© २०२३
पाल्पा ।
रैनादेवी छहरा गाउँपालिकाको मुझुमका दोलख बहादुर कार्कीको बगैचामा गत वर्षको तुलनामा यस वर्ष सुन्तला लटरम्मै फलयो । तर, गत वर्षको तुलनामा यस वर्ष सुनतला उत्पादन बढि भएपनि उचित मुल्यमा बिक्री नहुँदा भने उनी निरास भएका छन् ।
सुन्तला खेतिका लागि पाल्पा अत्यन्तै उर्वर जमिन ठानीने भए पनि बिक्री गर्ने समयमा उत्पादन कर्ता भन्दा व्यापारीहरु हावी हुँदा यहाँका कृषकहरुमा उत्साह नभएको उनी बताउँछन् । १ सय सुन्तलाका बोटबाट राम्रो आम्दानी गरेकी छहराकी बिमला पौडेल पनि उत्पादन बढे पनि मुल्य नबढेको र यसको कुनै बिकल्प नै नभएको २, ४ वर्ष लगाएर दु.ख गरेका सुन्तला खेति गर्ने कृषकले भन्दा व्यापारीले धेरै कमाएको उनी बताउँछीन् ।
पहिला पहिला घर मै खानको लागि २,४ बोट सुन्तला लगाउने कृषकहरुले एक दशक अगाडिबाट भने सुन्तलाको व्यावसायीक खेति गर्न लागेका छन् । जिल्लाको छहरा मुझुम , मैनादी कुसुमखोला , देउराली, पुर्वखोला, बाझा, नयर, बौघा पोखराथोक गाउ बस्तीहरुमा कृषकहरुले व्यवसायीक सुन्तला खेति गर्दै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सुन्तला र सुन्तला जन्य बस्तुको खेति प्रर्वद्धनका लागि प्रदेश सरकारले अनुदानको कार्यक्रम ल्याएपछिको समयमा अभियानका रुपमा यसको क्षेत्र बिस्तार संगै उत्पादनमा बृद्धि भए पनि समय अनुरुप मुल्य वृद्धि हुन नसकेको पुर्वखोलाका पुराना तथा अगुवा कृषक इश्वरी खनाल बताउछन् ।
कार्तिक महिनाको अन्तिम हप्ताबाट बजारमा आउन सुरु हुन्छ । कुनै कुनै कृषकले मंसिरको दोस्रो हप्ता सम्ममा बिक्री गरी सक्दछन् । पछिसम्म बोट मै सुन्तलाका दाना राख्न हुदैन किनभने आउने वर्षका लागि उत्पादनमा ह्रास आउने गर्दछ । यो प्रजाती एकै पटक पाक्ने र त्यसै समयमा मौसम पनि चिसो नै हुने र त्यसैले होला त्यती खेर मुल्य नै हुदैन । यस वर्ष ४० देखि ६० रुपैया प्रति के.जी सम्ममा व्यपारीलाई बिक्री गरेको कृषकहरु बताउँछन् । काँचोमा बिक्री गर्न भएन, पाक्दासम्म पर्खदा मुल्य नै हुदैन । टिपेर भण्डारण गर्न शित भण्डार नै छैन ।
सुन्तला खेतिले जिल्लामा राम्रो पहिचान बनाउन सफल भयो । त्यसका लागि स्थानिय सरकार, कृषि ज्ञान केन्द्र पाल्पा, सुन्तला जात फलफुल बिकास केन्द्र सबैको सहयोगका कारण क्षेत्र बिस्तार संगै उत्पादन पनि बृद्धि भयो तर भण्डारणका लागि कही कतैबाट पनि पहल नभएको रिब्दीकोट गाउपालिका कुसुमखोलाका खेम बहादुर राना बताउछन् । भण्डारणको व्यवस्था भए गर्मी मौसममा दोब्बर मुल्यका बिक्री गर्न पाइने थियो । जब हाम्रो उत्पादन सकिन्छ भारतीय भण्डारण गरिएको सुन्तला बजार भरि दोब्बरै मुल्यमा बिक्री हुन थाल्छ । भारतीय सुन्तलाको ठाउँमा नेपाली सुन्तलाहरु बिक्री गर्न पाइने थियो यदी हामीसंग शित भण्डार हुन्थ्ये भने । अवको आवश्यकता शित भण्डारण को हो तानसेन नगर बाझाकी कृषक कमला कुवर बताउँछिन् ।
चारै तर्फ जंगल, बिचमा बस्ती भएकाले दिन रात वन्यजन्तुले राज गरेको ठाउमा सुन्तला खेति गरेका तानसेन नगर अधेरीका कृषक बाल कृष्ण नेपाली यदि शित भण्डारमा सुन्तला भण्डारण गर्न पाउने भए आफुले बारी भरी नै सुन्तला लगाउने बताउछन् ।
रिब्दीकोट गाउपालिका देउरालीका कृषक खिमानन्द पोखरेलले यस वर्ष सुन्तला बिक्री गरी ४ लाख रुपैया हात परेको बताउछन् । यो मुल्य व्यापारीको हो । पछिसम्म बोटमा राख्न भएन । टिपेर भण्डारण गर्न व्यवस्थापन नै भएन । स्थानिय सरकारले यस तर्फ ध्यान नै नदिएको उनी बताउछन् । सुन्तला खेतिलाई मुख्य नगदे वालीका रुपमा स्थापित गर्न सकिने छ । सुनतलामा लाग्ने रोग तथा किराको पहिचान गरी निदान गर्न पनि सकिन्छ । बजारिकरणको लागि पनि समस्या छैन । तानसेन नगर पालिकाको समन्वयमा भारतीय राजदुताबासको सहयोगमा निर्माणधिन शितभण्डार तयार नहँुदासम्म ठुलो परिमाणमा भण्डारणका लागि समस्या हुने पाल्पा कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोष चौधरी बताउँछन् ।
प्रमुख चौधरीका अनुसार यस वर्ष १ हजार १ सय ९६ हेक्टर क्षेत्रफलबाट ९ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भयो । गत वर्ष ८ हजार ८ सय ६१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।