© २०२३
काठमाडौं, २७ माघ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेल माओवादी केन्द्रका नेता बर्षमान पुन प्रति आक्रोश व्यक्त गरेका छन्। पुनसँग भएको अनौपचारिक संवादलाई ‘याचना’ रूपमा व्याख्या गरिएको भन्दै महासचिव पोखरेलले आक्रोश व्यक्त गरेका छन्। उनले फरक प्रसङ्गमा भएको छलफललाई अनर्थ लगाइएको र सामाजिक सञ्जालमा पुनसँगको संवादका बारेमा गलत अर्थ लिइएको पनि बताएका छन्।
पोखरेलले ‘वर्षमानजीसँगको फोनको कुरा’ भन्ने शीर्षकमा आफ्नो स्पष्टीकरण दिँदै भने, “अब त वर्षमानजीसँग अनौपचारिक कुरा गर्न पनि डर लाग्न थालेको छ।” उनले फेसबुकमा लेखेका छन्:
“नेताहरू बीचमा शिष्टाचारवश हुने कुराकानीलाई वर्षमानजीले एमाले महासचिवको याचना भनेर प्रचारवाजी गर्नुभयो। अब त उहाँसँग अनौपचारिक कुरा गर्न पनि सचेत हुनुपर्ने पो देखियो। पार्टीको जिम्मेवार नेताले कतिपय सवालमा समय समयमा आवश्यक ठानिएका व्यक्ति र पक्षसँग अनौपचारिक रूपमा कुरा गर्दछ। अनौपचारिक रूपमा गरिएका कुरा सार्वजनिक खपतका विषय नहुन सक्छन्। त्यस्ता कुराकानीलाई सार्वजनिक गर्नु उचित मानिदैन।”
उनले थप भने, “उहाँले के उद्देश्यले त्यसो गर्नु भएको छ, स्पष्टै छ। तर त्यसले उहाँलाई र उहाँको पार्टीलाई नै नोक्सान पुर्याउने कुरा हो। जहाँसम्म उहाँसँग भएको कुराकानी र सम्प्रेषित समाचारको भावना पूर्णतः फरक छ। मसँग उहाँले गरेको कुराकानी र सम्प्रेषित समाचार बिल्कुल फरक छन्, तर अहिले म त्यो विषयमा चर्चा गर्नु उचित ठान्दिन।”
पोखरेलले स्पष्ट पारे, “वास्तवमा यदि वर्षमानजीले जस्तै सहयोग र याचना गर्नुपर्ने आवश्यकता भएको भए, त्यसको लागि उहाँसँग होइन, सिधै माओवादी अध्यक्ष पुष्पकमल दाहाल मार्फत हुने थियो। यसबाहेक, आवश्यक ठानिएका विषयमा पहिले जस्तो पनि हामीले कुरा गरेका छौं, जस्तो संक्रमणकालीन न्यायको विषयमा।”
पोखरेलले थप भने, “जहाँसम्म वर्षमानजीलाई फोन गरेकै कारणले बलियो राष्ट्रिय शक्ति निर्माणको आवश्यकता र औचित्य खण्डित भएको माओवादीका नेता र कार्यकर्ताको प्रचारवाजी र बचकनापन बाहेक केही होइन। त्यस प्रकारको विचारप्रति सहानुभूति मात्र प्रकट गर्न सकिन्छ।”
राजनीतिक स्थायित्वका लागि बलिया दलहरूको निर्माणको बारेमा पोखरेलले भने, “साना राजनीतिक दलहरूको कानूनी र संवैधानिक निषेध गर्नु हाम्रो उद्देश्य होइन, र त्यसो गरिने पनि छैन। बलियो राष्ट्रिय शक्तिको निर्माण राजनीतिक ध्रुवीकरणको बाटोबाट हासिल गरिने कुरा हो। अहिलेको हंग पार्लियामेन्टमा धेरै दलसँगको सहकार्यले यसको औचित्य खण्डित हुँदैन। बरु यस घटनाक्रमले त्यसको महत्वलाई झनै पुष्टि गरेको छ।”