© २०२३
बुटवल। लुुम्बिनी प्रादेशिक अस्पतालको डायलाइसिस कक्षमा भेटिएकी सम्झना नेपाली उमेरले बल्ल ३० वर्षकी भईन । उपचारका लागि अर्घाखाँचीको जलुकेबाट आएकी उनी काखमा दुधे सन्तान च्यापेर टोलाईरहेकी थिईन । रोगसंगै जुध्दै जीवनलाई सार्थक तुल्याउने लडाईमा रहेकी सम्झनाले दुध चुस्दै गरेकी डेढ वर्षकी सानी छोरीको मायाले बाँच्ने हिम्मत लिइरहेकी देखिन्थिन् ।
केही महिना अघिसम्म तीन सन्तानकी उनी दैनिक मेला पात र घरको काम हो । मजदुरीका लागि भारतमा रहेका श्रीमानको सामान्य कमाईले दैनिकी चलेको थियो । छोराछोरी पढाउने र मिठो मसिनो खानलाई पुगेको थियो । सम्पतिका नाममा सानो खरको छानो भएको घर र ऐलानी केहि जमिन छ अर्घाखाँचीको जलुकेमा । त्यहि छानोले वर्षातको पानी र हिउँदको हावाहुरी छेकेको थियो । दिनभरीको मेलापात र साँझको मिठो मसिनो खाएर सन्तानको भविष्य कोर्ने दौडमा हिडिरहेकी सपनालाई आजको यो दुःख आउला भन्ने कल्पनै थिएन ।
गाउँका ठूला बडाहरूको मेलापात गर्ने, छोराछोरीको स्यहारसुसार गर्ने सम्झनाले आफ्ना सुखका दिन आउछन् भन्ने आशा थियो । छोराछोरी हुर्किदै थिए । दुःख–सुख गरेरै भएपनि सन्तानलाई पढाउने र ठूलो मान्छे बनाउने सपना बोकिरहेकी सम्झना गत असार महिनामा बिरामी परिन् । उनी भन्छिन्, “एक्कासी पेट दुख्न थाल्यो । केहि समयपछि फेरी टाउको पनि दुख्न थाल्यो । केहि सामान्य होला भनेर कसैलाई केहि भनिन । तर पछि रिंगटा पनि लाग्न थालेपछि भारतमा भएका श्रीमान र कपलिबस्तुमा रहेका बुबा आमालाई सुनाए । औषधी गर्न अर्घाखाँचीबाट कपिलबस्तुको मेडिकलमा आए । त्यहाँ सामान्य उपचार गरे मलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा जान सल्लाह दिए । म र श्रीमान भएर उपचारका लागि यहाँ आउँदा डाक्टरबाट मेरा दुबै मृगौलाले काम गर्न छाडिसकेको जानकारी भयो ।”
एक छिन टोलाउदै सम्झनाले सुनाईन्, “यो सुन्दा आकास खसे जस्तै भयो । म कहाँ छु भन्ने पनि थाहा भएन । डाक्टरले भनेको कुरामा विश्वास पनि भएन । तर के गरु भगवान मेरो दुःखमाथि अझै दुःख थप्ने काम गरे भनेर चित्त बुझाए । म दुःखीको घरमा फेरी अर्को बर्जपात आई लाग्यो ।”
उनी भन्छिन्, “के गर्ने हामीसँग पैसा छैन् कसरी उपचार गर्ने केहि सोच्न सक्ने थिएनौं । माईती बुबा आमा र भाइहरूले सहयोग गरेका छन् । असारबाट आहिलेसम्म आईपुग्दा ८ देखि ९ लाख रुपियाँ खर्च भईसक्यो । गाउँका साथीभाईहरूले चन्दा उठाएर ९० हजार रुपियाँ दिनु भएको हो । सुरुमा एक महिना १५ दिन अस्पतालमा नै बसेर उपचार गरेकोे त्यसबेला त्यति रकम खर्च भई सक्यो । अब हप्तामा दुई पटकसम्म डायलाइसिस गर्नुपर्छ औषधी खानुपर्छ । पैसा छैन । कहाँबाट खानु औषधी सोच्दा नि मर्न सजिलो होला जस्तो लाग्छ । फेरी छोरा छोरी त्यस माथि दुध खानी यो सानी छोरी छ, मायाले मन पोल्छ । रात भरी निद लाग्दैन ।” सम्झना बिरामी परेपछि श्रीमान् पनि उनकै रेखदेखमा यहि छन् । उपचारका लागि कसैले सहयोग गर्छन्की भनेर हिडिरहन्छन् ।
सम्झनाका श्रीमान भन्छन्, “श्रीमतीको उपचार गर्नकै लागि भनेर अर्धाखाँचीको जलुके छाडेर केहि दिनदेखि बुटवलको मैनाबगरमा एउटा सानो कोठा लिएर बस्न थालेको छु । हप्तामा दुई पटक आउजाउ गर्न असहज भयो । त्यस माथि साना छोराछोरी । अहिले यहि बसेर उपचार गर्ने र आफूलै दैनिकी मजदूरी गर्ने गरेका छन् ।” उनी थप्छन्, “काम पाउँदा गर्छु नपाउँदा त के गर्नु । तैपनि श्रीमतीको उपचारका लागि केहि एक हप्तामा दुईचोटी डायलाइसिस गर्न तीन हजार रुपियाँ चाहिने रहेछ, औषधी त छुट्टै छ । त्यसै जोहो गर्न सक्छु कि भनेर दिनरात काम गरिरहेको छु । श्रीमती बिरामी परेपछि छोराछोरी पढाउन पनि सकस भएको छ । जेठो छोरोले मामा घर बसेर पढेको छ । माईली छोरी पनि पढाउन मन छ तर कहाँ कसरी पढाउने भन्ने चिन्ता छ । पहिलो कुरा उपचार हो त्यसपछि अरू सोचम्ला भनेर यहाँ आएका छौं ।”
उता गाँउमा सबैले सहयोग गरेर गाँउपालिकाले महिनामा पाँच हजार रुपिया दिने भएको छ । त्यो पैसाले पनि ठुलो राहत महसुस गरेका छौं । नेपाली भन्छन्, “श्रीमती बिरामी नहँुदासम्म त सामान्य घर चलेको थियो अहिले समस्या भयो । कसरी हामी बाँच्ने हो भन्ने चिन्ता थपिएको छ । सरकारले अरू नभएपनि उपचार र औषधी निःशुल्क गरिदिए हुनेथियो जस्तो लाग्छ । श्रीमतीलाई बचाउन पाए त यि साना नाबालक छोराछोरीले पनि सुखको सास फेर्न पाउथेकी । तर खै कसरी श्रीमती बचाउने हो ? भन्ने चिन्ताले मन पागल जस्तै हुन लागेको छु ।”
नेपाली दम्पती अहिले उपचारका लागि बुटवलमा कोठा लिएर बसिरहेका छन् । हप्तामा दुई पटकसम्म डायलाइसिस गर्न आउनुपर्ने भएकाले पनि उनीहरू उपचारका लागि अस्थायी बसाई सरेका हुन् । अहिले उनीहरूसँग न खानका लागि रासन छ, नत उपचारका लागि पैसा नै । दैनिक मजदूरी गरेर कमाई हुने पैसा नै खाने, बस्ने र उपचार खर्च जोहो गर्नुपर्ने बाध्यता छ । यो बाध्यताको बीचमा रहेका ति कलिला ३ बालबालिकाहरूको अवस्था अझै दयनीय छ । उनीहरूको पढाई त परको कुरा खाने बस्ने टुङ्गो छैन । नेपाली दम्पत्तीलाई आजभोली भगवानसँग पनि भरोसा टुट्न थालेको छ ।