© २०२३
मगरजातिका आफ्नै भाषा र भेषभूषा छन् । आफ्नै रीतिरिवाज, चालचलन र परम्परागत मूल्य–मान्यताहरू छन् । आफ्नै धर्म,संस्कार,संस्कृति र सभ्यताकै कारण मगरजाति, सम्पदाले सम्पन्न जातिका रूपमा परिभाषित छ । ठाउँ,परिवेश र परम्परामा केही भिन्नता भने भेटिन्छन् । जाति एउटै भएपनि ठाउँअनुसार भाषामा भिन्नता नपाइने भने होइन ।
मगरजातिका अनेक थरहरू छन् । जन्मदेखि मृत्युसंस्कार पनि विविधता छन् । तरपनि मगरजातिमा एकता बलियो धरोधर बनेको छ । देखापरेका समस्याहरूलाई समाधान गर्न एकजुट छन् । मतऐक्यता नै ऐक्यवद्धताको नमूना हो । मगरजाति चाहे पूर्वका हुन् वा पश्चिमका । चाहे दक्षिणका हुन् वा उत्तरका । सबैमा जातीय भावना सञ्चारित छन् । हामी एक हौं भन्ने परम्परागत भावनाले राज गरेकै छ ।
तत्कालीन बाईसे होस् वा चौबीसे राज्यका मगर किन नहुन् ? उनीहरूमा जातीय एकताको सूत्र मगर बनेर नै बाँटिएको छ । बोल्दा,हाँस्दा वा काम गर्दा वा हिड्दा,डुल्दा मगरहरूमा देखिने हँसिलोपना,खुसी भईरहने बानी र फरासिला व्यवहारले, मगर हुनुमा मगरजातिलाई उत्साह थपिरहन्छ ।
मगरहरू, राज्यको तथ्यांकमा पढालिखा जातिमा पर्छन् । देश,विदेशमा पहुँच भएको समृद्ध जातिको रूपमा गनिन्छन् । आर्थिक सम्पन्नताको परिचायक नै मगर देखिएका छन् वर्तमानमा । धार्मिक एवम सामाजिक गतिविधिहरूमा मगरजातिको उपस्थिति र सक्रियता तुलनात्मक रूपमा अघि नै देखिन्छ । मगरहरूलाई राज्यको मूलधारमा भेटाउन सजिलै भएको छ यतिबेला । पार्टीका माथिल्लो पङ्तिमा देखिन थालेका छन् । निजामति होस् वा संस्थान, सरकारी स्कूलमा होस् वा संस्थागत विद्यालयमा मगरजातिको उपस्थिति कतै कमजोर छैन । सहकारीमा होस् वा बैंकमा,बजारमा होस् वा ब्यापारमा, चिकित्सा वा इन्जिनियरिङ्गमा अचेल मगरजाति नभेटिने ठाउँ नै छैन ।
सरकारमा होस् वा सडकमा ,सदनमा होस् वा संवादमा मगरजातिको उपस्थिति कमजोर छैन । यी सबै कुराको एउटै जरो भनेको मगरजातिको एकता र अघि बढ्ने दृढ संकल्प नै हो । लड्ने भएर नै लाहुरे संस्कृतिमा बाँचेका मगरजाति विवेकको लडाइँमा लम्पसार परेका छैनन् । मगरजाति,आफ्ना हकहित र अधिकारसँगै कर्तव्यको सगरमाथा उक्लिने यात्रामा छन् ।
पाल्पा तिनाउ, वडा नं.५, मरामकोटका स्थायीबासिन्दा पूर्णबहादुर खाम्चा मगर, २०८१ कार्तिकमा ७६ वर्ष पुगे । तत्कालीन मस्याम गाविसका दुई पटकसम्म अध्यक्ष भएका उनी प्रगतिशील विचार राख्छन् । धर्म निरपेक्षतामा देश गइसकेपछि आफ्नो गाउँघर र समाजमा मान्दै आइएका धर्म,संस्कार र रीतिरिवाजमा आमूल परिवर्तन आएको खाम्चा बताउँछन् ।
उनका अनुसार मगरजातिमा महिलाहरूले महिनावारी (बाहिर सर्दा) पाँच दिनसम्म अनिवार्य बार्ने चलन छ । त्यतिबेला कुनैपनि धार्मिक कार्य हुँदैनन् । भान्सामा पस्ने चलन पनि हुँदैन । घाँस,दाउरा गर्ने,बाहिरै बस्ने,गोठ वा कटेरामा सुत्ने चलन भएतापनि पहिलाका तुलनामा यो चलन हराउँदै गएको उनले बताए । साथै उनका अनुसार आमा बनिसकेकी महिलाले महिनावारी हुँदा तीन दिनमात्र बारे हुने चलन आफ्नो गाउँमा रहेको समेत सुनाए ।
पूर्वखोला गाउँपालिका वडा नं.२,जल्पा, ढोलीमाराकी माया रानाले भनिन्– खस,आर्य जातिका संगतमा रहेका मगर महिलाहरूले महिनावारीलाई सांस्कृतिक चलनका रूपमा लिएर पाँच दिनसम्म छोइछिटो गर्ने चलन छ । यतिबेला पानी बोक्न नपाइने, भान्सामा पस्न नपाइने, छुट्टै सुत्नुपर्ने, खाएको भाँडाकुँडा छुट्टै राख्नुपर्ने,आफैले माँझेर घाममा सुकाउनु पर्ने चलन रहेको माया रानाले बताइन् । मगरजातिको मात्र बसोबास रहेको ढोलीमारा गाउँमा भने मगर महिलाहरूले महिनावारी बार्ने चलन खासै छैन वा बार्ने चलन हराउँदै गएको समेत उनले सुनाइन् ।
त्यसैगरी तिनाउ गाउँपालिका वडा नं. ४,सत्यवती मन्दिर तथा ताल क्षेत्र वरिपरि रहेका मगर महिलाहरूले सत्यवती मन्दिर भएकै कारण महिनावारीलाई कडाईका साथ लागू गर्ने चलन रहेको स्थानीय दिलकुमारी सुनारी मगरले सुनाइन् । उनले भनिन्– गाउँमा सत्यवती बजैको मन्दिर र ताल छ । महिनावारी हुँदा त्यहाँ जाने र छुने चलन पटक्कै छैन । महिनावारी हुँदा छोइछिटो बार्ने पुरानो चलन अझै कायम छ ।
यहाँका महिलाहरू महिनावारी हुँदा मन्दिर र तालका वरिपरि जाँदैनन् । बजै रिसाउने डरका कारणले पनि यहाँका मगर महिलाहरूले महिनावारी बार्ने चलनलाई अनिवार्य पालना गर्दै आएको सत्यवती मन्दिर तथा ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाको भनाइ छ ।
पूर्णबहादुर खाम्चाले भनें– हाम्रो गाउँमा महिनावारी भएको तीन महिनासम्म गर्भवती भएको एकीन नहुने भएकोले पूजापाठ नरोकेपनि चौथो महिना वा गर्भवती भएको ठहरिएपछि धार्मिक कामकाज पूर्णरूपमा रोकिन्छ । उनका अनुसार महिला गर्भवती भएको समयमा घरमा कुनैपनि पूण्यकाम गरिदैन । कूलपूजा लगायतका सबै पूजाआजा ठप्प हुने रहेछन् । कसैका घरबाट ल्याइएका पूजाका प्रसादी समेत गर्भवती र उनका श्रीमानले खाने चलन नहुने पूर्णबहादुरले बताए ।
बच्चा जन्मिएपछि ११ दिनमा न्वारान गर्ने चलन उनको गाउाँमा अद्यावधि नै छ । यो चलन उनको गाउँमा कायम रहेको बताउने पूर्णबहादुरले सुत्केरीलाई अँध्यारो कोठामा सुताउने चलन आफ्नो गाउँघरमा नरहेको बताए । सुत्केरी आमालाई मासु, घ्यू र तात्तो झोल र मिठो मसिनो खुवाउने चलन रहेको बताउँछन् । ११ दिनमा घरलाई गोबरले लिपपोत गर्दै सुत्केरीलाई गहुँत खुवाएर चोखाउने चलन जीवित रहेको उनले बताए । न्वारानका विहान पण्डितकहाँ कुटुम्ब (छोरीज्वाइँ, बहिनीज्वाइँ लगायत) ले गहुँत मन्त्राएर वा फुकेर ल्याएपछि उक्त गहुँत सुत्केरी र उनका श्रीमानलाई खुवाउने चलन हुने रहेछ । ती कुटुम्बहरूले बच्चाका आमाबाबाका हातमा पँहेलो डोरी र बच्चाका हातखुट्टामा पहँलै डोरी बाँधिदिने चलन आज पनि कायम रहेको सुनाए । सन्तानको नाम भने घरका जेठाबाठा वा पण्डितले राख्ने चलन रहेछ ।
अचेल उनको गाउँमा छैंटी गर्ने चलन हराएको सुनाए । तैपनि सो संस्कार बारेमा उनलाई धेरै कुरा याद रहेछ । विशेषगरी छोरा जन्मिएको छैटौं रातमा गाउँलेहरूको उपस्थितिमा नाँचगान चलन र सुत्केरीलाई बधाई एवम् सन्तानको बाउलाई अबीर घसिदिने चलन हुँदोरहेछ । रमाइलो गर्ने,खानपिन गर्ने र बधाईज्ञापन गर्ने चलन नै छैंटी रहेछ ।
छोरी ५ महिना र छोरा ६ महिना पुगेपछि मगरजातिमा भातखुवाई वा पास्नी गर्ने चलन रहेछ । आफन्ती,इष्टमित्र र छिमेकीहरूलाई बोलाएर भातखुवाई गर्ने चलनमा अचेल भद्दा संस्कृति थपिएको उनको तर्क छ । गाना,बजाना र खाइपिइले यो चलन महँगो र भद्दा हुँदै गएको उनको चिन्ता छ । खास गरी बच्चाहरूलाई दूधको मात्रा नपुगेर खानाको थप आवश्यकता पर्न थालेपछि नै भाइखुवाइँ गर्नुपर्ने भएको उनको तर्क जायज छ । अन्न, भात, खाना खुवाएर मुख जुठो गराउने परम्परागत चलन नै भातखुवाई रहेको उनको भनाइ छ ।
मगरजातिमा छोराको छेवर गर्ने चलनमा यतिबेला छोरीलाई गुन्यूचोलो दिने चलन पनि थपिएको पूर्णबहादुरको भनाइ छ । छोरीको उमेर पाँच वर्ष पुगेपछि घरका परिवारले छोरीलाई गुन्यूचोलो दिने चलन आएको नयाँ संस्कारलाई मगरजातिमा उत्तम मानिएको रहेछ । अर्थात् समानताको प्रतीक मानिदोरहेछ । छोरालाई पूरै ६ वर्ष पुगेपछि मामाले कपाल काटेर छेवर गरिदिने चलन रहेछ । बच्चाले जन्मिदेखि छेवर नगरुञ्जेल कपाल काट्ने चलन नहुँदोरहेछ । यतिबेला मामापट्टिकाले कपाल काटिदिने,शिरदेखि पाउसम्मका पोसाक ल्याएर लगाइदिने चलन हुँदोरहेछ । नसक्ने मामाहरूले कपाल काटेर भाञ्जालाई टोपीमात्र लगाइदिए पनि यो संस्कारबाट दीक्षित हुन सकिने खाम्चा मगरले सुनाए । छेवरमा ईष्टमित्र वा छरछिमेकलाई बोलाएर भोज खुवाउने चलन कायमै रहेछ । यो चलनलाई कर्म चलेको संस्कारका रूपमा लिने प्रचलन रहेको उनले उल्लेख गरे ।
मगरजातिमा मागी र भागी विहेलाई उस्तै प्राथमिकता दिने संस्कृति रहेछ । तरपनि भागी विहेलाई पौरखी विहेका रूपमा लिने चलन पनि रहेछ । खास गरेर मगरजातिमा मामाकी छोरीलाई साली भन्ने चलन हुन्छ । सालीलाई भगाएर ल्याएमा पुरुषार्थ ठानिदोरहेछ । हुन त कहिकतै जारीविहे, भाउजु स्याहार्नुपर्ने अवस्थाका विहे नभएका पनि होइनन् । तैपनि मगर संस्कृतिमा मामाकी छोरीलाई विहेका निम्ति पहिलो प्राथमिकतामा राखिन्छ । गुरुङजातिमा जस्तो फुपूकी छोरी रोजीरोजी, मामाकी छोरी खोजीखोजी भन्ने चलन भने मगरजातिमा नरहेको उनले बताए ।
मगरजातिमा भगाएर विहे गरेपछि ढोगभेट गर्ने चलन छ । केटीलाई भगाएर ल्याएको तेस्रो दिनमा केटापक्षले ठेकी लिएर केटीपक्षकहाँ ढोगभेटको सोधनी गर्न जानुपर्ने पारम्परिक संस्कार रहेछ । त्यसो हुँदा केटीपक्षले आफ्नी छोरी कहाँ कसरी, कहिले पुगेको सूचना प्राप्त गर्ने रहेछन् । साथै केटापक्षले कहिले ढोगभेट गर्ने, कतिका दरले रक्सी, सेल, मासु, बारा(बटुक) ल्याउने, कति जन्ति ल्याउने भन्ने कुराका बारेमा समेत ठेगान लगाउने ( मिति तय गर्ने ) चलन पुरानै रहेछ । केटा र केटी पक्षका आर्थिक हैसियत, सामाजिक परिवेश र समय सुहाउँदो दररेट कायम गर्ने गरी सहमतिमा ढोगभेट टुंगो लाग्दोरहेछ ।
विहेमा गच्छे अनुसारको विहे भोजको आयोजना हुँदोरहेछ । आफन्ती, इष्टमित्र र छरछिमेकीलाई बोलाएर भोज खुवाउने चलनमा सम्भव भएमा बाजा समेत थपिदोरहेछ । विहे पटकपटक नगरिने र एकैपटक गरिने चलन भएकाले कसैकसैले त भव्य भोज खुवाउने चलन भएको ७६ वर्षीय खाम्चा मगरले सुनाए । कोहीकोहीले त विहेमा दारूपानीले मुख धुन समेत भ्याउने गरेको हाँसो गर्दै सुनाए ।
जन्मदेखि मृत्युसम्मको संस्कार आआफ्ना जातिमा आ–आफ्नै चलन छन् । मगरजातिमा मृत्युहँुदा १३ दिन नै किरिया बस्ने चलनमा यतिबेला परिवर्तन आएको कुरा पूर्णबहादुरले बताए । अचेल उनका गाउँमा मगरहरूले सात दिनमै किरिया उम्काउन थालेको सुनाए । उनले हाँस्दै भनेका थिए–मेरा छोराबुहारीले पनि अब म मर्दा सातै दिन त गर्लान् किरिया ? यसमा उनको मिश्रित प्रतिक्रिया थियो । किरिया गर्दा १० दिनमा फोर्ने ढिकुरो, सात दिनमा किरियाबाट उम्किदा कति दिनमा फोर्ने हो ? उनको जिज्ञासा मतिर पो तेर्सिएको थियो ।
यतिबेला किरिया संस्कारलाई प्रगतिशील तरिकाले व्यवस्थापन गर्नुपर्छ भन्ने धेरैको तर्क छ । तर यो संस्कारलाई व्यवस्थापन गर्न थोरै जातिमात्र तयार रहेकामध्ये मगरजति देखिएका छन् । किरिया गर्दा सेता कोरा भिर्नुपर्ने,खाली खुट्टा बस्नुपर्ने वा हिड्नु पर्ने, परालमा बस्नुपर्ने, खानामा पनि कडा अनुशासन कायम गर्नुपर्ने कुराले किरियापुत्रीहरूमा देखिने स्वास्थ्य समस्या जटिल बन्दै गएको छ । त्यसैले किरियाजस्तो अनुत्पादक कामलाई छिटोछरितो व्यवस्थापन गरी छिटै उत्पादक काममा फर्किनुपर्नेमा सबैको राय,सुझाव मननीय छन् तर बिरालोको घाँटीमा कसले घण्टी बाँध्ने भन्ने मुख्य कुरा कायमै छ ।
मृत्यु अवस्यमभावी छ । मृत्यु अप्रिय कुरा हुन् । तैपनि आफन्तीका मृत्युले घर परिवारलाई पक्कै पनि दुखी बनाएको हुन्छ । चिन्ति तुल्याएको हुन्छ । तैपनि मृत्युको पीडावोध गर्दै शोकलाई शक्तिमा रूपान्तरण गर्नुको विकल्प हुँदैन । मगरजातिमा जन्मदेखि मृत्युसम्म भेटिने अनेक संस्कार छन् । ठाउँ, परिवेश अनुसार फरक हुनुलाई अन्यथा लिन सकिदैन ।
मगरजातिले आफ्ना शुभकर्महरूमा रमाइलो गर्ने खालका अनेक सांस्कृतिक कार्यक्रमलाई औल्याएका पाइन्छन् । झ्याउँरे, ठूलोनाँच, जालै जो, टप्पा, सोरठीले मगरजाति संस्कृतिमा धनी जाति हुन् भन्ने कुराको सन्देश दिन सकिन्छ । ती सांस्कृतिक कार्यक्रममा पहिरिने पोसाक र बजाइने बाजागाजाको कलात्मक प्रयोगले समेत मगरजातिलाई सांस्कृतिक रूपमा धनी बनाएको पाइन्छ ।
निचोड :
– मगर जातिमा रहेको एकतालाई जीवित राख्न सकिएमामात्र पनि नेपाली समाजमा दूरगामी प्रभाव पर्न सक्छ ।
– आदिवासी जनजातिको खम्बाको रूपमा रहेको मगर जातिको वर्तमान उन्नति र प्रगति लोभ लाग्दो देखिन्छ । यसलाई थप उचाइँमा पुराउन निरन्तर गतिशील हुनुपर्ने देखिन्छ ।
– मगर जातिमा रहेको (गर्भावस्थादेखि मृत्युसम्मको) संस्कार, संस्कृतिको खोज, अध्ययन र अनुसन्धान गहन हुनुपर्ने देखिन्छ ।
– बहादुर र बीरमात्र होइनन् मगरजाति, बुद्धिमान र विवेकशील छन् भन्ने कुरालाई सबैका माझ प्रस्तुत गर्न मगरहरू शैक्षिक एवम् प्राज्ञिक कर्ममा समेत निरन्तर क्रियाशील हुनुपर्ने देखिन्छ ।
– मगर जातिमा रहेका बहुसांस्कृतिक र बहुधार्मिक एकतालाई एउटै डोरोमा अविछिन्न रूपमा बाँधिरहने तन्तुलाई जोगाइ राख्न सकिएमा भविष्यमा मगरजाति नेपालको सन्दर्भमा सर्वोकृष्ट जातिको रूपमा स्थापित हुन सक्ने देखिन्छ ।
सन्दर्भ सामग्री :
प्रारम्भिक भेटघाट र कुराकानी : पाल्पा तिनाउ वडा नं. ५ मरामकोटका ७६ वर्षीय पूर्णबहादुर खाम्चा मगर । उनी साविक मस्याम गाविसका गाविसअध्यक्ष समेत हुन् ।
पूर्वीपाल्पाको पूर्वखोला गाउँपालिका वडा नं. २, जल्पा, ढोलीमाराकी माया राना, मगरसँग महिनावारीका विषयमा प्रत्यक्ष भेटघाट गरि गरिएको कुराकानी ।
हाम्रो गोरेटो, राष्ट्रिय मासिक पत्रिका ( वर्ष : ८,अंक : ७, असोज, २०७८ मा उमेश राना ‘गोर्खाली’ द्वारा लिखित लेख : राष्ट्रिय जनगणना २०७८ र मगर समुदाय )
हाम्रो गोरेटो राष्ट्रिय मासिक पत्रिका ( वर्ष : ९,अंक : ५, असोज, २०७९ मा रामबहादुर थापा मगरद्वारा लिखित लेख : स्थानीय सरकार र आदिवासी जनजातिका सवाल । )
मगर जातिसम्बन्धी लेखिएका विभिन्न लेखहरू ।
पाल्पा, तिनाउ गाउँपालिका वडा नं. ४ सत्यवती क्षेत्रमा रहेको सत्यवती मन्दिर तथा ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहा मगर र उनकी दिदी दिलकुमारी सुनारी मगरसँग २०८१ पौष १० गते मंगलवार दिउँसो गरिएको टेलीफोन वार्ता ।