© २०२३
गुल्मी, २६ माघ ।
गुल्मी क्षेत्र नं १ का सांसद एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र भण्डारीले कतिपय निर्माण व्यावसायीहरूले समयमा काम नगरिदिँदा विकास निर्माणका काममा ढीलासुस्ती भएको बताएका छन्। उनले जिल्लामा सञ्चालन भैरहेका निर्माणका काममा तिब्रता दिन व्यावसायीहरुलाई आग्रह गरेका छन्।
शनिबार गुल्मीको सदरमुकाम तम्घास स्थित जिल्ला प्रशासन कार्यालयमा कार्यालय विकास निर्माणसँग सम्बन्धित कार्यालयका प्रमुखहरुलाई निर्देशन दिँदै सांसद भण्डारीले जिल्लामा चाहिएको विकास नागरिकलाई स्थापित गर्नका लागि हुनुपर्ने बताए। उनले विकास भनेको नागरिकलाई विस्थापित गर्नु होइन, राम्रो बनाउन र उनीहरुलाई स्थापित गर्नका लागि गरिएको भन्दै सडक चौडा बनाउने नाममा जथाभावि गाउँका वस्ती र नागरिकहरूको घर रित्ताउन नहुने टिप्पणी गरे।
सांसद डा. भण्डारीले रिडी तम्घास सडक र रिडी बल्कोट सडक आयोजनामा काम गर्ने निर्माण कम्पनीका प्रतिनिधिहरूसँग हालसम्म भएका निर्माण प्रगति, तीनको अवस्था र समस्याका बारेमा जानकारी लिदै नागरिकहरूले उठाएका गुनासाहरूको बारेमा समेत छलफल गरेका थिए। उनले बजेटको अभावमा काम रोक्नुपर्ने अवस्था आउन नदिन आफूहरू लागि पर्ने भन्दै समयमा आयोजनाहरू सम्पन्न गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएका छन्।
छलफल कार्यक्रममा मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका इन्जिनियर सुरेन्द्र गौतमले रिडी–तम्घास सडक र रिडी–बल्कोट सडक आयोजना आयोजनाको हालसम्मको वित्तीय एवं भौतिक प्रगतिको बारेमा जानकारी गराए। उनले रिडी–तम्घास सडक खण्डमा वित्तीय प्रति ४१ प्रतिशत र भौतिक प्रगति ४५ प्रतिशत भईसकेको बताए। त्यसैगरी रिडी–बल्कोट सडकमा वित्तीय ५८ र भौतिक ६५ प्रतिशत भएको इन्जिनियर गौतमले जानकारी दिए।
जिल्लामा सञ्चालन भएका विकास निर्माणका योजनाहरूको अनुगमनको क्रममा सांसद डा. भण्डारीले सत्यवतीमा निर्माण भैरहेको डहरे खोलाको पक्की पुल, रुद्रबेणी–वामीटक्सार सडक, विभिन्न खानेपानी तथा सिँचाई योजनाहरूको निरीक्षण गर्नुका अतिरिक्त स्थानीय पालिकाहरूसँग विकास निर्माणको अवस्थाबारे छलफल समेत गरेका थिए।
कार्यक्रममा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सांसद डा. भण्डारीलाई जिल्लाको समग्र विकास निर्माणको वर्तमान अवस्था र देखिएका समस्या र गर्नु पर्ने कामहरूको बारेमा जानकारी गराएका थिए।