Butwal Today

सबै संस्कृतिको रक्षा हुँदा मात्र नेपाली संस्कृतिको रक्षा हुन्छ । – पूर्वप्रधानमन्त्री देउवा

२६ माघ २०८१, शनिबार
अ+
अ-

दाङ,२६ माघ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले थारु संस्कृतिसहित सबै संस्कृतिको जर्गेनामा राज्य लाग्ने बताएका छन् । दाङको चखौरामा अन्तरप्रदेश स्तरीय थारु सांस्कृतिक सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले नेपाल देशको पहिचान नै संस्कृतिहरु भएको हुदा यसको जर्गेना जरुरी रहेको बताए । मुलुकमा प्रचलित सबै संस्कृतिको समष्टि रुप नै नेपाली संस्कृति रहेको बताउँदै सभापति देउवाले सबै संस्कृतिको रक्षा हुँदा मात्र नेपाली संस्कृतिको रक्षा हुने दावी गरे ।

नेपाल विविध भाषाभाषी, धर्म संस्कृतिका मानिसको बसोबास हुने देश हो । यहाँ हरेक जातिका आफ्नै मौलिक संस्कृति छन् । सबै संस्कृतिको समष्टि रुप नै नेपाली संस्कृति हो”, सभापति देउवाले भने, पश्चिम नेपालको तराईमा बसोबास गर्ने थारु जातिको संस्कृतिले फरक विशेषता बोकेको छ । थारु संस्कृतिको जघेर्नामा राज्यले विशेष योजना बनाउनु पर्छ ।
उक्त अवसरमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले परम्परागत मौलिक कला संस्कृति संरक्षण गर्दै त्यसलाई समुदायको आयआर्जनसँग जोड्नुपर्ने बताए । थारु समुदायको मौलिक कला, संस्कृति संरक्षण गर्दै त्यसलाई आर्थिक आम्दानीसँग जोड्न आवश्यक रहेको बताए । ‘‘हाम्रा मौलिक कला संस्कृति संरक्षण गर्दै त्यसलाई समुदायको आर्थिक आम्दानीसँग जोड्न जरुरी छ’’, उनले भने, ‘‘प्रदेश सरकारले थारु सांस्कृतिक संग्रहालय, होमस्टे सञ्चालनजस्ता कार्यलाई प्राथमिकतामा राखेको छ । साथै, समुदायमा सिप हस्तान्तरणलाई समेत प्राथमिकतामा राखिएको छ ।’’ मुख्यमन्त्री आचार्यले थारु समुदायको प्रत्येक क्षेत्रमा प्रतिनिधित्व सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । निजामती सेवामा थारु समुदायको १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी गराउँदै उनले लोकसेवा आयोगले गर्ने विज्ञापनमा दरखास्त दिएर सहभागी हुन आह्वान गरे । संघीय सरकारले समानीकरण अनुदान नपठाउँदा प्रदेश सरकारले समस्या भोगिरहेको छ । म सभापति ज्यूमार्फत यो समस्या राख्न चाहन्छु, उनले भने ‘संघीय सरकारले छिटोभन्दा छिटो समानीकरण अनुदानको रकम पठाउन जरुरी छ ।’

त्यस्तै, मुख्यमन्त्री आचार्यले हुलाकी राजमार्गको निर्माण कार्यलाई तीव्रता दिन संघीय सरकारको ध्यानाकर्षण गराए । ‘लुम्बिनी प्रदेशको नवलपरासीदेखि बर्दियासम्म हुलाकी राजमार्ग पर्छ । तर, यो सडकको निर्माण कार्य अपेक्षाअनुसार अघि बढ्न सकेको छैन । यसलाई तीव्रता दिन यहाँहरूको साथ आवश्यक छ’, उनले भने।
त्यसैगरी, लुम्बिनी प्रदेशको राजधानी क्षेत्र दाङ देउखुरीमा सुविधा सम्पन्न हवाई सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याउँदै उनले तुलसीपुर विमानस्थलको विस्तार अपरिहार्य रहेको बताए ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?