© २०२३
काठमाडौं, २५ माघ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको निलम्बन फुकुवा गर्ने माग गरेको छ।सहकारी ठगी प्रकरणमा पक्राउ परेका र चार स्थानबाट धरौंटीमा रिहा भएका सभापति लामिछानेको सांसद पदको निलम्बन फुकुवाको माग गरिएको हो।प्रतिनिधि सभाको जारी बैठकमा बोल्दै कार्यवाहक सभापति र सांसद डीपी अर्यालले यस विषयमा माग राखेका हुन्। उनले भने, “पूर्वाग्रही तरिकाले थुनामा राखिएका र अहिले धरौंटीमा रिहा भएका हाम्रा सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न माग गर्दछु।”
सांसद अर्यालले लामिछानेमाथि सरकारको प्रतिशोधको प्रयास भइरहेको दावी गर्दै सदनले पनि यसलाई समर्थन गरेको अनुभूति रहेको बताए। उनले थपे, “यदि लामिछानेको निलम्बन फुकुवा नगरे, त्यसको मुल्य महँगो पर्ने छ।”
लामिछानेमाथि विभिन्न सहकारीहरूसँग ग्यालेक्सी टिभीमा रकम लगेको आरोपमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा चलिरहेका छन्। यसै प्रकरणमा सभामुख देवराज घिमिरेले लामिछानेको पद निलम्बन गरेका थिए। तथापि, लामिछाने कास्की, काठमाडौं, रूपन्देही र चितवनबाट २ करोड रुपैयाँ भन्दा माथी धरौंटी दिएर रिहा भइसकेका छन्।