© २०२३
उमेश निकै वेरदेखि गाउँको बाटोको किनारमा ओहरदोहर गरिरहेका थिए । यो दृश्य केही क्षण उभिएर मैले नियाँले । उनी एकोहोरो यताउता गरेको कारण थाहा हुन सकेन । उनको मुहारमा कतिवेला आक्रोस झल्कन्थ्यो भने कतिवेला निराशाको भाव देखिन्थ्यो । उनको ओहर दोहरको कारण सोध्न मन लागेर केही कदम अगाडि बढें तर बीच बाटोमा उभिएँ । उनको नजिक पुग्न मन नलागेर केही कदम फिर्ता भएँ । उनलाई हेर्दै विचार गरेँ आज हाम्रो साथीलाई के भएको होला ? कहिले यस्तो अवस्थामा कारण सोध्ने गर्दा झर्कने पनि हुनसक्छ भन्ने लागेर म फिर्ता भएको थिएँ । उमेशलाई घरायसी उल्झन पनि हुनसक्छ । उनको चिन्ता टाढा गराउन सकिने पनि त हुन सक्छ भनेर पुनः अगाडि बढें । उमेश विद्यार्थी कालदेखि राजनीतिमा संलग्न हुँदै आएका हुन् । उनले राजनीतिको थालनी गर्दा हाम्रो मुलुकमा निरंकुश व्यवस्था थियो । दलका राजनीतिक गतिविधि सबै भूमिगत हुनेगर्थे । उमेशले पनि त्यही राजनीतिमा सघाएका एक पाका व्यक्ति हुन् । बहुदलीय व्यवस्था पुनः स्थापना भएपछि अरूहरूसंगै उनी पनि खुलारूपमा रहेर राजनीतिमा संलग्न भए । उनी पहिले जुन कमिटीमा बसेर काम गरेका थिए, त्यो कमिटीमा नयाँ साथीहरूको आगमन भयो । उनी किनारा लागे । कहिलेकाहीँ निर्वाचनको समयमा उनलाई बोलाइन्छ । त्यो भन्दा उता उमेशसंग कुनैपनि पार्टी कार्यकर्ताले सम्पर्क गर्दैनन् । सामान्य सभा समारोहमा खवर पाएसम्म आफै पुग्छन् । पुराना साथीहरूसंग भेट हुँदा सबैको गुनासो एकै खालको हुन्छ । “हामी भूमिगतकालमा काम गरेकाहरूलाई आजभोली सानो सोधपुछ पनि हुँदैन, अरू मान सम्मान त परै छ । अहिले त आफै जमिनबाट पार्टी उम्रिएको हो र हामीले सहजरूपमा यसको उपयोग गर्नुपर्दछ भने जस्तैगरी आजभोलीका कार्यकर्ता लाग्ने गर्छन ।” उनीहरू आपसमा बसेर यस्तै कुरा गर्ने गर्छन् । राजनीतिमा सायद यस्तै हुन्छ होला ? एउटाले अर्कोलाई पछाडि धकेल्ने अनि आफू अगाडि बढ्ने । जहाँ कहीँ यस्तै दृश्य देखिन्छ । उमेश मात्र नभएर उमेश जस्ता धेरैको गुनासो यस्तै सुनिन्छ । तर आज किन उमेशमा वेचैनी बढ्यो थाहा भएन । सोध्न समेत मेरो हिम्मत भएन । निकै वर्ष अघिदेखिको साथ संगत भए पनि कहिलेकाहीँ यस्तै संकट हुँदो रहेछ । सायद आजको उनको वेचैनी वेग्लै विषय पनि हुन सक्छ । भनेर पुनः नजिक जान मन लाग्यो ।
उमेश आफ्नै गाउँको बाटोको किनारमा यताउता गरेको दृष्य अलिक रहस्यमय लाग्यो । अनि फेरी साथीसंग सोधपुछका निम्ति निकट पुगें । उनले मेरो निकटतालाई त्यति रुचाएको जस्तो भाव देखिएन । नजिक गएर बोलाउन त बोलाएँ तर के भन्न्ने होला फेरी मनमा अलमल जागेर आयो । मेरो मनमा लागेको कुरा उनको चिन्तन भन्दा फरक रहेछ । मैले बोलाएपछि उमेशको मुहारमा अलिक चमकता देखियो । उनको मुहार पढेर मेरो मनमा केही हर्षले छायो । दुबैले कसिलो हात मिलायौं । उमेशले आफ्नो मुख खोले । म तिर औला ठड्याएर भने “यो के भएको ?” उनको कुरा नबुझेर के जवाफ दिनु ? उनले यो के भएको भनेर प्रश्न त गरे तर प्रश्न अस्पष्ट हुन पुग्यो । मैले विचार गरें उमेशको आक्रोश वास्तवमा घरायसी रहेनछ । उनले वास्तवमा वर्तमान अवस्थाबाट चिन्तित रहेछन् । दुबैजना बाटोको किनारमा बसेर गफ गर्न लाग्यौं । गाउँको बाटो भएर होला गाडीहरू खासै चलेका थिएनन् । फाट्टफुट्ट बाइक र स्कुटर केही कुदेका थिए । बाटो पक्की भएको हुनाले धुलो धुँवाको डर थिएन । त्यसैले दुबैजना बसेर गफ चल्न थाल्यो । उनले आफ्ना मनका सारा कुरा ओकले अनि मसंग जवाफ मागे । उनका जस्तै कुरा अरू साथीहरूबाट पनि सुन्दै आएको हो । पुराना पाका साथीहरूको करिव एउटै खालको भनाई छ । वास्तवमा राजनीति बुझ्न गाह्रो रहेछ । हामीले विगतमा जे कुरा सुन्यौं, सिक्यौं र जे विचार सिकायौं साथमा मुलुकलाई जहाँ लैजाने भनेर सोंचेका थियौं यो मार्ग र विचारबाट जाँदैन भन्ने अव निश्चय भएको छ । जसले जतिसुकै धक्कु पिटेपनि हामीले मार्ग बिरायौं भन्ने लाग्दछ । हामीले बुझ्न नसकेको भए वेग्लै कुरा रह्यो होइन भने उमेशको गुनासो सही हो भन्ने लाग्छ । उमेशले विगत केही समययतादेखि वर्तमान अवस्थासम्मको वारेमा विश्लेषण गरेर सुनाएका थिए । अनि यसबाट के साँच्चि हामी पार लाग्छौं ? यही कडा प्रश्न गरेका थिए । उनको प्रश्नको ठोस जवाफ मैले कसरी दिन सक्छु । हामीले राजनीति बुझेनौं भन्दा साथी रिसाउने वर्तमानमा भएका गतिविधि सही छन् भनुँ भने काँचो रुखमा आगो लगाए जस्तो हुने । हामीले जनको अधिकारको वारेमा ठूला गफ गरेर झण्डै दशक वितायौं । असी प्रतिशत भूभाग हाम्रो कब्जामा छ भनेर पनि भन्यौं । अहिले हामी आफै कसको कब्जामा छौं ? हामीलाई नै थाहा छैन ।
यो अवस्थाबाट पार पाउने त अव छाँट छैन । हिंजो बाँटेका सपनाहरूका वारेमा सामान्य नागरिकले अब प्रश्न गर्न छोडि सके । किनभने उनीहरूलाई पनि राम्रोसँग थाहा छ नेतृत्व गर्नेहरू आलिसान महलमा पसिसके र विलासिता जीवनमा लागे भन्ने कुरा । उनीहरूले प्राप्त गर्नुपर्ने पद प्रतिष्ठा धनमान जे जे प्राप्त गर्नु थियो गरे, लाग्छ अव प्राप्त गर्न बाँकी केही छैन । सत्ता प्राप्ति पछि कति सदुपयोग र कति दुरूपयोग यो पनि सामान्य नागरिकले राम्ररी बुझेका छन् अनि किन उनीहरूले वर्तमान नेतृत्व वर्गबाट अव सर्बसाधारणको जीवनस्तर परिवर्तन हुन्छ भन्ने रत्तिभर विश्वास लाग्दैन । विश्वास त कामले हुने हो । समुद्र भेटनका लागि उत्तरको बाटो लागेर हुँदैन । उत्तर लाग्नु भनेको समुद्र भेटन होइन हिमाल भेटनका लागि हो । न त हिमाल भेटन दक्षिण तर्फ लागेर हुन्छ ?
उमेशले हरदिन राजनीति राजनीतिज्ञमा विकृति आएको कुराको चर्चा गर्दछन् । पहिलेका दिन भन्दा आज उनी वढ्ता वेचैनी भएको मात्र हो । मैले उमेशको चित्त बुझाउनका लागि “अहिले सबै विग्रियो भन्ने होइन । कहिले क्रान्ति पछि प्रतिक्रान्ती हुन्छ भन्ने त सुनेको हो नि । अर्को कुरा हिंजो भूमिगत कालमा देखेको सपना सबै सत्य थिएन होला । हामीले सपना अलि ठूला देख्यौं कि ? अथवा हामीलाई अलि ठूला सपना देखाईएको पनि हुनसक्छ । फेरी राजनीतिमा आकृष्ठ गर्नका लागि यस्ता सपना नबाँडेर पनि हुने थिएन । सपना राम्रो नदेखाई कसले घर गृहस्थी त्यागेर हिंडछ र ? हामी त ज्यान गए छ भने पनि मुलुकले समृद्धि पाउँछ भनेर लागेको न हो । यही सपना अलिक बढ्ता रहेछ भनेर सम्झने हो भने सामान्य चित्त बुझ्छ होला मित्र ! तर हार खानु हुँदैन, सत्य सधै सत्य हुन्छ । जीत पनि सत्यको हुन्छ । यत्ति कुरा गरेर मैले उमेशको कुममा धाप मारेँ । उमेश लामो सास तानेर मुसुक्क हाँसे । यही हाँसेको समयमा मित्रलाई छोडनु पर्छ भनेर म उठेर पूर्वतर्फ लागें । केही मिनेट पार गर्दासम्म उनले मलाई हेर्दै थिए । यसरी हेर्नुको अर्थ सायद उनले मेरो कुरामा केही विचार गर्दै थिए होलान ।