Butwal Today

पाल्पाको दोभानमा सहिद चुनुमाया शालिक अनावरण, को हुन चुनुमाया ?

२ फाल्गुन २०८१, शुक्रबार
अ+
अ-

बुटवल, २ फागुन ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले पाल्पा जिल्लाको दोभानमा सहिद चुनुमाया गुरुङ (चेनी) को शालिक अनावरण गरेका छन् । सहिद चुनुमायाको सम्झनामा स्थापित शालिकले उनको योगदानलाई चिरस्थायी बनाउने विश्वास गर्दै “सहिद चुनुमाया गुरुङको शालिकको अनावरण हामी सबैको लागि गर्वको कुरा भएको बताए । उनी जस्ता सहिदहरूको बलिदानले नेपालमा गणतन्त्र स्थापना र जनताको अधिकारको रक्षा सम्भव बनाएको सभामुख धर्तीले बताए।

शालिक स्थापना मात्र होइन, उनका योगदानलाई सधैं सम्झिने र सम्मान गर्ने उनीजस्ता सहिदहरूले ल्याएको परिवर्तनलाई संस्थागत गर्दै समतामूलक समाज निर्माण गर्नु हाम्रो दायित्व हो,” सभामुख घर्तीले भने ।

सहिद चुनुमाया गुरुङको : संघर्ष र बलिदानी

चुनुमाया गुरुङ (चेनी) पाल्पाको दोभानस्थित एक किसान परिवारमा जन्मेकी थिइन्। समाजमा व्याप्त अन्याय, विभेद, र असमानताको विरुद्ध संघर्ष गर्ने अठोटका साथ उनी माओवादी सशस्त्र आन्दोलनमा होमिइन्।

२०५२ सालमा सुरू भएको युद्धमा उनी पूर्णकालीन कार्यकर्ताका रूपमा सक्रिय भइन्। सांस्कृतिक आन्दोलनकी नेत्रीका रूपमा उनी अखिल नेपाल जनसांस्कृतिक महासंघकी केन्द्रीय सदस्य, नेकपा (माओवादी) को वरिष्ठ जिल्ला सदस्य तथा क्रान्तिकारी जनपरिषद्को केन्द्रीय सदस्य समेत भइन्।
चुनुमायाको सांस्कृतिक क्षेत्रमा विशेष रुचि थियो। विद्यालय जीवनमै प्रगतिशील गीतहरू गाउने, नाच्ने, समाजमा जनचेतना फैलाउने कार्यमा सक्रिय थिइन्। २०४८ सालमा पार्टीको व्यवस्थापनमा पाल्पाको कुसुमखोलाबाट एसएलसी परीक्षा उत्तीर्ण गरेपछि उनी अझ क्रान्तिमा केन्द्रित भइन्।

२०५२ देखि २०५३ सालसम्म उनले रोल्पा, रुकुमका गाउँबस्तीहरूमा सांस्कृतिक आन्दोलनको नेतृत्व गरिन्। उनका चर्चित गीत “प्यारो जलजला” र कविता “बेलिसरा” नेपाली जनताको संघर्षको प्रतीक बनेका छन्।

२०५४ सालमा पाल्पा फर्किएर नेकपा (माओवादी) को संगठन निर्माणमा सक्रिय भइन्। २०५५ सालमा पार्टीले उनलाई जिल्ला समिति सदस्य बनायो। त्यसपछि उनी लुम्बिनी व्युरो अन्तर्गत गठित “क्षितिज परिवार” को नेतृत्वमा रहिन्।

२०५६ साल वैशाख २ गते चुनुमायाले पर्वतका कीर्ति तिवारी (विवेक) सँग प्रगतिशील विवाह गरिन्। तर विवाहको ३१ दिनपछि नै उनका श्रीमान विवेक आन्तरिक दुर्घटनामा सहिद भए। उनको जीवनमा विवाहको खुसीभन्दा दुःख र बलिदान बढी रह्यो।

२०५८ सालपछि चुनुमाया गुरुङको कार्यक्षेत्र कास्की बन्यो। माओवादी आन्दोलनमा अझ सक्रिय भइरहँदा २०५८ माघ २३ गते नेपाली सेना र प्रहरीले उनलाई कास्कीको भरतपोखरीबाट गिरफ्तार गर्यो। त्यसपछि उनलाई पोखरा फूलबारी ब्यारेकमा चरम यातना दिइयो।

२०५९ असार ८ गते राति बागलुङ–पोखरा सडक खण्डको खोलाको किनारमा लगेर शाही नेपाली सेनाद्धारा बलात्कार पछि गोली हानी हत्या गरिएको माओवादी पक्षको दाबी छ। उनी लामो समयसम्म बेपत्ता मानिएकी थिइन्, तर पछि उनलाई शंकाको आधारहरु पुष्टि गरी सहिद घोषणा गरियो।

सहिद चुनुमाया गुरुङको शालिक स्थापना केवल पाल्पा जिल्लाका लागि मात्र नभएर सम्पूर्ण लुम्बिनी प्रदेशका लागि प्रेरणाको स्रोत भएको आयोजक समितिले जनाएको छ। कार्यक्रममा सहभागी नेताहरूले सहिदका सपना पूरा गर्न सरकारलाई विशेष योजना ल्याउन आग्रह गरे। सहिद परिवारका सदस्यहरूले उचित राहत, रोजगारीको अवसर, र सामाजिक सुरक्षाको प्रत्याभूति गराउन माग समेत गरे। शालिक अनवरण पछि सहिद चुनुमाया गुरुङ्गको परिवारलाई सम्मान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?