© 2026
काठमाडौं २७ माघ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्षमा आधारभूत तहदेखि उच्च र प्राविधिक शिक्षासम्मका १५ लाख ७१ हजार विद्यार्थीलाई ७ अर्ब ३९ करोड रुपैयाँको छात्रवृत्ति वितरण गरेको छ।
मन्त्रालयले आइतबार छात्रवृत्तिको विवरण सार्वजनिक गर्दै, आवासीय छात्रवृत्ति अन्तर्गत १२,०६५ विद्यार्थीलाई ६० करोड ३२ लाख रुपैयाँ उपलब्ध गराएको जानकारी दिएको छ। यसमा अपाङ्गता भएका, मुक्त कमलरी, सिमान्तकृत समुदायका विद्यार्थी, सडक बालबालिका, एचआइभी प्रभावित र वादी समुदायका विद्यार्थीलाई वार्षिक ५० हजार रुपैयाँको दरले छात्रवृत्ति दिइएको छ।
गैरआवासीय छात्रवृत्तिमा १५ लाख ४० हजार विद्यार्थीलाई ६२ करोड ७० लाख रुपैयाँ वितरण गरिएको छ। कर्णाली प्याकेज अन्तर्गत कक्षा १–५ मा अध्ययनरत बालिकालाई वार्षिक एक हजार रुपैयाँ दिइएको छ। दलित छात्रवृत्तिमा कक्षा १–५ का ५ लाख ५२ हजार विद्यार्थीलाई २१ करोड रुपैयाँको छात्रवृत्ति प्रदान गरिएको छ।
विपन्न लक्षित छात्रवृत्तिमा ६० करोड रुपैयाँका छात्रवृत्ति वितरण गरिएको छ, जसमा कक्षा ११–१२ विज्ञान विषयका लागि वार्षिक २४ हजार र अन्य विषयका लागि वार्षिक १८ हजार तथा कक्षा ६–१० का लागि वार्षिक ६ हजार दिइएको छ।
प्राविधिक शिक्षा छात्रवृत्तिमा दलित, मुस्लिम र सिमान्तकृत समुदायका लागि ५ करोड ९४ लाख रुपैयाँको छात्रवृत्ति वितरण गरिएको छ, जसमा मासिक निर्वाह भत्ता ३,५००, यातायात खर्च वार्षिक १,५०० र पोसाक भत्ता वार्षिक २,५०० दिइन्छ।
उच्च शिक्षा छात्रवृत्तिमा स्नातक/स्नातकोत्तर तहका शहीद, द्वन्द्वपीडित, मुक्त कमलरी, मुस्लिम महिला र अपाङ्गता भएका विद्यार्थीलाई वार्षिक २४ हजार छात्रवृत्ति दिइएको छ। आर्थिक रूपले विपन्नका लागि सामान्य विषयमा वार्षिक १५ हजार र प्राविधिक विषयमा २१ हजार रकम दिइएको छ।
चिकित्सा शिक्षा छात्रवृत्तिमा १०,५९४ विद्यार्थीलाई ५ अर्ब ११ करोड रुपैयाँ वितरण गरिएको छ।