Butwal Today

दुधराक्ष कप राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता हुँदै

२४ माघ २०८१, बिहीबार
अ+
अ-

बुटवल, २४ माघ ।

रुपन्देहीको सैनामैना नगरपालिका ६ कलौनीमा शुक्रबारदेखि दुधराक्ष कप राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ ।

दुधराक्ष युवा क्लवको आयोजनामा हुने प्रतियोगिता फागुन ३ गतेसम्म चल्ने र प्रतियोगिताको तयारीको काम सम्पन्न भैसकेको छ ।

दुधराक्ष युवा क्लवका अध्यक्ष किरण पोखरेलले प्रतियोगितामा त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, नेपाल एपिएफ क्लव,गण्डकी प्रदेश भलिबल संघ, कोशी प्रदेश भलिवल संघ, गल्कोट भलिवल क्लव र मणिमुकुन्द भलिवल क्लव बुटवलको सहभागिता हुने बताए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई पाँच लाख ५५ हजार पाँच सय ५५, दोश्रो हुने टिमलाई तीन लाख ३३ हजार तीन सय ३३, तेश्रो हुने टिमलाई एक लाख ११ हजार एक सय ११ र सान्त्वना हुने टिमलाई ५५ हजार पाँच सय ५५ रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताका खेल संयोजक राजकुमार चौधरीले सैनामैनाको कलौनीमा हुने भलिवल प्रतियोगिताले देशकै ध्यान तान्न सफल भएको बताउँदै तयारीका क्रममा अहिलेसम्म देश तथा विदेश र खेलप्रेमीहरुबाट प्राप्त सहयोगले आफूहरुमा उत्साह थपिएको बताए ।

प्रतियोगिता सञ्चालन गर्न ४५ लाख खर्च लाग्ने अनुमान क्लवले गरेको छ । प्रतियोगिताको ट्रफी विहीवार आयोजित पत्रकार सम्मेलनका अवसरमा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा र उपप्रमुख विना रानाले अनाबरण गरे ।

शुक्रवार प्रतियोगिताको उदघाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।