© २०२३
नेपाल र बेलायतले जलवायु परिवर्तनका कारण हिमाल काला पहाडमा रूपान्तरित हुँदै गर्दा हिमाल जोगाउन साझा पहल गर्ने प्रतिवद्धता जनाएका छन । राष्ट्रपति रामचन्द्र पौडेल र बेलायतका राजकुमारबीच मंगलवार भएको भेटवार्ताले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बिषयमा ऐक्यवद्धता जनाईएको छ । जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ भने यसको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाल संरक्षणको विषयलाई प्रमुखताका साथ उठाउँदै आएको छ । नेपालले हिमाल संरक्षणकै लागि सगरमाथा संवाद कार्यक्रम सुरु गर्ने तयारी गरिरहेको अवस्थामा आगामी मई १६ देखि १८ तारिखसम्म काठमाडौँमा ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ विषयक बृहद कार्यक्रममार्फत हिउँविनाका हिमाल कसरी जोगाउने भन्ने बिषयमा बृहद छलफल हुँदैछ । त्यसो त नेपालले सन् २०२५ लाई विश्व हिमाल संरक्षण वर्षका रूपमा मनाइँदै छ । चिन्ताको कुरा के छ भने यो बर्ष हिउँदे वर्षा नहुँदा हिमाल काला पहाडमा परिणत हुन थालेका छन् । धेरै हिमाल अहिले हिउँविहीन भएका छन । कुनै कुनै हिउँदमा वर्षा नहुनु मौसमको स्वाभाविक चक्र मानिन्छ तर हिउँदे वर्षा नहुने निरन्तरको प्रवृत्तिले नेपालका हिमाल बिस्तारै काला पहाडमा परिणत हुने चिन्ता बढेको छ । विश्वमा मौसम परिवर्तनले ल्याएको जलवायु परिवर्तनको प्रभाव नेपालका हिमाल कालो भएर देखिने क्रम बढ्दै गएको छ । यो गंभीर चिन्ताको बिषय हो । अन्नपूर्ण हिमशृंखलामा पर्ने माछापुच्छ्रे हिमालको कालो स्वरूप केही दिनयता लगातार सामाजिक सञ्जालमा आइरहेको छ । हिउँदमा हिउँ टम्म भरिएर सूर्यको किरण त्यसमा पर्दा सुनौलो हुने माछापुच्छ्रेको सौन्दर्यमा यस वर्ष पनि कालो पोतिएजस्तो देखिएको छ । मौसममा आएको परिवर्तनका कारण हिमाल कालो बन्दै जानु नेपालको लागि चुनौति हो । हिमाल हिउँले बन्छ । हिउँको दिगो संरचनाको आधार भनेको हिमनदी हो । जलवायु परिवर्तन र कार्बन उत्सर्जनको प्रभावले हिमालका नदीको अवस्था जटिल बन्दैछ । बढ्दो विश्वव्यापी तापक्रमले हिउँ पग्लने क्रम बढेको छ । हिमनदीहरू अब विस्तारै सफा पानीको नदीमा रूपान्तरण हुँदा हिमालको हिउँ र हिमाल जोखिममा पर्दै गएको अवस्था छ । अर्को चिन्ताको बिषय के छ भने हिउँद सकिन करिब एक महिना मात्र बाँकी रहँदा तापक्रम बढ्न थालेको छ । सरकारले हिमाल संरक्षणका लागि यसै वर्ष सगरमाथा संवादको घोषणा गरेर विश्वव्यापी अभियान थाल्दै गर्दा देखिएका काला हिमालले चुनौती बढाएको मान्न सकिन्छ । अवको दिनमा अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार बनाएर हिमाल संरक्षण गर्ने अभियान नै सुरु गर्नुपर्ने खाँचो छ ।
समयमा पानी नपर्दा चिसो बढ्न नसकेपछि हिउँले ढाकिएका हिमालको रूपमै परिवर्तन आउनु चिन्ताको कुरा हो । त्यसो त तापमानमा बृद्धि विश्वव्यापी समस्या हो । पछिल्ला तथ्याँकहरूका अनुसार वैज्ञानिक अध्ययनले हिमालय क्षेत्रबाट हिउँ तीव्ररूपमा पग्लिरहेको देखाएको छ । गत बर्षमात्र सार्वजनिक गरिएको एक अध्ययनले संसारको सबैभन्दा अग्लो स्थानमा रहेको हिमनदी तीव्रगतिमा पग्लिरहेको देखाएको छ । सो अध्ययन अनुसार सगरमाथाको सबैभन्दा अग्लो भागमा रहेको साउथ कोल ग्लेसियरको मोटाइ गएको २५ वर्षमा १८० फिट अर्थात ५४ मिटरले घटेको छ । हिमनदीमा रहेको हिउँको थुप्रोमा भएको क्षयीकरणका कारण त्यसभित्र रहेको कालो हिउँमा सूर्यको किरण पुग्दा यसको पग्लने क्रममा तीव्रता आएको अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले जनाएका छन । निश्चितरूपमा विश्व तापमान बृद्धिको असर नेपालको हिमाली क्षेत्रमा पर्न थालेको छ र यो बर्ष जाडो याममा पनि हिमाल हिउँबिनाका भएका छन । हिउँ नपर्दा हिमालको स्वरूप नै बिग्रिएको छ । यसले नेपालको पर्यटन क्षेत्रमा समेत असर पर्ने देखिएको छ । तसर्थ नेपालले पछिल्लोपटक सगरमाथा संवादमार्फत हिमाल संरक्षणको जुन अभियान सुरु गर्दैछ, त्यो सराहनीय छ । नेपाल र बेलायतबीच हिमाल जोगाउने बिषयमा भएको बार्ताले प्रतिवद्धतामात्रै होइन, हिमाल जोगाउने आधार तयार गरोस् ।