप्रिय बनाउने श्रेय लिनुपर्छ । यस मन्दिरलाई पश्चिम नेपालमा एउटा उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्यका रुपमा महिमाशाली बनाउन प्रयत्न गर्नुपर्छ । यसको श्रवाणी मेला तथा जलार्पण कार्यक्रम नेपाल र सिमावर्ती भारतीय क्षेत्रमा लोकप्रिय बढाउन सके भक्तजनको उत्साहजनक सहभागिता हुन्छ । यसको महिमा अझ वृद्धि होस् र भावी पुस्तालाई पनि यसको संरक्षण र प्रवद्र्धन गर्न प्रेरणा दिनुपर्छ । यसको अग्रसर बुद्धभूमि नगरपालिकाले लिनुपर्छ । यस मन्दिरको थप जग्गा व्यवस्थापन, श्रृङ्गार गरी आकर्षक पर्यटकीय गन्तव्य निर्माण गर्न यसमा पूर्वाधार थप्न र यसको आम्दानी खर्चको व्यवस्थापन हेरी नगरपालिकाले यसलाई आयश्रोतको माध्यम बनाउन सक्छ । वास्तवमा यो मन्दिरको व्यवस्थापन र रेखदेखमा बुद्धभूमि नगरपालिकाले चासो र पहल लिनु पर्छ । यो शिवालय मन्दिरलाई विशेष महिमाशाली र आम्दानीको श्रोतको रुपमा समेत विकास गर्न सकिन्छ । यसलाई अब सुव्यवस्थित ढङ्गले सञ्चालन गरिनुपर्छ । मन्दिरको निरन्तर प्रवद्र्धन गर्दै लैजानु पर्छ । यो ठाउँ एउटा आकर्षक धार्मिक पर्यटकीय गन्तव्यको रुपमा महिमाशाली बनाउन प्रयत्न गर्नु पर्छ । पिछडीएको गाउँलाई यही मन्दिरकै सहारबाट छिटो पूर्वाधार निर्माण र प्रचार प्रसार भई उन्नत गाउँको रुपमा विकासको एउटा आधार बन्न सक्छ । यसका निम्ति लुम्बिनी प्रदेश सरकार, बुद्धभूमि नगरपालिकाले अग्रसर लिनै पर्छ ।