© २०२३
काठमाडौं २७ माघ।
आइतबार पनि सेयर बजारको गिरावट जारी रह्यो। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.४९ अंकले घटेर २६८८ अंकमा पुगेको छ। यो गिरावटले बजारमा लगातार चौथो दिनको गिरावट रेखा खिचेको छ।
पछिल्ला चार दिनहरूमा बजारमा गिरावट आएको छ, जसमा मंगलबार १४.०८, बुधबार ४.४५ र बिहीबार ११.६४ अंकको गिरावट आएको थियो। यसै क्रममा कारोबार रकम पनि घटेर ८ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो दिन भने ९ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको थियो।
यस दिन ६८ कम्पनीको मूल्य बढ्दा १६८ कम्पनीको मूल्य घट्यो। विशेषत: फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, व्यापार, बैंकिङ, होटल तथा पर्यटन र अन्य क्षेत्रका समूहहरूमा गिरावट आएको छ।
तर, सकारात्मक पक्ष पनि रहेको छ। सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सका सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ। गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको कारोबार आजदेखि सुरु भएको हो। साथै, उपकार लघुवित्त, इनिफिनिटी लघुवित्त र अपर लोहोरेखोला कम्पनीको मूल्यमा क्रमशः ६ प्रतिशत र ५.२ प्रतिशतको वृद्धि भएको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीएचडीसी, सेन्ट्रल फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी र सप्तकोशी विकास बैंक अगाडि रहेका छन्।