© २०२३
दाङ, २५ माघ।
केही समय अगाडि सरकारी विद्यालयमा बालबालिका पठाउन अभिभावक हिचकिचाउने गर्दथे। अहिले समय फेरिएको छ। सामुदायिक विद्यालयको शिक्षामा सुधार आएसँगै विद्यार्थी संख्या बढ्न थालेको छ। सामुदायिक विद्यालयमा समेत अङ्ग्रेजी माध्यममा अध्यापन गरिन थालेपछि विद्यार्थीको चाप बढ्न थालेको हो। दाङको घोराही उपमहानगरपालिका–६ मा रहेको श्री जाजरागाउँ माध्यमिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ। ६५ वर्षमा प्रवेश गरेको सो विद्यालयमा विद्यार्थीहरू भरिभराउ भएका छन्। गत वर्ष पाँच सय १३ जना विद्यार्थी भर्ना भएकोमा यो वर्ष विद्यार्थी संख्या बढेर पाँच सय २७ जना पुगेका छन्। विद्यालयका प्रधानाध्यापक तिलप्रसाद घर्तीले विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुने गरेको बताए। उनले विद्यालयमा २२ जना शिक्षक कर्मचारी संख्या रहेको र यो अपुग भएको बताए। गत वर्ष भन्दा विद्यार्थी संख्या बढेको र विद्यार्थी र अभिभावकलाई विश्वास पनि बढेको छ, उनले भने। विद्यार्थीको चाप बढ्दा कक्षा कोठाको अभाव हुन थालेको छ, उनले भने, “गाउँको सामान्य विद्यालयको पढाइ राम्रो भएकाले विद्यार्थी र अभिभावकको विश्वास बढेको हो।” “आएका विद्यार्थीलाई फर्काउन पनि नसकिने, सीमित स्रोतसाधनका बीच अध्यापन गर्नुपर्ने बाध्यता छ।” विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन हुनु, शैक्षिक गुणस्तर राम्रो भएकाले पनि अभिभावकको रोजाइमा सामुदायिक विद्यालय परेको हो। मावि विद्यालय पढ्नका लागि घोराही बजार नै आउनुपर्ने बाध्यता हटेको छ।
सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष भेषराज शर्मा खनालले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढेको बताए। उनले भने, विद्यालयमा गत वर्ष भन्दा यो वर्ष विद्यार्थीको संख्या बढेको छ। कक्षा ११ र १२ पढाइ हुन थालेपछि विद्यार्थीहरूमा आत्मविश्वास बढेको हो। घरमै बसेर छेउको विद्यालयबाट १२ पास गर्न पाउँदा विद्यार्थी र अभिभावकलाई दुबै खुसी भएका छन्। अपाङ्गमैत्री विद्यालय भएकाले शारीरिक अपाङ्ग भएका विद्यार्थी पनि अध्ययनका लागि आउने गरेको उनले बताए। विभिन्न २० जना भन्दा बढी दाताहरूले पुरस्कारका लागि अक्षयकोष स्थापना गर्नु भएको छ। उहाँहरूले स्थापना गरेका पुरस्कार प्राप्त गर्ने विद्यार्थीलाई पढाइमा प्रोत्साहन बढेको छ।
घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले घोराहीमा ९३ वटा सामुदायिक र ७७ वटा संस्थागत विद्यालय रहेको जानकारी दिए। सबै सामुदायिक विद्यालयमा प्रधानाध्यापकको व्यवस्थापन गरेको र प्रअले विद्यालयको शैक्षिक सुधार गर्ने गरेकोले पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको बताए। पालिकाले शिक्षा ऐन निर्माण गरेर काम अगाडि बढाएको छ, उनले भने। पालिकाभरका २८ वटा मावि र १४ वटा निमावि विद्यालयमा पनि पढाइ राम्रो रहेको उनले बताए। समय समयमा पालिकाबाट अनुगमनमा जाने र विद्यालयको गतिविधिका बारेमा जानकारी लिने गरेको उनले बताए। विद्यार्थी भन्दा शिक्षक धेरै भएका विद्यालय मर्ज गरेर सबै सामुदायिक विद्यालयमा विषयगत शिक्षक राखिएको उनले बताए। विद्यालय र नगरपालिकाको सहलगानी गरेर धेरै जसो विद्यालयमा बसको व्यवस्थापन गरेको उनले जानकारी दिए। उनले भने, सामुदायिक विद्यालयका विद्यार्थीलाई उत्साहित गर्नका लागि डाक्टर र इन्जिनियर पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको बताए। डाक्टर पढ्ने विद्यार्थीलाई पाँच लाख र इन्जिनियर पढ्ने विद्यार्थीलाई तीन लाख छात्रवृत्ति दिने गरेको मेयर चौधरीले जानकारी दिए।