© २०२३
भैरहवा ।
निर्माण व्यवसायीहरूको छाता संगठन लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीको १८ औं साधारणसभा यही माघ २६ गते शनिबार हुने भएको छ । बुधबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमार्फत संघले साधारणसभाबारे जानकारी गराएको हो ।
संघकी अध्यक्ष मञ्जु भुसालका अनुसार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सभाको उद्घाटन गर्नेछन् । कार्यक्रममा जिल्लाका अन्य विशिष्ट व्यक्तिहरूसँगै निर्माणसँग सम्बन्धित कार्यलयका प्रतिनिधि र व्यवसायी महासंघबाट पनि प्रतिनिधित्व रहनेछ ।
संघ स्थापनाको २८ बर्षको इतिहासमा ऐतिहासिक साधारण सभा गर्न लागेको अध्यक्ष भुसालले बताइन् । साधारण सभाको अवसर पारेर संघको गतिविधि समेटिएको “लुम्बिनी निर्माण स्मारिका” नामक पुस्तक प्रकाशन गरी सोही दिन विमोचन गरिने भुसालले बताइन् ।
संघको दस्ताबेजका लागि पुस्तक प्रकाशन गर्न लागेको उनले बताइन् । संघले संस्थापक अध्यक्ष स्व. चेतमान श्रेष्ठको स्मरणमा उनको परिवारलाई सम्मान गर्ने र संघका संस्थापक कार्यसमिति र पूर्व अध्यक्षहरूलाई पनि सम्मान गर्ने कार्यक्रम पनि तय गरिएको भुसालले बताइन् । उनले साधारणसभामा नियमित निर्णयहरूका साथै हाल निर्माण क्षेत्रमा देखिएका समस्याहरू विशेषगरी निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धि, निर्माण व्यवसायीहरूको वक्यौता भुक्तानीलगायत विषयमा पनि पत्रकारको कलमद्वारा सहयोग गर्न अनुरोध गरिन् ।
अध्यक्ष भुसालले लुम्बिनी निर्माण व्यवसायी संघ यस क्षेत्रमा क्रियाशील निर्माण व्यवसायीहरूको प्रमुख संगठन भएको दाबी गरिन् ।
उनले व्यावसायिक गतिविधिसँगै संघले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरू गर्दै आएको र हाल संघले शवबाहन सञ्चालन, विपद् व्यवस्थापन सहयोग, सार्वजनिक संरचनाहरूको निर्माण तथा संरक्षणजस्ता विविध सामाजिक क्रियाकलापहरूमा सक्रिय भूमिका खेल्दै आएको बताइन् । निर्माण व्यवसायीहरुको जिल्लागत संगठनका हिसावले रुपन्देही ठूलो संगठन हो । जसको मुख्य कार्यालय भैरहवामा र शाखा कार्यालय बुटवलमा रहेको छ । हाल संघमा ५०० भन्दा बढी निर्माण व्यवसायीहरू आबद्ध रहेको भुसालले बताइन् ।
लुम्बिनी निर्माण व्यवसायी संघको १८ औं साधारणसभा रुपन्देहीको मणिग्रामस्थित विश्राम वाटिकामा बिहान ८ बजेबाट सुरू हुनेछ । पत्रकार सम्मेलनमा संघका महासचिव प्रितम रौनियारले पनि साधारण सभाको तयारीबारे जानकारी गराएका थिए।